एसियामा नेपाल र भुटानबाहेकका अन्य राष्ट्रमा टेलिभिजन विस्तार भइसकेको थियो । त्यसै बेला राजा वीरेन्द्रबाट राष्ट्रिय पञ्चायतको अधिवेशनलाई सम्बोधन गर्ने क्रममा नेपालमा टेलिभिजनको सम्भाव्यता अध्ययन गर्न निर्देशन दिइयो । त्यसपछि नेपालमा टेलिभिजन स्थापनाबारे चर्चा–परिचर्चा सुरु भयो । यसका निम्ति आवश्यक अध्ययन पनि सुरु गर्न थालियो । नेपालमा टेलिभिजन स्थापना गर्नेबारे विभिन्न प्रकारका छलफल र बहस भइरहेका थिए ।
यसैबीच फ्रान्सको सोफ्राटोभ कम्पनीले नेपालमा टेलिभिजन च्यानल स्थापना गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गरी सरकारलाई आफ्नो सुझावसहितको प्रतिवेदन दियो । तर, त्यो सुझाव सिंहदरबारको दराजमै थन्कियो । त्यसपछि जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले पनि नेपालमा टेलिभिजन प्रसारणको सम्भाव्यता अध्ययन गर्यो । निकै ठूलै प्रतिवेदन बुझायो । यो प्रतिवेदन पनि कार्यान्वयन भएन । जापानीहरू नेपालमा शैक्षिक टेलिभिजन स्थापना गराउन चाहन्थे ।
मनोरञ्जनप्रधान टेलिभिजन प्रसारण नेपाललाई उपयोगी नहुने उनीहरूको धारणा थियो ।
राजा वीरेन्द्र टेलिभिजनका सौखिन थिए । उनलाई विदेश जाँदा टेलिभिजन देखेपछि नेपालमा पनि टेलिभिजन स्थापना गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो । उनकै सहयोग र रहरबाट नेपालमा टेलिभिजन स्थापना सम्भव भएको हो भन्दा फरक पर्दैन ।
वि. सं. ०४१ माघ १७ गते सरकारले नेपाल टेलिभिजन परियोजना स्थापना गर्यो । परियोजना प्रमुखमा नीर शाहलाई नियुक्त गरियो । सुरुआतका दिनमा नीर शाह र मन्त्रालयकै कर्मचारी केदार भट्टराई मात्र परियोजनाका कर्मचारी थिए ।
नीर शाह नेपाल टेलिभिजन आउनुअघि तत्कालीन शाही नेपाल चलचित्र संस्थानमा नायब महाप्रबन्धक थिए । तपानाथ शुक्ला त्यही चलचित्रको ध्वनिसम्बन्धी काम गर्थे । शाह र शुक्लाको त्यस बेला राम्रो मित्रता थियो । शाह नेपाल टेलिभिजन आएपछि शुक्लालाई पनि साथै लिएर आएका हुन् । त्यसैताका मैले गोरखपत्रमा चलचित्रसम्बन्धी एउटा अन्तर्वार्ता लिएको थिएँ । यसै समयदेखि शाहजीसँग मेरो भेटघाट भयो ।
नेपालमा टेलिभिजन नहुँदा राजारानीको विदेश भ्रमणबारे चलचित्र संस्थानले न्युज रिल बनाउँथ्यो । न्युज रिल भन्नाले राजारानीका गतिविधि समेटिएको सेलोलाइड सामग्री हो । यो सामग्री त्यसताका सिनेमा हलहरूमा देखाइन्थ्यो । त्यो बेला म रेडियो नेपालमा भएकाले स्वर मन पराएर र स्क्रिप्ट लेख्न सक्ने क्षमता देखेर उनीहरूले मलाई न्यारेसन गर्न बोलाउँथे । यो अवस्थामा पनि मेरो नीर शाहसँग भेट हुन्थ्यो । उनले मेरो क्षमता त्यसै समयदेखि थाहा पाएकाले रेडियो नेपालमा म रहँदादेखि नै नेपाल टेलिभिजनको स्थापनाको सुरुकै समयदेखि मलाई निर्देशकमा लिएका थिए । पछि मैले लोकसेवाको नियमअनुसार आन्तरिक परीक्षा र अन्तर्वार्ता उत्तीर्ण गरी स्थायी नियुक्ति पाएँ । मेरो नियुक्ति समाचार निर्देशक र तपानाथ शुक्लाको कार्यक्रम प्रमुखमा नियुक्ति भयो । यसपछि हाम्रा बीचको सम्बन्ध घनिष्ठ बन्दै गयो । विशेष गरी अस्टे«लियाबाट नेपालमा टेलिभिजनको पहिलो प्रसारणदेखि सम्बन्ध निरन्तर भयो ।
नीर शाहले तत्काल लाजिम्पाटमा सरदार भीमबहादुर पाण्डेको घर भाडामा लिएर आफ्नो योजना बनाउन थाले । केही प्रशासनिक कर्मचारी पनि भर्ना गरे । तर, टेलिभिजन कार्यक्रम सञ्चालन, कार्यक्रम उत्पादनसम्बन्धी आवश्वक ज्ञान कसैमा थिएन । यसका निम्ति नीर शाहले १६–१७ जना युवाहरू छनोट गरे । यिनीहरूलाई तालिम दिलाउन उनले डब्लुआइएफ (वल्र्ड भ्यु इन्टरनेसनल फाउन्डेसन) नामको संस्थामा सम्पर्क गरे । यो संस्थाको अध्यक्ष भारतदत्त कोइराला भएकाले हामीलाई काम गर्न सजिलो भयो र महत्वपूर्ण सहयोग पनि प्राप्त भयो ।
यही संस्थामार्फत फिनल्यान्डका एक जोडी अर्थात् लोग्नेस्वास्नी लिना भिटोनिन र एर्की भिटोनिनलाई प्रशिक्षक बनाएर तालिम आयोजना गरे । यी जोडीसँगै शाहजी, म र रवीन्द्रशमसेर राणा मिलेर एकमहिने तालिम सञ्चालन ग¥यौ“ । तालिमपछि एउटा सानो जनशक्ति तयार भयो, टेलिभिजन कार्यक्रम उत्पादन र प्रसारणका निम्ति । टेलिभिजन भनेको के हो ? समाचार र कार्यक्रम कसरी उत्पादन हुन्छ ? क्यामेरा के हो ? यसले कसरी काम गर्छ ? सम्पादनका विभिन्न प्रविधि के–के हुन् ? ध्वनि के हो ? यसका साथै टेलिभिजनमा प्रकाश र ध्वनिको महत्व, टेलिभिजन समाचार लेखन विधि, सम्पादन, समाचार वाचन, अन्तर्वार्ता लिने तरिका जस्ता विविध विषयमा जानकारी गराइयो, त्यो तालिममार्फत । योभन्दा धेरैअघि एकपल्ट सञ्चार मन्त्रालयले १६ जनाको एउटा टोली नेदरल्यान्डमा टेलिभिजनको आधारभूत तालिमका लागि पठाएको थियो । जुन बेला नेपालमा टेलिभिजन आएकै थिएन ।
डा. प्रकाशचन्द्र लोहनी सूचना तथा सञ्चारमन्त्री थिए । लक्ष्मण लोहनी सञ्चारमन्त्रीका सल्लाहकार । यिनकै आग्रहमा म गोरखापत्रबाट सञ्चार मन्त्रालयमा केही समय काजमा गएको थिएँ । मेरो काम हुन्थ्यो, सञ्चारका क्षेत्रमा भएका प्रगतिबारे लेखहरू तयार गर्ने र विभिन्न पत्रपत्रिकामा प्रकाशन गराउने । नगेन्द्र शर्मा, सूचना विभागको महानिर्देशक थिए । उनीहरूको प्रयासले नेदरल्यान्डको हिल्भरसमस्थित आरएनटिसी (रेडियो नेदरल्यान्ड ट्रेनिङ सेन्टर) मा १६ जना नेपाली मिडियाका व्यक्तिलाई पाँचहप्ते तालिमको विशेष अवसर प्राप्त भएको थियो ।
