काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. शिवहरी श्रेष्ठसँग कम्पनीको सञ्चालक समितिले लिखित स्पष्टीकरण माग गरेको छ। कार्यसम्पादन सन्तोषजनक नभएको, व्यवसायिक लक्ष्य हासिल गर्न नसकेको तथा विभिन्न वित्तीय र प्रशासनिक कमजोरी देखिएको भन्दै समितिले १५ कार्यदिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।
सञ्चालक समितिले असार १० गते डा. श्रेष्ठलाई पत्र पठाउँदै बीमा ऐन, २०७९ तथा कार्यसम्पादन सम्झौताअनुसार उनको कार्यसम्पादन संस्थाको हितअनुकूल नरहेको उल्लेख गरेको छ।
समितिका अनुसार डा. श्रेष्ठ कार्यसम्पादन सम्झौतामा उल्लेख गरिएका बीमाशुल्क संकलन र खुद मुनाफाको लक्ष्य हासिल गर्न असफल भएका छन्। कम्पनीको व्यवसायिक प्रगति अपेक्षाअनुसार नभएको तथा कार्यसम्पादन अत्यन्त कमजोर रहेको आरोप लगाइएको छ।
त्यस्तै कम्पनीको कोर इन्सुरेन्स सफ्टवेयर पूर्ण रूपमा कार्यान्वयन गर्न नसकेको, बैंक हिसाब मिलान तथा दैनिक क्लोजिङजस्ता आधारभूत वित्तीय व्यवस्थापनका कामसमेत प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप पनि उनीमाथि लगाइएको छ।
सञ्चालक समितिले कर्मचारी अवकाशका क्रममा नियमविपरीत बढी रकम भुक्तानी गरिएको, कम्पनीले उठाउनुपर्ने बक्यौता रकम असुलीमा प्रभावकारी पहल नगरिएको तथा दाबी भुक्तानीसँग सम्बन्धित रकम अन्य संस्थाबाट असुल गर्न पटक–पटक निर्देशन दिँदा पनि कुनै उल्लेखनीय प्रगति नभएको जनाएको छ।
पुनर्बीमा व्यवस्थासम्बन्धी प्रतिवेदनमा स्पष्ट रायसहित प्रतिवेदन माग गरिएको अवस्थामा अस्पष्ट र गोलमटोल प्रतिवेदन पेश गरेको आरोप पनि उनीमाथि छ।
यसका साथै आन्तरिक तथा बाह्य लेखापरीक्षण प्रतिवेदनले औँल्याएका कैफियतहरू सुधार नगरेको तथा पुनर्बीमा निर्देशिकाविपरीत बीमालेख जारी गरेको विषयलाई पनि सञ्चालक समितिले गम्भीर रूपमा उठाएको छ।
सञ्चालक समितिले १५ कार्यदिनभित्र प्रमाणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिँदै चित्तबुझ्दो जवाफ नआए करार सम्झौता अन्त्य गरी प्रमुख कार्यकारी अधिकृत पदबाट हटाइने चेतावनी दिएको छ।
डा. शिवहरी श्रेष्ठ २०८१ वैशाख १४ गते राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए।