free website hit counter

यस्तो थियो रञ्जनको अन्तिम तयारी

beemaadmin
२०७७ श्रावण २८, बुधबार

काठमाडौं । अघिल्लो बिहीबार दिउँसो ठीक १२ बजे भर्खरै जेलबाट छुटेका पूर्वडिआइजी रञ्जन कोइरालाका पुत्रद्वय २३ वर्षका आयुष र १९ वर्षका आर्यन सर्वोच्चको गेटमा देखिए । गेटमा बसेका सुरक्षाकर्मीले एकछिन अदालत आउनाको प्रयोजन सोधे । एकैछिन अक्मकिएको भावमा आयुष र आर्यनले बुबाका लागि निवेदन दिन आएको बताए । अनि प्रहरीले कोरोना भएरनभएको खुट्याउन थर्मल गनले दुवै जनाको ज्वरो नापे । त्यसपछि उनीहरू सरासर भुइँतलाको मूलढोकाछेउ निवेदन प्रतिवेदन शाखातिर सोझिए ।

त्यहाँ फाँटवालासँग एकछिन बातचित गरेपछि छेवैमा सहरजिष्ट्रार नेत्र आचार्यको कक्षतिर लागे । निवेदनका विषयमा आचार्यले मुख्य रजिष्ट्रार नृपध्वज निरौलासँग फोनमा कुराकानी गरे । स्रोतका अनुसार मुख्य रजिष्ट्रारले निवेदनको विषयबारे प्रधानन्यायाधीश राणासमक्ष जाहेर गरे । राणाको प्रतिक्रिया बुझेपछि अन्ततः दर्ता गर्न नमिल्ने ठहर भयो । आयुष र आर्यन यतिञ्जेल सहरजिष्ट्रार आचार्यकै कक्षमा व्यग्र प्रतिक्षामा थिए ।

अन्ततः दर्ता न, दरपीठको अवस्थामा निवेदन उनैलाई फिर्ता गरियो । त्यसपछि दुई दाजुभाइ निवेदन झोलामा हालेर चुपचाप बाहिरिए ।
पत्नी हत्याको अभियोगमा साढे आठ वर्ष जेल बसेर हालै रिहा भएका पूर्व सशस्त्र डिआइजी रञ्जनलाई मुद्दाबाट पूरै सफाइ दिनुपर्ने मागसहित निवेदन दिन यी दाजुभाइ सर्वोच्च पुगेका हुन् । आफ्ना बाबु रञ्जन ‘निर्दोष’ रहेको दाबीसहित दुई छोराले प्रधानन्यायाधीशलाई संबोधन गरी निवेदन तयार पारेका थिए । जिल्ला अदालत काठमाडौंले पत्नी हत्याको अभियोगमा दोषी करार गर्दै रञ्जनलाई सर्वश्वसहित जन्मकैदको सजायँ तोकेको थियो ।

तर रञ्जनका पुत्रद्वयले दिएको निवेदन दर्ता गर्न कानुनी बाटो समाप्त भइसकेको भन्दै जस्ताको तस्तै फिर्ता गरिएको हो । कैद सजायँ घटाउने गरी भएको फैसलामा न्यायाधीशत्रय बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले पुनरावलोकनका लागि अनुमति दिइसकेको हुँदा सफाइका लागि निवेदन दर्ता गर्न नमिल्ने जवाफ दिएर फर्काइएको बताइन्छ ।

यो निवेदन अपराधबाट फुर्सद पाउन रञ्जनले प्रयोग गरेको अन्तिम हतियार हो । सफाइको निवेदन फिर्ता भएपछि अब उनका लागि अदालतको ढोकामा ताला लागेको छ । महान्यायाधिवक्ता कार्यालयले दिएको पुनरावलोकन निवेदनमा सुनुवाइका लागि अनुमति पाएसँगै रञ्जनविरुद्ध दर्ता भएको कर्तव्य ज्यान मुद्दा शून्यबाट फेरि सुनुवाइ गर्न बाटो खुला भएको छ । (जनआस्थाबाट)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार