काठमाडाैं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चैत २६ गतेदेखि खुला गरेको हकप्रद शेयरमा आवेदन दिने समय अब बैशाख ३१ गतेसम्म बढाइएको छ। कम्पनीले हाल कायम शेयरधनीहरूका लागि १० प्रतिशत हकप्रद शेयर जारी गरेको हो।
यस अन्तर्गत, हालको १०० कित्ता शेयर बराबर १० कित्ता अनुपातमा हकप्रद शेयर वितरण गरिँदैछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल २३ लाख १० हजार कित्ता शेयर (२३ करोड १० लाख रुपैयाँ बराबर) निष्काशन गरेको छ।
हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले फागुन १७ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार फागुन १४ गतेसम्म नेप्सेमा शेयर खरिद गरी कायम रहेका शेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्।
इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता मध्यम स्तरमा सुरक्षित रहेको देखाउँछ।
यस शेयर निष्काशनको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले उक्त क्यापिटलसँगै लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा, आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तथा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सी-आस्वा प्रयोग गरेर आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर बाँडफाँटपछि यो पूँजी बढेर २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ।