काठमाडौं । सबै स्वास्थ्य संस्थालाई केही मात्रामा कोभिड १९ का विरामी हेर्ने सिट छुट्याउन आग्रह गर्दा भाइरल रोगमा विशेषज्ञता हासिल गरेका चिकित्सकहरुले त्यसले झनै संक्रमण फैलिने बताएका थिए । तर सबै कुराको ज्ञाता बनेको सरकारले विज्ञको विमतीका बीचमा पनि सबै अस्पताललाई कोभिड अस्पताल घोषणा गरेको छ ।
केही निश्चित अस्पताललाई पूर्ण रुपमा कोरोना अस्पताल बनाउनु पर्ने विज्ञको राय सल्लाहका विपरित सरकारले कोरोना संक्रमणको तीब्रतासँगै र मृत्युदर पनि बढेपछि सरकारले मुलुकभरका सबै अस्पताललाई कोभिड अस्पताल भएको घोषणा गरेको हो। कोरोना उपचारका लागि कार्यान्वयनमा रहेको तीन तहको कोभिड अस्पतालको संरचनात्मक व्यवस्था पनि खारेज गरिएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहित कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले खारेज गर्ने निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, यसअघि वर्गिकरण गरिएका लेभल वान, टू र थ्री लगायत सबै अस्पताललाई कोभिड अस्पतालमा परिवर्तन गरिएको छ। नियमित सेवा प्रवाह भइरहेका सबै किसिमका अस्पतालले कोरोना संक्रमित बिरामीलाई सेवा पनि दिनुपर्ने निर्णय गरिएको छ।
यस निर्णयसँगै मुलुकभरका सबैखाले अस्पतालले कोरोना संक्रमितको उपचार गर्नेछन्। तर यो निर्णयले भोलि अरु जटिल केशका उपचार गराइरहेका विरामीलाई संक्रमण नफैलिएला भन्न सकिन्न । सबै अस्पतालमा कोरोनाको विरामी भर्ना हुन थालेपछि कमजोर स्वास्थ्य अवस्था भएका विरामी कुन अस्पतालमा गएर उपचार गर्ने ? भन्ने समस्या पनि आउन सक्छ । यसतर्फ सरकारले ध्यान दिनु जरुरी छ । यो निर्णयप्रति स्वास्थ्यकर्मीहरु पनि त्यति सन्तुष्ट छैनन् । बरु सरकारले केही निश्चित अस्पताल तोकेर सतप्रतिशत कोरोनाको उपचार गर्ने व्यवस्था मिलाएको भए संक्रमण नियन्त्रण हुने विज्ञ चिकित्सकहरु बताउँछन् ।