गोरखापत्रका साथै मैले रेडियो नेपालमा पनि काम गर्ने भएकाले रेडियो नेपालबाट म छानिएँ । साथै कृष्णा ताम्राकार, भारती सिलवाल र पुरुषोत्तम सापकोटा पनि रेडियोबाटै परे । रत्न रेकर्डिङ संस्थानबाट पूर्णबहादुर शाक्य र मन्त्रालयबाट केदार भट्टराई परे । यसै गरी विना लामासहित अरु साथीहरू पनि थिए । जीवनलाल सत्याल सञ्चारसचिव थिए । हि“ड््ने बेलामा सचिवले विमानस्थलमा सबैलाई निर्देशन दिने क्रममा ‘दुर्गानाथजीको नेतृत्वमा हामी तपाईंंहरूलाई तालिमका लागि नेदरल्यान्ड पठाउँदै छौं । तपाईंंहरूले देशको नाम राखेर तालिम लिएर फर्कनुहोला । अब नेपालमा पनि टेलिभिजन सुरु गर्नुपर्छ । विदेशमा देशका बारेमा केही बोल्नुपर्यो भने दुर्गाजीले बोल्नुहुन्छ । तपाईंंहरूलाई केही अप्ठ्यारो पर्यो भने उहाँलाई नै भन्नुहोला’ भनेका थिए । टोलीमा सञ्चारक्षेत्रमा काम गर्ने रेडियोका हामी ताम्राकार, म, भारती र सापकोटा मात्रै थियौ“ । दुई जना प्राविधिक थिए । लामा भिडियो सम्पादक थिइन् । अर्का एक जना क्यामेराम्यान ।
हामीलाई ‘हिल्भरसम’ भन्ने सुन्दर जङ्गलको बीचमा रहेको ‘होस्टलमा’ राखिएको थियो ।
त्यो अत्यन्तै राम्रो तालिम केन्द्र थियो । यो तालिम केन्द्रले खास गरी एसिया, अफ्रिका, ल्याटिन अमेरिकालगायत अन्य विकासोन्मुख देशका हामी जस्ता सञ्चारकर्मीलाई तालिम दिने गर्दो रहेछ । बिबिसीका रिचर्ड गिल्वर्ट कोर्स डाइरेक्टर थिए । अत्यन्त अनुभवी र झर्को नमानी सिकाउने व्यक्ति । हामीसित गएकालाई टेलिभिजनबारे केही थाहा थिएन । पाँच हप्ताको तालिमपछि हाम्रो फाइनल परीक्षामा हामीलाई ‘नेपाल’सम्बन्धी एउटा वृत्तचित्र बनाउने जिम्मा दिइयो । वृत्तचित्रको ‘सम्पादक–निर्देशक’ मलाई तोकिएको थियो । सबैले मिलेर वृत्तचित्र निर्माण गर्यौं । त्यो वृत्तचित्र ती विदेशीहरूले खुब रुचाए ।
नेदरल्यान्ड युरोपको बीचमा पर्ने भएकाले त्यहाँबाट बेलायत, फ्रान्स, जर्मनी, बेल्जियम जतै पनि सजिलै जान सकिन्थ्यो । विमान, रेल, बस, कार जेमा गए पनि हुन्थ्यो, आफ्नो पकेटअनुसार । एउटा हप्ता हाम्रो तीन दिन बिदा परेकाले हामी केही साथीहरू लन्डन जाने निर्णय गर्यौं ।
हामीले आम्सटर्डमबाट रेल यात्रा सुरु गर्यौं । तीन–चार घन्टाको रेलयात्रापछि हामी अर्को एघारतले ‘सेन्ट निकोलस’ जहाज चढेर ‘इङ्लिस च्यानल’बाट ६ घन्टामा बेलायतको लिभरपुल निस्क्यौ“ । रेडियोमा हामीसँगै काम गर्ने वीणा गुरुङ लिभरपुल रेल स्टेसनमा हामीलाई लिन आएकी थिइन् । उनीसित मेरो ‘हिल्भरसम’बाट टेलिफोनमा कुरा भइसकेको थियो । उनका पति चन्द्रबहादुर गुरुङ बेलायतस्थित नेपाली दूतावासमा सैनिक सहचारी थिए । वीणा बेलायतमै छोटो बिदा लिएर बसेकी थिइन्, त्यस बेला हामी बिबिसी नेपाली सेवाका खगेन्द्र नेपाली र वीणा गुरुङको घरमा बाँडिएर बस्यौं । नेदरल्यान्ड सरकारले हामीलाई बस्ने, खाने र तालिम लिने व्यवस्थाका साथै दैनिक पाँच गिल्डर (डच पैसा) पकेट खर्च दिन्थ्यो । त्यही पाँच गिल्डरबाट बचाएको केही पैसा र काठमाडौंबाट लगेको पैसाले हामी लन्डन घुम्यौं । अक्सफोर्ड स्ट्रिटमा किनमेल पनि गर्यौं ।
लन्डनमा धेरै भारतीय थिए । हामी दुईतले बसमा चढेर लन्डन घुम्दै थियौं । हाइड पार्कनिर हाम्रो बस रोकियो । बस किन अगाडि बढेन भनेर बसको छतमा गएर हेरेको त हजारौ“ सिखहरू जुलुसमा देखिए । भारतमा भ्रिन्दानबालेको हत्या गरिएका बेला परेकाले सिखहरू इन्दिरा गान्धीको विरोधमा जुलुसमा निस्केका रहेछन् । एउटाले भन्थ्यो, ‘इन्दिर गान्धी !’ जुलुसका सबैले भन्थे, ‘कुत्ति है’ । भोलिपल्ट लन्डनका अखबारमा त्यो जुलुसमा २० हजार सिखहरू सहभागी भएको कुरा लेखिएको थियो ।
त्यसपछि बसबाट हामी ‘विन्डसर’ क्यासल (बेलायतकी महारानीको निवास) हेर्न गयौ“ । खगेन्द्र नेपालीले हामीलाई बिबिसी कार्यालय पनि देखाइदिए । यिनी बिबिसी जानुअघि रेडियो नेपालमा ‘युवा कार्यक्रम’ चलाउँथे । यसरी तीन दिन लन्डन घुमेर तालिममा पुनः हिल्भरसम फर्कियाैं । यसपछि त्यहाँको बाँकी तालिम सकेर हामी नेपाल फर्कियौं ।
तालिमपछि उनीहरूले अभिरुचिपूर्वक काम गर्न थाले । ती युवायुवतीकै अथक परिश्रम र मिहिनेतकै कारण नेपाल टेलिभिजन एक सफल प्रसारण संस्थाका रुपमा स्थापित छ । तालिम लिएकामध्ये धेरै जसो कर्मचारी अझै पनि त्यही“ काम गर्छन् । उनीहरू माथिल्लो पदमा पुगेका छन् । गम्भीरकान्त मैनाली नेपाल टेलिभिजनका महाप्रबन्धक भइसके । लय संग्रौला, जयसिंह शाह, किरण चित्रकार, विजय उदय पाल्पाली, किरणप्रभा तुलाधर, शान्ता श्रेष्ठ, प्रकाशजङ्ग कार्की, पुरुषोत्तम घिमिरे, रमा सिंह, ध्रुव बस्नेत, लक्ष्मण उप्रेती जस्ता प्रतिभामध्ये केही नेपाल टेलिभिजनबाट निवृत्त भइसके । निवृत्त भएकाहरू कतिपय निजी च्यानलमा काम गरिरहेका छन् ।
सन् १९७० को दशकको अन्त्यतिर नेपालमा टेलिभिजनको सेट भित्रिएको अनुमान छ । यी सेट त्यस बेला भिडियो हेर्न प्रयोग गरिन्थ्यो । त्यसयता काठमाडौ“का गल्ली–गल्लीमा पैसा लिएर ती सेटमार्फत हिन्दी सिनेमा देखाइन्थो । गैरकानुनी भए पनि यस्तो कार्यलाई एउटा व्यवसायकै रुप दिइएको थियो । एउटै कोठामा पचासभन्दा बढी दर्शक हुन्थे । कसै–कसैले गोप्य रुपमा अश्लील चलचित्र पनि देखाउँथे । बेला–बेलामा प्रहरीले गरेको कारबाहीको खबर गोरखापत्रमा छापिएका समाचारबाट थाहा हुन्थ्यो ।
