free website hit counter

यही क्रममा अघि बढे राजधानीले कसरी थेग्ला संक्रमित ?

beemaadmin
२०७८ बैशाख १९, आईतवार

काठमाडौं । मुलुकको संघीय राजधानी काठमाडौं कोरोना संक्रमणको हटस्पट बन्दै गएको छ । पछिल्ला दिनमा देशभरका संक्रमितको आधा भन्दा बढी संक्रमण राजधानीमै भेटिन थालेको छ । सरकारको तयारी अझै पुगेको छैन । लकडाउन गरेर सत्ताको खेलमा रमाएको सरकारले भोलिका दिनमा हुने त्यो भयाबह अवस्थाको सामना कसरी गर्ने भन्ने खाका पनि बनाउन सकेको छैन । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड संक्रमित फेला परेका छन् । एकै दिनमा काठमाडौँ उपत्यकामा ३५ सय ९५ संक्रमित फेला परेका हुन् । यसमध्ये काठमाडौँ जिल्लामा मात्र २७ सय ४४ जना रहेका छन् भने ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा नेपालभर थप ७२११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो ।
यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५७६३ संक्रमित फेला परेका थिए । एकै दिनमा यो रेकर्ड तोडिएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । यही अवधिमा थप १ हजार ६१२ जना निको पनि भएका छन् । नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना संक्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार