free website hit counter

यस्तो हुनुपर्छ संसदमा काँग्रेसको भूमिका

beemaadmin
२०७६ पुष ५, शनिबार

संसदको हिउँदे अधिवेशन शुक्रबारबाट शुरु भएको छ । अन्य समयमा भन्दा यो अधिवेशनको कार्यसूचि एक अर्थमा महत्वपूर्ण पनि छ । किनभने यो अधिवेशनले सभामुखको पनि चयन गर्दैछ । सभामुखको चयनपछि संसदले आफ्नो गति लिनेछ । यो अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले महत्वपूर्ण भूमिका निभाउनुपर्ने दायित्व थपिएको छ । किनकि नेपालभारत सीमा विवाद, राष्ट्रिय सम्पत्तिको दुरुपयोग, राष्ट्रघाती र जनताविरोधी विधेयकहरुलाई संसदबाट रोक्ने र सरकारले ल्याएका ती विधेयकहरुलाई जनताको पक्षमा परिमार्जन गर्दै जारी गर्नका लागि सशक्त भूमिका खेल्नुपर्ने दायित्व काँग्रेसको छ ।

दुई तिहाईको दम्भबाट ग्रसित नेकपा नेतृत्वको सरकारले जनविरोधी गतिविधि गरिरहँदा पनि प्रतिपक्षी दल रमिते बनेको आरोपबाट मुक्त हुनका लागि पनि कांग्रेसले संसदीय सर्वोच्चलाई कायम गर्दै जनताका भावनालाई प्रतिनिधित्व गर्न सक्नुपर्दछ । त्यो प्रतिनिधित्व संसदमा खेलिने भूमिकाले मात्रै प्रतिविम्वित गर्द गर्दछ । नेपाली काँग्रेसले सत्तापक्षको राम्रा कामलाई साथ, सहयोग र समर्थन जनाउँदै आइरहेको कुरामा दुईमत छैन । तर यही भूमिकालाई कमजोरीको रुपमा लिँदै ओली नेतृत्वको सरकारले जनता र मुलुक विरोधी काम गरिरहेको छ ।

बजेट अधिवेशनको अन्त्य लगत्तै सरकारले संसदलाई छलेर मनमौजी तरिकाले काम काज गर्दै आएको छ । यही मौकामा संवैधानिक परिषद्को सदस्य प्रमुख प्रतिपक्षी दलको नेता हुने परम्परालाई बदल्नका लागि अध्यादेश ल्याउन पनि खोजियो । तर यसको चौतर्फी विरोध भएपछि मन्त्रिपरिषद्बाट पारित भएको उक्त अध्यादेश राष्ट्रपतिबाट जारी हुन पाएन । संवैधानिक परिषद्लाई एकलौटी बनाउँदै अधिनायकवादको बाटोमा अगाडि बड्ने चेष्टा गरेको ओली नेतृत्वको सरकार सबै संवैधानिक नियुक्तिमा नेकपा कार्यकर्ताहरुलाई भर्ति गर्ने चाँजोपाँजो मिलाउन अध्यादेशको नौटंकी रचिएको थियो । अहिले संसद शुरु भएको छ । उक्त अध्यादेशमा भएका प्रतिपक्षविहीन प्रावधानलाई समेटेर पुनः नयाँ संवैधानिक परिषद् ऐन संसदमा ल्याइएला । यसको चनाखोपूर्ण रुपमा काँग्रेसले खबरदारी गर्न जरुरी छ ।

