free website hit counter

रास्वपाको जिल्ला अधिवेशनमा संस्थापन पक्षको वर्चस्व

beemaadmin
२०८३ जेष्ठ २५, सोमबार

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को देशभर सम्पन्न जिल्ला अधिवेशनहरूमा संस्थापन पक्षले स्पष्ट वर्चस्व कायम गरेको देखिएको छ। शनिबार र आइतबार सम्पन्न ५० भन्दा बढी जिल्लाको अधिवेशनबाट चयन भएका अधिकांश नेतृत्वमा सभापति रवि लामिछाने निकट नेताहरू निर्वाचित भएका छन्।

पार्टीभित्र निर्वाचनअघि बालेन्द्र शाह समूह तथा विवेकशील साझा पृष्ठभूमिका नेताहरूको समायोजन भएको थियो। त्यसपछि उनीहरूलाई पार्टीका विभिन्न केन्द्रीय जिम्मेवारी र पदमा समेटिएको थियो। उम्मेदवार छनोटदेखि सरकार गठनसम्म भागबण्डाको आधारमा शक्ति सन्तुलन कायम गरिएको चर्चा पनि हुँदै आएको थियो।

महामन्त्री भूपदेव शाहले यसअघि पार्टीको एकता र समायोजनलाई ध्यानमा राख्दै महाधिवेशनसम्म सबै पक्षलाई समेट्ने गरी नेतृत्व चयन गरिने बताएका थिए। तर जिल्ला अधिवेशनका नतिजाले भने संस्थापन पक्षको प्रभाव बढी रहेको संकेत गरेका छन्।

पार्टीका नेताहरूका अनुसार केही जिल्लामा ‘रवि समूह’ र ‘बालेन समूह’ भनेर अनौपचारिक रूपमा ध्रुवीकरण देखिए पनि निर्वाचन परिणामले संस्थापन पक्षलाई नै बलियो बनाएको छ। कतिपय स्थानमा समूहगत पहिचानकै आधारमा प्रचार भए पनि चुनावी प्रतिस्पर्धामा त्यस्ता उम्मेदवार पराजित भएका छन्।

नुवाकोट, रसुवा, काभ्रे, सुनसरी, मोरङ लगायतका जिल्लामा तदर्थ समितिमा रहेकाहरू नै पुनः नेतृत्वमा निर्वाचित भएका छन्। झापामा ओमनाथ भण्डारी जिल्ला सभापति बनेका छन् भने धादिङमा बागमती प्रदेश सदस्य राजन अर्यालले तदर्थ सभापति सूर्यमणि पाठकलाई पराजित गर्दै नेतृत्व हात पारेका छन्।

रास्वपाका संगठन विभाग उपप्रमुख बोधनारायण श्रेष्ठका अनुसार डोल्पा, हुम्ला, मनाङ र मुस्ताङ बाहेक अधिकांश जिल्लाको अधिवेशन जेठ २६ गतेभित्र सम्पन्न हुनेछ। उनका अनुसार निर्वाचन भएका जिल्लामा समायोजनबाट आएका सबै पक्षले नेतृत्व नपाएको हुन सक्छ, तर प्रतिस्पर्धा खुला र लोकतान्त्रिक प्रक्रियाबाट भएको दाबी गरिएको छ।

पार्टी नेतृत्वले जिल्ला अधिवेशनमा प्यानल बनाएर चुनाव लड्न रोक लगाएको थियो। ‘रवि पक्ष’ वा ‘बालेन पक्ष’ भन्दै गुटगत प्रचार हुन थालेपछि केन्द्रले त्यसलाई निरुत्साहित गर्ने निर्देशनसमेत दिएको थियो। नेतृत्वका अनुसार व्यक्तिगत रूपमा उम्मेदवारी दिन पाइने व्यवस्था भए पनि समूहगत प्रतिस्पर्धालाई प्रोत्साहन गरिएको थिएन।

यद्यपि केही जिल्लामा नयाँ र पुराना नेताबीच प्रतिस्पर्धा देखिएको थियो। कतिपय स्थानमा नयाँ अनुहारहरू नेतृत्वमा पुगेका छन् भने केही स्थानमा पुरानै नेतृत्वले निरन्तरता पाएको छ। पार्टीका नेताहरू यसलाई कार्यकर्ताको स्वतन्त्र रोजाइको परिणामका रूपमा व्याख्या गर्छन्।

अधिवेशनको नतिजाले पार्टीभित्र नयाँ पुस्ता र नयाँ शैलीको नेतृत्वप्रति आकर्षण बढेको संकेत दिएको नेताहरूको बुझाइ छ। परम्परागत राजनीतिक अभ्यासभन्दा फरक ढंगले संगठन सञ्चालन गर्नुपर्ने दबाब जिल्ला तहबाट आएको उनीहरूको विश्लेषण छ।

रास्वपाले आगामी असार ७ देखि ९ गतेसम्म एकताको प्रथम महाधिवेशन आयोजना गर्दैछ। महाधिवेशनमा करिब ३ हजार प्रतिनिधिको सहभागिता रहनेछ। सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह र उपसभापति स्वर्णिम वाग्लेले नेतृत्वमा निरन्तरता पाउने समझदारी बनेको चर्चा पार्टीभित्र छ।

पार्टीभित्र अझै पनि रवि लामिछानेप्रति उच्च अपेक्षा र भरोसा रहेको नेताहरू बताउँछन्। सरकार वा संगठनमा समस्या देखिए पनि त्यसलाई सुधार गर्ने क्षमता लामिछानेमा रहेको विश्वास तल्लो तहका कार्यकर्तामा बलियो देखिएको उनीहरूको भनाइ छ। जिल्ला अधिवेशनका नतिजाले पनि संस्थापन नेतृत्वप्रतिको यही विश्वासलाई प्रतिबिम्बित गरेको विश्लेषण गरिएको छ।

सम्बन्धित समाचार