काठमाडौं । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्कृष्ट करदातालाई सम्मान गरेका हुन्।
यस वर्ष निकायहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ।
त्यस्तै, एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेशनल, वस्तु निर्याततर्फ डाबर नेपाल, सूचना प्रविधि सेवा निर्याततर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपाल र कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसीबी फुड्स एन्ड फिड्स सम्मानित भएका छन्।
बैंकिङ क्षेत्रतर्फ नबिल बैंक, स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज, पर्यटनतर्फ सोल्टी होटल र वस्तु व्यापारतर्फ सीजी इम्पेक्सले सम्मान प्राप्त गरेका छन्।
त्यसैगरी, ऊर्जा क्षेत्रतर्फ भोटेकोशी पावर कम्पनी, रेमिट्यान्सतर्फ आईएमई लिमिटेड, व्यक्तिगत आयतर्फ राजबहादुर शाह र मूल्य अभिवृद्धि करतर्फ हिमालयन डिष्टिलरी सम्मानित भएका छन्।
अन्य सम्मानित करदातामा फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर, इम्पेरियल सेक्युरिटिज, वरुण बेभरेज नेपाल, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल), सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र छिमेक लघुवित्त वित्तीय संस्था रहेका छन्।
सरकारले मूल्य अभिवृद्धि कर ऐन, २०५२ लागू भएको दिनको सम्झनामा २०६९ सालदेखि हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ। करदातालाई करप्रति प्रोत्साहित गर्ने उद्देश्यले विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मान गर्ने गरिएको छ।