काठमाण्डौ । नेपाल राष्ट्रबैंकको गभर्नरको दौड चलिरहँदा प्रतिस्पर्धीको दौडधूप निकै रोचक देखिएको छ । प्रमुख सत्ता साझेदार दल एमाले र कांग्रेसको उच्च तहका नेताबीच गभर्नर कांग्रेसलाई दिने सहमति भएसँगै गभर्नरको सम्भावित अनुहारहरुको दौडधूप बढ्न थालेको हो । यही क्रममा गभर्नरको दौडमा निकै अगाडि रहेका र नियुक्तिको सम्भावना समेत देखिएका बैंकर ज्ञानेन्द्र ढुंगानाले नविल बैंक लिमीटेड छाडेका छन् । उनले आईतबारको मिति राखेर बैंकको प्रमुख कार्यकारी अधिकृतको पदबाट राजीनामा दिएका हुन् । उनी राजीनामा दिनुअघि समेत बैंकमा विदा लेखाएर गभर्नरको दौडमा सक्रिय थिए । गभर्नर एमाले वा कांगे्रस कसको भागमा पर्ने भन्ने कुरा निश्चित नहुञ्जेल विदा मिलाएर दौडधूप गरिरहेका उनी कांग्रेसले नै पाउने पक्का भएपछि राजीनामा नै दिएर सक्रिय भएका हुन् । कांग्रेसले नै गभर्नर पाउने पक्का भएसँगै गभर्नर छनौट समिति पनि आफू अनुकुल बनेको ढुंगानाको बुझाई देखिएको छ । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित गभर्नर छनौट तथा सिफारिस समितिको सदस्यमा डा। विश्व पौडेल र पूर्व गभर्नरको तर्फबाट विजयनाथ भट्टराई नियुक्त भएका थिए । समितिका दुवै सदस्य कांग्रेस निकट हुन् । कांग्रेसको भागमा राष्ट्रबैंकको आगामी गभर्नर पर्ने निश्चित भएपछि ढुंगानाले हरेक शक्तिकेन्द्रहरुसँग पहुँच बनाइरहेका छन् । ढुंगानालाई कांग्रेसका दोश्रो तहका नेताहरुको विशेष सद्भाव छ । पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा परराष्ट्रमन्त्री आरजू देउवा समेत ढुंगानालाई राष्टबैंकको नेतृत्व सुम्पिन तयार देखिएकी कांग्रेसका नेताहरु बताउँछन् । ढुंगानालाई गभर्नरका लागि माहौल बनाउने काममा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत लगायतका नेताहरु विशेष रुपमा लागिपरेका स्रोतहरु बताउँछन् ।