काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा झन्डै दुईतिहाइ बहुमत हासिल गर्न सफल भएकामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई अमेरिकाले बधाई दिएको छ। साथै उसले नेपालमा अब बन्ने नयाँ सरकारसँग सहकार्य गर्न आफू तत्पर रहेको पनि उल्लेख गरेको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले मंगलबार रास्वपा सभापति रवि लामिछानेलाई फोन गरेर बधाई दिएका हुन्। त्यस क्रममा उनले भने, अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक साझेदारी सुदृढीकरण गर्न र दुई देशबिचको मित्रतालाई अझ प्रगाढ बनाउन उत्सुक छ। यसअघि चीन, भारत, पाकिस्तानलगायत देशले पनि रास्वपालाई बधाई दिइसकेका छन्। गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा १८२ सिट जितेको रास्वपाले केही दिनमा एकल सरकार गठन गर्दै छ। चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा सरकार गठनका लागि रास्वपाले गृहकार्य गरिरहेको छ। नेपालको संविधान २०७२ जारी भएयता पहिलोपटक एउटै दलले बहुमत प्राप्त गरी सरकार गठन गर्न लागेको हो।