नेपाली समाजमा हिन्दी चलचित्रको प्रभाव निकै थियो । त्यसैले नेपालले आफ्नै भाषा, आफ्नै सभ्यता, संस्कृति, दर्शन, धर्म, परम्परा र संस्कार अनि जीवनशैलीअनुरुपको टेलिभिजन च्यानल सुरु नगर्ने हो भने भोलि हाम्रो समाजमा भारतीय भाषा, संस्कृति र जीवनशैलीको प्रभाव पर्न सक्ने आशङ्का थियो । सांस्कृतिक अतिक्रमण हुन सक्ने खतरा थियो । त्यसैले सानै रुपमा भए पनि आफ्नै टेलिभिजन चाहिन्छ भन्ने आवाज बुलन्द बनिरहेको थियो ।
नेपाल जस्तो गरिब देशका लागि टेलिभिजन प्रसारण सेतो हात्ती हुने तर्क दिनेहरू पनि थिए । त्यस बेला केही विदेशी संस्थाहरू नेपालको यो भावना र प्रयासप्रति अचम्मित पनि भएकै हुन् । उनीहरूको सोचाइमा गरिब मुलुकमा टेलिभिजन जस्तो खर्चालु र महँगो सञ्चारमाध्यम आवश्यक छैन भन्ने थियो । टेलिभिजनको औचित्यलाई लिएर औ“लो ठड्याउनुको अर्को कारण पनि थियो, ‘पश्चिमेली मुलुकमा टेलिभिजनलाई आर्थिक सम्पन्नताको एउटा मापक मानिन्थ्यो भने समाजमा विकृति फैलिनुको एउटा कारक ।’
गोकुल पोखरेलले एक पटक टेलिपत्रिकामा लेखेका थिए, ‘एक अमेरिकी संस्थाको अध्ययनबाट किशोर–किशोरीबीच कम उमेरमै यौन सम्पर्क गर्न प्रेरित गर्ने कारक तङ्खवमा त्यस्ता व्यक्ति कति लामो समयसम्म टेलिभिजन कार्यक्रम हेर्छन् भन्ने कुरासित गाँसिएको जनाइएको छ । नेपालमा टेलिभिजन भित्रिने समयमा यसको लाभ र हानिलाई लिएर गम्भीर तर्क–वितर्क हुनु स्वाभाविकै हो । तर, टेलिभिजन जस्तो अत्याधुनिक, सशक्त र प्रभावकारी ध्वनि–दृश्य माध्यमप्रतिको आकर्षणले के नीति–निर्माता, के सामान्य दर्शक, सबैको मन जितेको चाहि“ एउटा यथार्थ भएको छ ।’
विशेष गरी हाम्रो जस्तो विकासोन्मुख मुलुक जहाँ जनचेतनाको स्तर तल छ, त्यहाँ सूचनाको भूमिका अपरिहार्य र महत्वपूर्ण हुन्छ । आर्थिक–सामाजिक संरचनामा परिवर्तन ल्याउन, सोचाइमा–दृष्टिकोणमा परिवर्तन ल्याउन हामीले हाम्रोे चेतनाको स्तर उकास्न अनिवार्य हुन्छ । हाम्रो जस्तो अत्यधिक गाउँ नै गाउँ भएको मुलुकमा, आर्थिक, सामाजिक, सांस्कृतिक शैक्षिकलगायतका दृष्टिकोणबाट समाजको ठूलो भाग पछाडि परेको छ । दुर्गम, अनकन्टार र पहाडी क्षेत्रको बाहुल्य भएको देशमा आमसञ्चारको साधन सुलभ भएन भने एउटा गाउँ अर्को गाउँभन्दा टाढा पर्छ ।
आपसी असमानता बढ्दै जान्छ । यी विविध विषयमा अध्ययन गरिएको थियो, यसपछि नेपाल टेलिभिजनको स्थापना गर्ने निर्णय भयो । साथसाथै राजधानीका बौद्धिक समुदायमा नेपालमा टेलिभिजनको आवश्यकता र औचित्यबारे बृहत् बहस पनि सुरु भयो । यो बहसमा खास गरी दुई मत थिए । एक थरी यो महँगो प्रविधि भएकाले हाम्रो जस्तो कमजोर आर्थिक संरचना भएको देशमा यसको औचित्य छैन भन्नेहरू थिए । यसले धनी र गरिबबीचको खाडल अरु बढाउँछ भन्ने उनीहरूको तर्क थियो । अर्का थरी टेलिभिजन ज्ञान र मनोरञ्जनको स्रोत हो, सूचनाको भरपर्दो माध्यम हो र यसको आवश्यकता छ नेपाललाई, भन्ने तर्क गर्थे । शैक्षिक विकास गर्न, नेपाली प्रकृति एवं संस्कृति र वैभवको प्रवद्र्धन गरी विश्वमा प्रचार–प्रसार गर्न टेलिभिजन अत्यावश्यक छ भन्ने भनाइ उनीहरूको थियो ।
नेपालमा टेलिभिजन सेवा सुरु भएकोमा राजधानीबाट छापिने दैनिक ‘नेपाल टाइम्स’ले आफ्नो सम्पादकीयमा लेखेको थियो, ‘बहुसङ्ख्यक गरिब जनता भएको देशमा टेलिभिजनको कत्तिको महत्व छ भन्ने कुरा बुझ्न सकिने कुरा हो । आफ्नो एउटा सानो झुपडीको निर्माण र त्यसको सम्भार गर्न नसक्ने शक्तिहीन जनताका लागि टेलिभिजन एउटा विलासिताको वस्तु बनेकोमा मतान्तर होला जस्तो लाग्दैन । दैनिक जीवनका न्यूनतम आवश्यकताको आपूर्ति हुन नसकेको मुलुकमा टेलिभिजनको युग एक चरम विलासिताको द्योतक हो । टेलिभिजन युगलाई नेपाली जनजीवनमा भिजाउन अझै हामीले कडा मिहिनेतका साथ काम गर्नुपरेको छ ।
अन्यथा पश्चिमी मुलुकको क्रियाकलापको नक्कल गरी उही रुप यस ऋणी गरिब नेपालमा प्रयोग भएकोमा यो लादिएको हुन जान्छ । आज एक टुकी मट्टीतेल र एक मुठी नुनको खाँचो टार्न छटपटीका साथ जीवनयापन गरिरहेका नेपालीका लागि यस्तो प्रविधि अनुकूल भएको छैन (२०४७) ।’ त्यसै बेला दैनिक ‘नयाँ समाज’मा भने देश विकासमा टेलिभिजनको प्रमुख भूमिका हुने तर्क गर्दै यसको पक्षमा एउटा लेख छापिएको थियो । लेखमा भनिएको छ, ‘हाम्रो जस्तो अल्पविकसित देशमा टिभीको आवश्यकता नभएको कुरा कसै–कसैको मुखबाट नसुनिएको होइन । यस्ता व्यक्तिले टेलिभिजनको उपयोगिताबारे बुझ्नु अति नै आवश्यक छ । आज टेलिभिजनलाई शैक्षिक जगत्को आवश्यक वस्तुका रुपमा हेर्न थालिएको छ । हाम्रो देश प्रकृति र संस्कृतिको धनी छ, जसलाई जगेर्ना गरी हाम्रो संस्कृतिसँग विश्वलाई परिचित गराउनुपरेको छ ।’
वि. सं. ०४२ को अङ्ग्रेजी दैनिक ‘मदरल्यान्ड’ पत्रिकाको आफ्नो सम्पादकीयमा टेलिभिजन परियोजना प्रारम्भ गरेर नेपाल आधुनिक युगमा प्रवेश गरेको उल्लेख छ । नेपाल टेलिभिजनले सुरुचिपूर्ण, विकासमूलक, सूचनाप्रधान र मनोरञ्जक सामग्री दिनुपर्ने आग्रह सम्पादकीयमा गरिएको छ । बहुसङ्ख्यक जनता गरिबीको रेखामुनि भएको देशमा टेलिभिजन विलासिताको वस्तु हो भन्ने स्विकारे पनि यो सेवा सुरु नगर्दैमा गरिबी हट्ने होइन भन्ने तर्क दिइएको छ ।
यसरी नेपाल टेलिभिजनको स्थापनाकालमा यसको आवश्यकता र औचित्यलाई लिएर उठेका विवादमा विभिन्न पत्रिपत्रिकाले आ–आफ्ना राय व्यक्त गरेका थिए । ती अभिव्यक्तिमा टेलिभिजन सेवाको थालनीले नेपाल नयाँ युगमा प्रवेश गर्दै छ भन्ने सन्देश दिएको पाइन्छ । नेपालमा टेलिभिजनको आवश्यकता छैन भन्नेहरूको एक मात्र तर्क मुलुक गरिब छ र यो प्रविधि महँगो भएकाले आम जनताको पहुचभन्दा बाहिर रहला कि भन्ने आशङ्का मात्र हो ।
हामीले त्यस बेला नेपाल टेलिभिजनको नाम नेपालीमा राख्ने कि भनेर नेपालका लब्ध प्रतिष्ठित साहित्यकारसँग सुझाव मागेका थियौं । उहाँहरूले यसको सोझो अनुवाद ‘दूरदर्शन’ हुन्छ र त्यसो गर्दा भारतको दूरदर्शन जस्तो ‘नेपाल दूरदर्शन’ हुन्छ । त्यसो गर्नुभन्दा नेपाल टेलिभिजन नै उपयुक्त हुन्छ भन्ने सुझाव प्राप्त गर्यौं, त्यसैले यसको नाम नेपाल टेलिभिजन रहन गएको हो ।
यसरी विभिन्न तर्क–वितर्कबीच परियोजनाको पहिलो वर्ष तयारीमै बित्यो । त्यस अवधिमा टेलिभिजन प्रविधिमा जानकारी भएका व्यक्तिहरूको अभाव थियो । न्यूनतम साधनस्रोत पनि प्रायः थिएन । टेलिभिजन प्रविधिका निम्ति प्राथमिक जनशक्ति उत्पादन सहज थिएन । तैपनि, फिनल्यान्डका ती जोडीले दिएको तालिमका आधारमा महिनाभित्रै पहिलो परीक्षण प्रसारण गर्न सफल भयो । नेपालमा टेलिभिजन प्रसारणको त्यो क्षण एउटा ऐतिहासिक क्षण थियो ।
परियोजनालाई सरकारले पर्याप्त बजेट दिएको थिएन । सरकारमा बस्नेहरू त्यति जिम्मेवार थिएनन् । सञ्चार मन्त्रालयका अधिकृतहरूलाई टेलिभिजनको कार्यप्रणाली र खर्चबारे ज्ञान थिएन । परियोजनाका प्रमुख नीर शाहलाई यिनीहरूले पत्याएकै थिएनन् । परियोजनाको फाइल लिएर राष्ट्रिय योजना आयोग गयो, त्यहाँका सञ्चारक्षेत्र हेर्ने शङ्करकृष्ण मल्लले टेबलमा राखेको फाइल फ्याँकिदिन्थे । उनले हामीलाई भन्थे, ‘टेलिभिजन प्रविधिबारे तपाईंंहरूलाई केही जानकारी छ ? कसरी प्रसारण गर्नुहुन्छ ?’
नीर शाह साहसी र कर्मठ थिए । गरेरै देखाउने अठोट थियो उनीसँग । साथमा मिहिनेती केही कर्मचारी थिए । यिनीहरू सबै अहोरात्र खटिन्थे । यही परिश्रमका कारण नेपाल टेलिभिजनको जन्म हुन्छ । त्यसपछि अवश्य यो संस्थागत हुन्छ । हामीहरू यसमा विश्वस्त थियौं । तर, हामीलाई सरकारले पत्याएन । त्यसैले हामीले बैंकसँग नब्बे लाख रुपैयाँँ ऋण लिनुपर्यो । यसरी हामी टेलिभिजन प्रसारणको संसारमा केही गरेर देखाउने योजनामा लाग्यौ“ । नेपालमा ‘टेलिभिजन’ स्थापना गर्ने ठूलो अभिलाषाका साथ अहोरात्र क्रियाशील थियौ“ । अनेक विधि, उपाय र प्रक्रियाका बारेमा अध्ययन गर्दै गयौ“ ।
संयोग, त्यसैताका राजा वीरेन्द्र र रानी ऐश्वर्यको अस्टेलियामा राजकीय भ्रमण थियो । राजारानीको भ्रमणको यो समाचार काठमाडौ“मा कसरी प्रसारण गर्न सकिन्छ ? सोच्न थाल्यौं । काठमाडौंका विभिन्न स्थानमा सामुदायिक टेलिभिजन केन्द्र राखिएको थियो । यी केन्द्रसम्म अस्टेलियाको समाचार प्रवाह गर्न सजिलो थिएन । प्रविधि र प्राविधिक दुवैको अभाव थियो । यसका निम्ति हामी अस्ट्रेलिया जाने निर्णयमा पुग्यौ“ । काठमाडौंबाटै त्यहाँको भूउपग्रह स्टेसनमार्फत हाम्रो समाचार प्रसारणका निम्ति समय माग गर्याै । समय पाएको खबर पनि पायौ“ । त्यसपछि हामी अस्ट्रेलिया जाने पक्का भयो ।
अस्टे«लियाको सिड्नी वा क्यानभेराबाट भूउपग्रहमार्फत समाचार पठाएपछि बलम्बुमा भएको दूरसञ्चारको अर्थ स्टेसनमा त्यो समाचार प्राप्त गर्न सकिन्थ्यो, तर आवश्यक उपकरण र विज्ञ प्राविधिकको अभाव थियो । यो कठिनाइबीच लाजिम्पाटको स्टुडियोबाट रत्नपार्क, भूगोलपार्कजस्ता स्थानमा रहेका ‘टेलिभिजन केन्द्र’मा पुर्याएर कसरी प्रसारण गर्ने ? समस्या हाम्रा अगाडि थियो । यसबारे केही जान्ने कोही त होला ? खोजी गर्यौं । एक विज्ञ फेला परे, हरिशरण श्रेष्ठ । हरिशरण र अर्का कृष्णदास श्रेष्ठ भारतीय टेलिभिजन दूरदर्शनको ‘सिग्नल’ समात्न सफल विज्ञ रहेछन् । नेपालमा दूरदर्शन त्यति राम्रो आउँदैनथ्यो ।
कसै–कसैले भन्थे, भारतीय दूरदर्शनको ‘सिग्नल’ हिमाल र अग्ला डाँडामा ठोक्किएर काठमाडौं उपत्यकामा फर्कंदा हाम्रा विज्ञले समातेका हुन् । यी श्रेष्ठद्वयले आफ्नै घरमा भएको टेलिभिजनमा प्रसारित कार्यक्रम खिचेर गोरखापत्र र राइजिङ नेपालमा समाचारका रुपमा प्रकाशन गर्न पठाउँथे । अमेरिकी दूतावासमा भएका केही उपकरण ल्याएर प्रसारणको सामान्य व्यवस्था गर्ने हरिशरण नेपालमा टेलिभिजन प्रसारणका प्रथम प्राविधिक हुन् । नेपाल टेलिभिजनलाई सुरुमा यसरी मद्दत गरेका ती हरिशरण र कृष्णदास पछि फेरि कतै देखापरेनन् ।
श्रेष्ठद्वयको सहयोगको कारण राजकीय भ्रमणको समाचार भूउपग्रहका माध्यमबाट बलम्बुको अर्थ स्टेसनमा रेकर्ड गराउने र रेकर्ड गरेपछि सम्पादन गरेर प्रसारण गर्ने निश्चित भयो । तर, परियोजनासँग त्यसका लागि अति आवश्यक पर्ने क्यामेरा थिएन । क्यामेरा किन्न नीर शाह हङकङ जाने र त्यतैबाट अस्टे«लिया पुग्ने कार्यक्रम बनाइयो ।
म चाहि“ एक जना क्यामेरा पर्सन लिएर बैंकक जाने र त्यतैबाट भिसा लिएर सिड्नी पुग्ने कार्यक्रम बन्यो । त्यहाँ पुगेर मैले आधा घन्टाको अस्टे«लियाको चिनारीको एउटा वृत्तचित्र बनाउनुपथ्र्याे । त्यसपछि हामी क्यानभेरामा भेट्ने कार्यक्रम बन्यो । हामी अस्टे«लिया जाने व्यक्तिहरू र लाजिम्पाटमा बस्नेहरूले के काम गर्ने ? यसको तयारीमा हामी लाग्यौ“, काठमाडौ“बाट हि“ड्नुअघि ।
परराष्ट्र मन्त्रालयले राजाको सवारीमा जानेहरूको नामावलीमा हाम्रो नाम राखेन । अरु सबैको पासपोर्ट ‘भिसा’का लागि अस्टे«लियाको दूतावासमा परराष्ट्रले पठाइसकेको थियो । हामी जाने निर्णय गर्न केही समय लागेकाले भिसाका लागि हाम्रो पासपोर्ट पठाउन ढिला भयो । त्यसैले बैंकक गएर भिसा बनाउनुपर्ने भएको थियो, हाम्रा निम्ति ।
राजारानीको भ्रमण सुरु हुनु तीन दिनअघि हामी कोही हङकङ र कोही बैंककतर्फ लाग्यौ“ । त्यसलगत्तै काठमाडौ“का अखबारहरूमा नेपालमा टेलिभिजन आउने भयो भन्ने समाचारको ‘हेड लाइन’ छापियो । ‘राजाको अस्टेलिया भ्रमणबाट टेलिभिजनको दुनियाँमा नेपालमा नयाँ इतिहास प्रारम्भ हुुँदै छ’ समाचारको मुख्य सार थियो । हामी तीनै जना (नीर शाह, दुर्गानाथ शर्मा र श्याम चित्रकार) अस्टे्लिया प्रस्थान गरिसकेको कुरा समाचारमा थियो ।
श्याम चित्रकार र म बैंकक पुग्नासाथ विमानस्थलबाट होटेल गयौं र आफ्नो नाउँ होटेलमा दर्ता गरायौ“ । त्यसपछि ट्याक्सी लिएर हामी अस्ट्रेलियाको दूतावासतर्फ लाग्यौं । कतै–कतै भिसाका लागि आवेदन दिएको २४ घन्टापछि मात्र भिसा दिइन्थ्यो । मैले दूतावासलाई ‘हाम्रा राजारानी तपाईंंको देशमा दुई दिनपछि राजकीय भ्रमणमा सवारी हुुँदै छ । हामी नेपाल टेलिभिजनका लागि यो भ्रमणको समाचार सङ्कलन गर्न त्यहाँ जान लागेका हौ“ । भोलि बिहानसम्म भिसा पाए हामीलाई सजिलो हुने थियो ।
बैंककस्थित अस्टे«लियाको दूतावासका एक कर्मचारीले हाम्रो अनुरोधलाई सहर्ष स्वीकार गर्दै भने, ‘हो, थाहा छ, तपाईंंको देशका राजारानी अस्टे«लिया जाँदै हुनुहुन्छ । भोलि बिहान दश बजे आउनुहोस्, तपाईंंहरूको भिसा मेरो टेबलमा तयार रहन्छ ।’ हामीले ती अधिकारीलाई मुरी–मुरी धन्यवाद दियौ“ र त्यही“बाट होटेल फक्र्यौं । अर्को दिन बिहान दश बज्न केही समय बाँकी रहँदै दूतावास पुग्यौ“ । भिसा तयार रहेछ । हामीलाई देखेपछि ती अधिकारीले भिसा हातमा थमाइदिए ।
हामी सिड्नी जाने विमानको समयभन्दा निकै अगाडि बैंकक विमानस्थल पुग्र्यौं । त्यसैले निकै समय विमानस्थलमा बिताउनुप¥यो । हामी भोलिपल्ट सिड्नी ओर्लंदा अपराह्नको समय भएको थियो । त्यसपछि त्यही होटेल बुक गरेर श्यामजीसँग भएको भिएचएस क्यामेरा लिएर हामी पहिला अस्टेलियाको प्रसारण संस्था (एबिसी) पुग्यौं । भोलि एक दिनका लागि सम्पादन कक्ष बुक ग¥यौ“ र आफ्नो समस्या त्यो संस्थामा बतायौं, ‘हामीसित सिड्नीमा बिहान खिचिएका केही दृश्य मात्र हुनेछन्, तपाईंंले अस्टेलियाका अरु दृश्य तपाईंंको आर्काइभ्सबाट दिनुपर्नेछ । साथै अति छिटो सम्पादन गर्न सक्ने सम्पादक पनि हाम्रा लागि प्रबन्ध गरिदिनुहोला । किनभने, हामी भोलि बेलुकी पाँच बजे सिड्नीबाट क्यानभेरा उड्दै छौ“ । हाम्रा राजारानी पर्सि एघार बजे क्यानभेरा आउँदै हुनुहुन्छ ।’
उनीहरूले तुरुन्तै एक जना भिडियो सम्पादक व्यवस्था गरिदिए । ती भिडियो सम्पादकले हाम्रो कुरा सुने । कुन दृश्य आवश्यक हुन्छ, बताइदिनुभए म खोजेर राख्थे“ । यो कुरा बताइदिनुभयो भने बेलुकी पाँच बजेअगावै सकेर तपाईंंहरूलाई ‘एयरपोर्टसम्म म आफै“ पुर्याइदिउँला ।’ मैले भने“, ‘अवश्य, तपाईंं अनुभवी सम्पादक हुनुहुुँदो रहेछ ।’ मैले अस्टे«लियाका आवश्यक दृश्यको एउटा लामै सूची उनको हातमा थमाइदिएँ । हामी त्यहाँबाट सिड्नीमा रहेकी मेरी दिदी इन्द्र वनको मेजमानी खान गयौ“ ।
भोलिपल्ट बिहानै हामी दुई भाइ एक–दुई घन्टा सिड्नीको बन्दरगाह क्षेत्रमा गयौ“ । त्यहाँ केही ‘सुटिङ’ (छायाङ्कन) गर्याैं। त्यहाँबाट हामी एबिसी स्टुडियोमा गएर सम्पादनतिर लाग्यौ“ । मैले राति नै एउटा आलेख बनाएको थिएँ । त्यसलाई पनि रेकर्ड गरेर सम्पादन गर्न थाल्यौ“ ।
त्यो सम्पादकले केही ‘फुटेज’ हाम्रा लागि भनेर सङ्ग्रह गरेको रहेछ । हाम्रो र उसको सामग्रीबाट हामीले आधा घन्टाको ‘अस्ट्रेलियाको चिनारी’ शीर्षकको एउटा वृत्तचित्र तयार ग¥यौ“ । यति गरिसक्दा झन्डै त्यही“ पाँच बज्न लागेछ । म एकदमै डराएँ । हामी पुग्नुअगावै विमान उडिसक्यो भने के गर्ने ? भोलि क्यानभेरा पुग्न सकिएन भने हाम्रो अवस्था के होला ? यसरी म आत्तिएको देखेर त्यो सम्पादकले मलाई थुम्थुम्यायो । यसले हामीलाई आफ्नै गाडीमा राखेर सिड्नीको सडकमा यसरी कुदायो, मलाई डर लाग्यो, कतै हामी क्यानभेरा त होइन, स्वर्गतिर त पुग्दैनौं, श्याम दाइ ! मैले सोधे“ । श्याम चित्रकारलाई पनि डर लागेछ क्यार, बोल्न सकेनन्, यसरी सडकमा गुडेर उडे जस्तो गरी हाम्रो सम्पादकले गाडी कुदायो ।
सिड्नीको विमानस्थल पुग्दा झन्डै पच्चीस मिनेट ढिलो भइसकेको थियो । ‘हामी हतारि“दै आफ्नो सुटकेस लिएर डिपार्चर काउन्टरमा पुग्दा आज विमान एक घन्टा ढिलो छ, नअत्तालिनुहोस्’ भन्दा म ढुक्क भएँ ।
हामीले सम्पादन गर्दा ‘लन्च’ पनि खाएका थिएनौ“ । कामको चापाचापमा नलागेको भोक अब पो लाग्न थाल्यो । त्यो सम्पादकले पनि खाना खाएको थिएन । हामी सबैले त्यही“ उभिएर केही ‘स्यान्डविच’ र कफी खाएर भोक मेट्यौ“ ।
सिड्नीबाट उडेको विमान एक–डेढ घन्टामै राजधानी क्यानभेरा पुग्यो । हामी होटेल गएर आफ्नो कोठाको साँचो लिएर के प्रवेश गरेका थियौ“, सिड्नीबाट नीर शाहजीको फोन आयो । उनले किनेको क्यामेरा त एयर इन्डियाले हराइदिएछ । यो खबरपछि दुर्भाग्यले हामीलाई अझै छाडेको छैन । मैले यस्तो सोच्न पुगे“ । शाहजीसँग भएको यो कुरा पछि श्याम र म एबिसी स्टुडियो क्यानभेरा गयौ“ र भोलिको हाम्रो ‘भूउपग्रह’को बुकिङबारे जानकारी लियौं । बुकिङ ठीक थियो ।
त्यहाँ बुझ्दा श्याम दाइले लगेको भिएचएस क्यामेराबाट खिचिएको सामग्री टेलिभिजनका लागि भूउपग्रहबाट पठाउन मिल्दैन । यो क्यामेरा त निजी कार्यक्रमलाई मात्र हो, यसको पिक्चर टेलिभिजनमा प्रसारण हुन सक्दैन, यस्तो कुरा बताएपछि हामी फेरि अर्को समस्यामा प¥यौ“ ।
के गर्ने त ?
