free website hit counter

रवि र बालेनबीचको ६ घण्टा वार्तामा के भयो ?

beemaadmin
२०८२ पुष ८, मंगलवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहबीच मध्यरातमा भएको भेटवार्ता सकारात्मक रहेको नेताहरुले बताएका छन् । सोमबार राति काठमाडौँमा रहेको असिम साहको म्युजिक कम्पनी जी–२१ को कार्यालयमा रवि र बालेनबीच भेटवार्ता भएको हो। भेटपछि दुवै नेता एउटै गाडीमा सँगै बाहिरिएका थिए । भेटमा सहभागी असिम साहका अनुसार छलफल सौहार्दपूर्ण वातावरणमा भएको छ । भेटवार्तामा भएका ठोस विषय सार्वजनिक नगरिए पनि मिलेर अघि बढ्नुपर्ने आवश्यकता र राजनीतिक सहकार्यका विषयमा सकारात्मक संवाद भएको नेताहरूको भनाइ छ। भेटलाई पछिल्लो समय देखिएको राजनीतिक दूरी घटाउने प्रयासका रूपमा पनि हेरिएको छ। भेटको समन्वय गरेका रास्वपा नेता असिम साहले फेसबुकमा लेखेका छन्, अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपाली लाई बधाई ।

सञ्चारकर्मीको जिज्ञासामा असिमले भनेका छन्, देशलाई आवश्यकता परेका मान्छेहरू एक ठाउँमा आएर अगाडि बढ्ने नै कुरा हो। त्यसैको एउटा शृंखला हो आज। र, एकदमै सुखद अन्त्य भएको छ आजको दिनको। अब आउने दिनहरूमा अझ सुखद कुराहरू नै हुन्छन्। उहाँहरूबीच एकदमै आत्मीयतापूर्वक भेटघाट भएको छ, यसलाई निरन्तरता दिने र मिलेरै अघि बढ्ने भन्ने नै कुरा हो। रवि र बालेन एक ठाउँमा आउनुपर्छ भनेर देशको माग नै हो, यो त्यसैको सुखद सुरुवात हो। उनले रवि र बालेनबीचको भेटवार्तामा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको भन्ने हल्लाचाहिँ अस्वीकार गरे। त्यस्तो कुरा खासै केही पनि भएको होइन, सौहार्दपूर्ण रूपमा राम्रो इन्भाएरमेन्टमा देश बनाउनुपर्छ, मिलेर जानुपर्छ भन्ने कुरा भएको हो। र, सन्देश के हो भने दुईजना मिलेर जाने हो। अब अगाडि बढ्ने हो, देशलाई प्राथमिकतामा राख्ने हो, रवि बालेन मिलेर अब देश बनाउनुपर्छ भन्ने हो, उनले भने।

सम्बन्धित समाचार