free website hit counter

राष्ट्रपतिसँग लामिछाने र प्रधानमन्त्री शाहको भेट

beemaadmin
२०८३ मंसिर १२, शुक्रबार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। सरकारको कामकारबाही, संसद्, अध्यादेश तथा प्रधानमन्त्रीको भारत भ्रमणलगायत विषयलाई लिएर उनीहरूले राष्ट्रपतिसँग छुट्टाछुट्टै भेट गरेका हुन्।

शुक्रबार दिउँसो शीतल निवास पुगेका रास्वपा सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग करिब आधा घण्टा छलफल गरेका थिए। लामिछानेका प्रमुख स्वकीय सचिव प्रदीप आचार्यका अनुसार भेटमा सरकार, संसद्, अध्यादेश र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो।

Advertisement
Advertisement

लामिछानेसँगको भेटपछि प्रधानमन्त्री शाह पनि राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका छन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार शाह दिउँसो ३ बजे राष्ट्रपतिलाई भेट्न जाने कार्यक्रम थियो। भारतको राजकीय भ्रमणबाट फर्किएपछि उनले भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराउन लागेका हुन्।

Advertisement
Advertisement

प्रधानमन्त्री शाह मंसिर ६ गते दुईदिने राजकीय भ्रमणका लागि भारत गएका थिए। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्चस्तरीय पदाधिकारीसँग भेटवार्ता गरेका थिए।

यसअघि प्रधानमन्त्री शाहले विदेश भ्रमणमा जानुअघि र स्वदेश फर्किएपछि राष्ट्रपतिलाई जानकारी गराउने परम्परालाई निरन्तरता नदिएको विषय चर्चामा थियो। भारत भ्रमणअघि उनले राष्ट्रपति पौडेललाई जानकारी गराएका थिएनन्। भ्रमणबाट फर्किएपछि भने शुक्रबार भेटवार्ताका लागि शीतल निवास जान लागेका हुन्।

यसैबीच, सरकार र राष्ट्रपति कार्यालयबीच अध्यादेशका विषयमा पनि चासो बढेको छ। सरकारले गत कात्तिक १७ गते दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको भए पनि ती अध्यादेश अझै जारी भएका छैनन्।

सरकारले प्रेस काउन्सिल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत विषयसँग सम्बन्धित केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न सिफारिस गरेको थियो। तर, राष्ट्रपति पौडेलले ती अध्यादेश जारी नगरी रोकेर राखेका छन्।

एकै दिन रास्वपा सभापति र प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेटवार्ता गर्न लाग्नुलाई सरकारका कामकारबाही, अध्यादेश र पछिल्लो राजनीतिक परिस्थितिका सन्दर्भमा महत्त्वपूर्ण रूपमा हेरिएको छ।

सम्बन्धित समाचार