हामीले सोध्याेँ ‘तपाईंंहरूको स्टुडियोको क्यामेरा भाडामा दिन सक्नुहुन्छ ?
उनीहरूले भने, ‘क्यामेरा भाडामा दिने चलन नै छैन । नियम पनि छैन ।’
त्यसो भए विकल्प के त ?
हामी नेपालमा पहिलोपल्ट तपाईंंको देशबाट टेलिभिजन प्रसारणको श्रीगणेश गर्न आएका । हाम्रो क्यामेरा काम लाग्दैन । तपाईंं आफ्नो क्यामेरा पनि दिन सक्नुहुन्न । अब यसको विकल्प बताइदिनुहोस् भनेर आग्रह गर्दा त्यहाँका एक कर्मचारीले एउटा उपाय बताए, ‘तपाईंंलाई बजारमा क्यामेरा पाइने एउटा पसलको ठेगाना दिन्छु । भोलि बिहान नौ बजे त्यहाँ पुग्नुभयो भने तपाईंंको समस्या हल हुन सक्छ ।’ त्यहाँबाट त्यो पसलको ठेगाना बोकेर हामी होटेल फक्र्यौं ।
यति बेलासम्म नीर शाहजी र हाम्रो भेटघाट भइसकेको थियो । हामी तीनै जना साथमै छौ“ । नीर शाहजीले कसरी आफ्नो क्यामेरा ‘एयर इन्डिया’ले हराइदियो भन्ने कथा सुनाए । मैले कसरी हामीले एक दिनमा एउटा कार्यक्रम सम्पादन गरेर क्यानभेरा आइपुग्यौं, अनि कसरी एबिसीले हामीसँग भएको क्यामेरालाई अस्वीकार गरिदियो भन्ने कथा सुनाएँ ।
त्यो राति निद्रै लागेन । क्यामेरा भएन भने भोलि बिहान एघार बजे विमानस्थल पुगेर खिच्ने कसरी ? काठमाडौंका अखबारमा निस्केका हामीबारेका समाचार र हेड लाइन झलक्क सम्झे“ । अति निराश भएँ । अब हामीले राजारानीको समाचार खिचेर पठाउन सकेनौं भने यतै कतै समुद्रमा डुबे हुने भयो भन्ने सम्झेर दुःख पनि लाग्यो । यस्तै नकारात्मक सोचमा कुन बेला निदाएछु थाहै भएन ।
भोलिपल्ट बिहान उठ्यौं । चिया खायौ“ । ब्रेकफास्ट खाने इच्छा भएन । कहिले नौ बज्ला र त्यो पसल गएर क्यामेरा लिउँला भन्ने मात्र दिमागमा थियो ।
ठ्याक्क नौ बजे पुग्दा पसल खुलिसकेको रहेछ ।
तपाईंंकहाँ ‘युम्याटिक क्यामेरा’ भाडामा पाइन्छ ?
पाइन्छ ।
हेरौं त ?
पसलेले क्यामेरा झिकेर दियो । श्याम दाइले पहिले त्यो खालको क्यामेरा चलाउन त परै जाओस्, देखेका पनि थिएनन् । उनले क्यामेरा हातमा लिएर खुब हेरे, यता पल्टाए, उता पल्टाए । अहँ भेउ पाएनन् कसरी खिच्ने ?
दुर्गाजी त्योसँग क्यामेराको ‘म्यानुअल’ मागिदिनुहोस् न ?
मैले सोधें, ‘के तपाईंंसित यो क्यामेरा सञ्चालनको निर्देशिका छ ?’
उसले भन्यो– छैन ।
फेरि श्यामदाइले भने– ‘ह्वाइट ब्यालेन्स’ कसरी गर्ने सोधिदिनुहोस् न !
तपाईंंलाई क्यामेराको ‘ह्वाइट ब्यालेन्स’ कसरी गर्ने थाहा छ ?
ऊ अलि झर्केर भन्यो, ‘मैले तपाईंंलाई भनिहालें, म कुनै क्यामेरा पर्सन होइन, मलाई यसको प्रविधि पनि थाहा छैन । म त पैसा लिएर क्यामेरा दिन मात्र सक्छु ।’
मैले श्याम दाइतिर फर्केर भनें, ‘क्यामेरा अन गर्ने त तपाईंंलाई थाहा भयो, ब्याट्री हाल्ने पनि यही“ छ । क्यासेट हाल्ने पनि देखिहाल्नुभयो । अब पशुपतिनाथ सम्झेर खिच्नोस् । आए हाम्रो भाग्य, नआए दुर्भाग्य ।’ अब के गर्ने ? यसरी हामी भाडामा क्यामेरा लिएर विमानस्थलतिर लाग्यौं ।
अस्टेलियाको यो भ्रमणमा नेपाली प्रेसबाट गोरखापत्रका प्रधानसम्पादक बालमुकुन्ददेव पाण्डे, राससका वरिष्ठ संवाददाता रामकृष्ण रेग्मी, सूचनाका क्यामेराम्यान र अरु केही पत्रकार पनि थिए । उनीहरू विमानस्थल ओर्लिसकेका थिए ।
विमानस्थलमा निकै हावा चलेकोले चिसो थियो । अस्टेलियाका थुप्रै टेलिभिजन क्यामेरा पर्सनहरू र पत्रकारहरू पनि थिए, त्यहाँ । हामी पो त्यहाँ समाचार बन्यौं । सबै पत्रकार आएर सोध्न थाले, ‘तपाईंंहरूको टेलिभिजन कस्तो छ ? पहिलोपल्ट हो ?’ हामीले ‘हो’ भन्यौं ।
यसैबीच राजाको सवारी भयो । क्यामेरा पर्सनहरू र पत्रकारहरू अगाडि बढ्न थाले । हामीले पनि खिच्न थाल्यौं । मैले हावाबाट स्वर नउडोस् भन्न माइक्रोफोनलाई आफ्नो रुमालले छोपेको थिएँ । किनभने, हामीसित हावा छेक्ने ‘मफ्लर’ थिएन । विमानस्थलमा औपचारिक कार्यक्रम भयो । त्यसपछि दिनभरि शिष्टाचार भेटघाट, वार्ता, लन्च, ‘सिडनी जु’को निरीक्षण आदि–आदि । हामी फोटो खिच्दै गयौं, तर थाहा छैन ती खिचिए कि खिचिएनन् । चेक गर्ने उपकरण हामीसित छैन । तैपनि, भोक र तिर्खाले छट्पटाउँदै हामी खिच्दै गयौं ।
बेलुकी राजारानीको सम्मानमा अस्टे«लियाका प्रधानमन्त्रीले आयोजना गरेको रात्रिभोज, त्यो दिनको अन्तिम कार्यक्रम थियो । त्यहाँ राजा वीरेन्द्रको प्रत्युत्तर भाषणपछि नीर शाहजी, श्यामजी र म एउटा गाडी लिएर सोझै एबिसी स्टुडियो गयौं । सम्पादन कक्षमा गएर क्यासेट हालेर स्विच थिच्नासाथ राजा वीरेन्द्र र रानी ऐश्वर्या मुसुक्क हाँस्दै विमानबाट ओर्लेको तस्बिर ‘स्क्रिन’मा देखेपछि हाम्रो खुसीको सीमा रहेन । हामीलाई संसारै जिते जस्तो लाग्यो ।
त्यहाँबाट हामीले सिड्नीमा तयार गरेको ‘अस्टेलियाको चिनारी’ शीर्षकको वृत्तचित्र र त्यस दिनको राजकीय भ्रमणका कार्यक्रम भूउपग्रहबाट सफलतापूर्वक प्रसारण गर्यौं । यो प्रसारण बलम्बु स्टेसनमा प्राप्त भएको खबर पाएपछि सन्तोष लाग्यो र जिउ हलुङ्गो भएको अनुभव गर्यौं । यसरी नेपालमा नेपाल टेलिभिजनको इतिहासमा विदेशबाट पठाएको पहिलो समाचार प्रसारण भयोे । नेपालमा टेलिभिजन प्रसारणको इतिहासमा यो एउटा नौलो अध्यायको आरम्भ थियो । यसरी हामी सफल भयौ“ । त्यसपछि त्यो राति अति खुसीले गर्दा हामी होटेल गएनौ“ । नीर शाहका एक मित्र मुरारी राणा रहेको क्यानभेराको एउटा बारमा गएर बियर र केही खानेकुरा खाएर हामीले नेपाल टेलिभिजनको एउटा खाका बनायौ“, राति दुई बजेसम्म ।
अर्को दिन बिहान हामीले त्यहाँबाट प्रकाशित अखबार हेर्याे । अखबारको समाचारमा राजारानीको तस्बिरमुनि हाम्रो कथा छ । नेपालका राजाको पहिलो पटक भएको अस्ट्रेलिया भ्रमणको समाचार नेपाली जनताले हेर्न पाए । टेलिभिजनका रिपोर्टरले ‘मफ्लर’को अभावले आफ्नोे रुमालले माइक्रोफोन छोपेर काम चलाए । यस्तो समाचार थियो, त्यो अखबारमा । यो समाचारले हामीलाई हतोत्साही बनाएन, प्रेरणा दियो । यसरी हामीले हाम्रो पहिलो प्रयत्न सफलतापूर्वक सम्पन्न गर्यौं । यसैबीच क्यानभेरामा दुई दिनको कार्यक्रम सकेर हामी राजाको टोलीसँगै सिड्नी गयौ“, त्यहाँ पनि राजाका औपचारिक र अनौपचारिक थुप्रै कार्यक्रम थिए । हामीले क्यानभेराबाट भाडा तिरेर ल्याएको क्यामेरा सिड्नी पनि लगेका थियौं । कार्यक्रम सकेर हिंड्ने दिन त्यो क्यामेरा सिड्नीकै पसलमा छाडिदियौ“ ।
मैले अघि लेखिसकें, हामी राजाको भ्रमण दलमा सामेल थिएनौ“ । सिड्नीको कार्यक्रमपछि राजाको कार्यक्रम ह्यामिल्टन टापु जाने थियो । ह्यामिल्टन टापु एउटा महँगो रिसोर्ट हो । मैले भेटेर कुरा गरेका धेरै अस्टे«लियनहरू भन्थे, ‘वा ! तपाईंंहरू त भाग्यमानी हुनुहुुँदो रहेछ । ह्यामिल्टन आइल्यान्ड जानु त ठूलो अवसर हो । धेरै हामी अस्टेलियन नै त्यहाँ पुगेका छैनौं । हाम्रा लागि यो ‘टापु’ धेरै महँगो पर्छ ।’
नीर शाह राजाका अङ्गरक्षक ताराबहादुर थापासँग केही बेर अलमलिए । पछि शाहजी, हामी पनि ‘ह्यामिल्टन’सम्म जाने भयौ“ भन्दै हतारि“दै आए । तर, परराष्ट्रले हाम्रा सामान बेग्लै राख्नु भनेकोले हामी तीन भाइका सामान ‘रिसेप्सन कक्ष’मा थिए । हतार–हतार हाम्रा सामान पनि अरुका सामानसँगै मिसाइयो । हामी ह्यामिल्टन जान पाउने भयौ“ भनेर निकै खुसी भयौ“ ।
ह्यामिल्टन टापुमा निकै रमाइलो भयो । त्यहाँ राजाको औपचारिक कार्यक्रम थिएन । घुम्ने र खानेबाहेक । एक दिन साँझ हामीलाई आफू खुसी र मौसमअनुसारको पोसाकमा एउटा रेस्टुराँमा छ बजेभित्र पुग्नुपर्ने निर्देशन आयो, परराष्ट्रका शिष्टाचार महापालबाट । गर्मी भएकाले हामी तीनै जना पातलो टिसर्ट र पेन्टमा पुग्याैं, बोलाइएको रेस्टुराँमा । तीन भाइ एउटै टेबलमा बसेर ‘ड्रिङ्क’ गर्न थाल्यौं । तर मलाई थाहै थिएन, हाम्रै टेबलको छेउमा राजा वीरेन्द्र र रानी ऐश्वर्य आइसकेका रहेछन् । हामीलाई देखेर आँखा जुधेपछि दुवै मुस्कुराए । खुसी लाग्यो । हामीसँग सिड्नीबाट एउटी महिला गाइड पनि आएकी थिइन्, प्रु रब्सन । यिनी अत्यन्तै राम्री थिइन् । मैत्रीभाव राख्थिन् हामीसँग ।
केही बरेपछि अस्टे्लियनले आफ्ना गीत गाउन थाले । त्यसै बेला ताराबहादुर थापा हाम्रो टेबलमा आए । उनले सरकारबाट तपाईंंहरूलाई पनि गीत गाउनु भनिबक्सेको छ, अब उनीहरूको गीत सकिएपछि तयार हुनुहोस् है भनेर गए ।
अब हामीलाई पर्यो फसाद । हामीमध्ये नीर शाह र म केही गाउने प्रयास गर्न सक्थ्यौं, तर श्याम चित्रकारबाट गीत गाउन सम्भव थिएन । हामी पर्यौं ‘टुकडे उस्ताद’ । कुनै पनि गीत हामीलाई पूरा आउँदैनथ्यो । जे पर्ला–पर्ला भनेर सोचिरहेका थियौं । अस्टेलियन गीत सकिएपछि ‘राजारानीले’ हामीतिर पुलुक्क हेरेर ‘इसारा’ गरे ।
हामीले कुनै–कुनै गीतमा जानेका टुक्रा मिसाएर गायौं । राजारानीका अगाडि यसरी गीत गाएको पहिलो पटक थियो । तर, थपडी बजेपछि ढुक्क भयौ“ । गीतको सिलसिला बढ्दै गएपछि मेरो आँखालाई विश्वासै नलाग्ने गरी राजारानी त फ्लोरमा गएर नाच्न पो थाले । रानीले साडीको फेरलाई कम्मरको साडीभित्र घुसाएर राम्रै नाचेको देख्दा म छक्कै परे“ । रानी ऐश्वर्याले त्यसरी नाचेको मैले जीवनमा देखेकै थिइनँ । हामी पनि त्यो हुलमा मिसिएर यसो नाचे जस्तो ग¥यौ“ । नाच्न जानेको भए पो ! घडी हेरें, रातको बाह्र बज्नै लागेछ । यसैबीच ताराबहादुर थापाले राजालाई अलि मदिरा लागे जस्तो ठानेर होटेलतिर सवारी चलाए । हामी भने सेवनमै थियौ“ । राजाका अङ्गरक्षक त्यसपछि स्वतन्त्र भएछन् । उनले हामीलाई त्यहाँका रात्रि क्लब हेर्न जाने प्रस्ताव राखे ।
मलाई चाहि“ रात्रि क्लब जानुभन्दा सुत्न जानेतिर प्रबल इच्छा थियो । के निहुँ निकालूँ भनेर सोच्दै थिएँ । नीर शाह, म र ताराबहादुर तीनै जना सिग्रेटप्रेमी थियौ“ । ताराबहादुरजीको सिग्रेट सकिएछ । उनले नीर शाहसँग सिग्रेट छ भनी मागे । शाहले मसित छ कि भनेर माग्दा मसित पनि थिएन । हामी तीनै जनासँग सिग्रेट सकिएको अवस्था परेछ । होटेलमा त सिग्रेट छ, तर यहाँ छैन सकिएछ भने“ । राजासित भ्रमणमा जाने व्यक्तिले सिग्रेट खाने वा नखाने भए पनि विमानस्थलको ‘ड्युटी फ्री’मा दुई–तीन कार्टुन ५५५ सिग्रेट किन्थे ।
मैले भनें, ‘म अलि थाकेको पनि छु, मलाई नाइट क्लबभन्दा सुत्न मन लागेको छ । होटेल नजिकै छ, म गाडी (हामीलाई प्रेसका लागि भनेर बेग्लै गाडी दिइएको थियो) लिएर जान्छु र ड्राइभरको हातमा दुई–तीन प्याकेट सिग्रेट पठाइदिन्छु ।’ मैले यस्तो भनेपछि उनीहरू सहमत भए । म पनि सुत्न पाइने भयो भनेर फुरुङ्ग हुुँदै होटेलतिर लागें । ड्राइभरको हातमा सिग्रेट पठाइदिएँ ।
नीर शाह बिहान पाँच बजेतिर आए । भोलिपल्ट हामी त्यहाँबाट प्रस्थान गर्ने दिन थियो । बिहान दश बजेभित्र विमानस्थल पुग्नुपथ्र्याे ।
बिहान ‘ब्रेकफास्ट’ गरेर विमानस्थल पुगेको केही बेरको प्रतीक्षापछि हामी विमानमा बस्यौं । विमानमा बसेपछि हामीलाई अर्कै कुरा भनियो । हामी टेलिभिजनका तीन भाइ चाहिं ‘डर्विन’ भन्ने ठाउँमा ओर्लने र त्यहाँबाट सिङ्गापुर नजिकै छ, टिकट किनेर जाने । राजाको सवारी मलेसिया, ब्रुनाई भएर जापानसम्मको थियो, त्यसैले यस्तो भनिएको होला ।
हामीले अस्वीकार गर्ने ठाउँ थिएन । हामी त सिड्नीसम्म मात्र आएका थियौं । नीर शाहजीको सौजन्यबाट ह्यामिल्टनसम्म गइयो । हुनत विमान आफ्नै थियो, नेपाल वायुसेवा निगमको । खाली नै थियो । हामी तीन जनालाई लगेको भए राजाको समाचार पठाउन पाइन्थ्यो । किन लगेनन् ? थाहा भएन । परराष्ट्रले भ्रमण दलका सदस्यमा हाम्रो नाउँ समावेश नगरेकाले अतिथि मुलुकलाई अप्ठ्यारो पर्ने भएकाले होला भन्ने ठानेर हामी तीन जना डर्विनको विमानस्थलमा ओल्र्यौं र एउटा होटेल खोजेर बस्यौ“ । डर्विन भन्ने ठाउँ हाम्रो जुम्ला जस्तो दुर्गम रहेछ । सोधपुछ गर्दा सिङ्गापुर जाने विमानको टिकट तीन दिनलाई छैन । त्यहाँदेखि बसैबाट सिड्नी जान पनि तीन दिन लाग्छ । अब तीन दिन हाम्रो डेरा यही“ हुन्छ भनेर हामी डर्विनमा बस्यौ“ ।
श्यामजी र नीर शाह ‘स्नुकर’ खेल्थे, एउटा क्लबमा । म बियर खाँदै उनीहरूले खेलेको हेर्थेँ । डर्विन सहर सानो थियो । खासै घुम्ने र हेर्ने केही थिएन । शाहजीले तेस्रो दिन यहाँ कतै भारतीय रेस्टुराँ पाइन्छ कि भनेर एउटा स्थानीय समाचारपत्र खोजेर ल्याए । विज्ञापन हेरेर भारतीय रेस्टुराँको ठेगाना टिप्यौ“ र ट्याक्सी चढेर गयौं ।
धेरै दिन भएको थियो– दाल, भात नखाएको । त्यसैले हामीले भात, दाल, चिकन, पापड, दही, अचार आदि त्यहाँ भएका प्रायः सबै जसो खाना अर्डर ग¥यौ“ । मगाएको खाना धेरै भएछ । तीन जनाले जति बल गर्दा पनि सकिएन । बिल आयो चार सय डलरको । बिल तिरेर हामी फेरि होटेल गएर ओछ्यानमा पल्टियौं । हामीलाई भाते निद्राले समातेछ । ब्युँझिँदा त साँझ हुन लागेछ । यसरी डर्विनमा हामीले तीन दिन बितायौ“ ।
भोलिपल्ट बिहानै विमानस्थल गयौ“ र डर्विनबाट सिङ्गापुरका लागि प्रस्थान गर्यौ ।
सिङ्गापुरमा पुगेपछि, नेपाली मित्रहरू पनि भेटिए । नेपालमा टेलिभिजन देखाएकोमा शाहजी र मलाई बधाई दिए । राजाको भ्रमणको समाचार देख्दा हामी खुसी भयौं भन्दा हामी चाहिं अझ बढी खुसी अनुभव गर्दै थियौं । त्यहाँ मन्त्री दीपक बोहरासँग अचानकै भेट भयो र उनले पनि अब नेपालमा टेलिभिजनको युग सुरु भयो भन्ने उद्गार व्यक्त गरे । सायद उनी व्यक्तिगत वा अन्य कामले त्यहाँ पुगेका थिए ।
मसँग घरमा त्यस बेला टेलिभिजन सेट थिएन । राजाको भ्रमण दलमा जानेलाई यस्ता कुरामा भन्सार लाग्दैनथ्यो । एउटा पसलमा गएर तीन सय अमेरिकी डलरमा जापानी ‘सोनी’को एउटा सेट किनेर ल्याएँ । यसरी हामी टेलिभिजनको इतिहास कोर्दै सिङ्गापुरबाट काठमाडौं आयौं ।
त्यस बेला मेरी आमालाई इलामबाट काठमाडौं आउने संयोग परेकोे थियो । मेरी श्रीमती अम्बिका भण्डारीले आमालाई तपाईंको छोराको उपलब्धि भन्दै टेलिभिजनमा समाचार हेर्ने अवसर जुराइदिइन् । पानी पर्दै गरेको भए पनि छातामा ओत लागेर सासूबुहारी दुवैले कमलपोखरीको बुथमा हेरेछन् । त्यहाँबाट समाचार प्रसारण भइरहेको दृश्य अरुले पनि हेरिरहेका थिए । मेरी आमा जसलाई टेलिभिजन के हो ? थाहै थिएन । आमालाई छोरा टेलिभिजनमा बोल्दै गरेको तस्बिर र स्वर सुन्दा आश्चर्य भएछ । छोराको यो उपलब्धि देखेर आमाले खुसीको आँसु खसालेको कुरा मेरी श्रीमतीले म फर्केर आएपछि सुनाइन् । अर्थात् त्यसताका टेलिभिजन मेरी आमाका निम्ति मात्र नभई सबैका निम्ति नौलो थियो ।
(दुर्गानाथ शर्माको कृति छालबाट साभार)