free website hit counter

राष्ट्रियसभाबाट को–को माननीयको बिदाई हुँदैछ ?

beemaadmin
२०७६ मंसिर २२, आईतवार

काठमाडौं । राष्ट्रियसभाका एक तिहाई सदस्यको म्याद फागुन २० गते समाप्त हुँदैछ । म्याद सकिएर रिक्त हुने पदमा ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधानका कारण निर्वाचन आयोगले सोमबार आयोग परिसरमा सर्वदलीय बैठक समेत राखेको छ । निर्वाचन कार्यतालिकमा सहमति खोज्नका लागि बैठक बोलाएको बताइएको छ ।

३५ दिने प्रावधानका कारण माघको दोस्रो सातासम्म आयोगले निर्वाचन सम्पन्न गरिसक्नु पर्ने छ । राष्ट्रियसभाका सांसदको चयनका लागि हुने निर्वाचनको मतदातामा गाउँपालिका/नगरपालिकाका अध्यक्ष/उपाध्यक्ष, सातवटै प्रदेशसभाका सदस्यहरु र संघीय संसद (प्रतिनिधिसभा) का सदस्यहरु हुने प्रावधान रहेको छ । फागुन २० गते म्याद समाप्त हुने राष्ट्रिय सभाका सदस्यहरुमा राष्ट्रपतिबाट मनोनित डा. युवराज खतिवडादेखि लिएर नेकपाका ८ जना, नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने ७ जना, राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधित्व गर्ने २ जना र संघीय समाजवादी पार्टीबाट १ जना गरी १९ जना रहेका छन् । फागुन २० गतेबाट दुई वर्षे कार्यकाल पूरा गरेर अवकाश पाउने राष्ट्रियसभाका सदस्यहरु तपसिल बमोजिम रहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी ८ जना
१. कमलाकुमारी ओली
२. हरिचरण शिवाकोटी
३. कालिबहादुर मल्ल
४. खेमराज नेपाली
५. बलराम बाँस्कोटा
६. मिना बुढा
७. युटोल तामाङ
८. राजकुमार कुँवर

नेपाली काँग्रेस ७ जना
१. सुरेन्द्रराज पाण्डे (काँग्रेस प्रमुख सचेतक)
२. बद्रीप्रसाद पाण्डे
३. दुर्गाप्रसाद उपाध्याय
४. धनकुमारी खतिवडा
५. मुक्ताकुमारी यादव
६. बिन्दादेवी आले
७. सरिता प्रसाईं

राष्ट्रिय जनता पार्टी २ जना
१. बृषेशचन्द्र लाल
२. रमेशप्रसाद यादव

संघीय साजवादी पार्टी १ जना
१. रामप्रित पासवान

राष्ट्रपतिबाट मनोनित १ जना
१. डा. युवराज खतिवडा (अर्थमन्त्री)

नेपालको संविधानको धारा ८६ (२) ले राष्ट्रियसभाका सदस्यहरु ५९ सदस्य हुने व्यवस्था गरेको छ । ५६ जना निर्वाचन पद्दतिबाट र ३ जना नेपाल सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित (एकजना महिलासहित) हुनेछन् । धारा ८६ (३) मा व्यवस्था भएअनुसार राष्ट्रिय सभाका सदस्यहरुको पदावधि ६ वर्षको हुने छ भने एक तिहाई सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्था भएबोजिम राष्ट्रियसभाको पहिलो बैठक बसेको दिनलाई आधार मानेर एक तिहाई सदस्यहरुको म्याद समाप्त हुन लागेको हो ।

धारा ८६ (४) ले राष्ट्रिय सभाका सदस्यहरुको पहिलो पटक पदावधि गणना गर्दा राष्ट्रियसभाको प्रथम बैठक बसेको दिनबाट सम्पूर्ण सदस्यहरुको पदावधि प्रारम्भ भएको मान्ने व्यवस्था छ । दफा ५ ले राष्ट्रियसभामा रिक्त हुन आउने सदस्यको पूर्ति त्यस्तो स्थान रिक्त गर्ने सदस्यहरुको निर्वाचन वा मनोनित जुन तरिकाले भएको थियो सोही तरिकाले बाँकी अवधिका लागि गरिने व्यवस्था बमोजिम १८ जना सदस्यहरुको छनोट निर्वाचनबाट हुनेछ भने एक जना सदस्य सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुनेछ । अब निर्वाचित वा मनोनित हुने सदस्यहरुको पदावधि ४ वर्षको हुनेछ । नेपालको संविधानमा कार्यकाल सकिएका सदस्यहरु पुनः उमेदवार बन्न पाउने÷नपाउने उल्लेख गरिएको छैन ।

सम्बन्धित समाचार