त्यस्तै मिडिया काउन्सिल विधेयक, मानवअधिकार सम्बन्धी विधेयक, सेना परिचालनसम्बन्धी विधेयक, दर्ता भएर पनि चौतर्फी विरोधपछि फिर्ता लिइएको भनिएको गुठी विधेयकलगायत केही विधेयकहरु विगतको संसदमा व्यापक विवाद र विरोधपछि स्थगन भएका थिए । ती विधेयकहरु यही संसदबाट जस्ताको तस्तै पारित गर्ने यो सरकारको चालबाजी देखिन्छ । काँग्रेस लगायत विभिन्न राजनीतिक दल र नागरिक समाज समेत यस्तो गम्भीर विषयमा चनाखो बन्न जरुरी छ । आफ्ना हरेक गतिविधिमा अधिनायकवादतर्फको यात्रालाई कायम राख्दै आएको सरकारका निर्णयहरुको विपक्षमा काँग्रेसले सशक्त भूमिका खेल्दै नेतृत्व लिन सकेन भने मुलुक फेरि अर्को अधिनायकवादको शिकार नहोला भन्न सकिन्न । संघीयता कार्यान्वयन गर्नैका लागि जननिर्वाचित सरकारले प्रदेश प्रमुखहरुको नियुक्ति गरेको थियो ।

अघिल्लो सरकारले गरेको उक्त निर्णय राजनीतिक पूर्वाग्रहका आधारमा भूमिगत शैलीमा उल्ट्याएरको ओली नेतृत्वको सरकारले प्रदेश प्रमुखजस्तो प्रदेशको स्वतन्त्र र निष्पक्ष रहनुपर्ने अभिभावकजस्तो पदमा आफ्नै पार्टीभित्रको चौतर्फी विरोधका बाबजुत गुटगत आधारमा नियुक्ति दिएर प्रदेशलाई अस्थिर बनाउने काम गरेको छ । यो मुद्दालाई पनि काँग्रेसले उठाउन आवश्यक छ । विधिको शासन र पद्दतिबमोजिम सरकार हिँड्नुपर्छ भन्ने पक्षमा रहेको काँग्रेसले सरकारलाई सही बाटोमा हिँडाउनका लागि पनि यस्ता जनविरोधी र राजनीतिक पूर्वाग्रहका गरिएका निर्णय सैह्य हुँदैन भन्ने सबक सरकारलाई सिकाउन जरुरी छ ।

उपनिर्वाचनलाई प्रभावित पार्न र जनताको सरकार विरुद्धको आक्रोशलाई विषयान्तर गर्नका लागि केही थान मन्त्रि परिवर्तन गरेका प्रधानमन्त्री ओलीले सचिवालय परिवर्तन गरेर पनि जनतालाई अर्को भ्रम छर्न सफल भए । केही ठाउँमा पात्र परिवर्तन गरिए तर प्रवृत्ति परिवर्तन भएन । ती पात्रहरुका बारेमा आफ्नै पार्टीबाट चर्को विरोध भयो । मन्त्रिमण्डल र सचिवालय फेरबदेलको प्रतिफल जनताले कहिले पाउँछन् ?

हरेक राजनीतिक नियुक्ति र कर्मचारीको सरुवा बढुवामा राजनीतिक स्वार्थ र भागवण्डा खोज्ने प्रवृत्ति वर्तमान सरकारमा बढ्दै गएको छ । यो अराजकताको शिकार नेकपा इतर कर्मचारीहरु बन्न पुगेका छन् । दुई तिहाई भएपछि विधिको शासनलाई मान्न पर्दैन भन्ने धङधङीमा रहेको यो सरकारलाई सही हिँडाउनका लागि पनि काँग्रेसले संसदमा सशक्त भूमिका खेल्नुपर्छ । इतिहासदेखिनै अभिभावको भूमिका निर्वाह गर्दै आएको काँग्रेस अहिले प्रतिपक्षमा भए पनि उसले अभिभावकत्व छाड्न हुँदैन । मुलुक असफल हुँदा कम्युनिष्टहरु मात्रै असफल हुने होइनन् काँग्रेस पनि त्यतिबेला असफल हुन्छ । यस कुराबाट काँग्रेस अलग हुन सक्दैन । संवैधानिक, राजनीतिक, मुद्दाका अलावा जनजीविकाका सवालमा काँग्रेसले संसदमा आफ्नो खरो र जिम्मेवार प्रस्तुति देखाउन सकेन भने सत्तापक्षको मैमत्ता प्रवृत्तिले अझ उग्र रुप लिन सक्छ ।

(लेखक : नेपाली काँग्रेसका युवा नेता एवं  प्रतिनिधिसभा झापा ५ का उम्मेदवार हुनुहुन्छ)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार