काठमाडौं । बलियो भनिएको सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच दूरी बढ्दै गएको संकेत देखिन थालेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले पार्टीभित्र नेतृत्व तहमा मतभेद देखिएको संकेत गर्दै देश जोगाउने र पार्टी जोगाउने विषय फरक रहेको टिप्पणी गरेका छन्।
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाउने सरकारको निर्णयबारे पार्टी सभापति रवि लामिछानेले प्रश्न उठाएपछि प्रधानमन्त्री शाहले बिहीबार राति सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्।
लामिछानेले सरकारले आईजीपी परिवर्तन गर्नुको औचित्य पुष्टि गर्नुपर्ने बताएका थिए। पार्टीले सरकारका सबै निर्णयमा समर्थन गर्नैपर्ने बाध्यता नरहेको र आवश्यक परे फरक धारणा राख्ने उनको भनाइ थियो।
यसअघि रास्वपाका प्रवक्ता जगदीश खरेलसहितका नेताहरूले पनि आईजीपी परिवर्तनको निर्णय पार्टीसँग छलफल नगरी गरिएको बताएका थिए। यसले सरकार र पार्टी नेतृत्वबीच निर्णय प्रक्रियालाई लिएर असमझदारी रहेको संकेत गरेको छ।
पार्टीभित्रबाटै सरकारको निर्णयमाथि प्रश्न उठेपछि प्रधानमन्त्री शाहले आफू नेतृत्वको सरकार देशको हित र संरक्षणमा केन्द्रित रहेको बताएका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्, हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन्। फरक यति हो ! देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ।’
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई सरकार र पार्टी नेतृत्वबीच बढ्दो असमझदारी तथा फरक प्राथमिकताको संकेतका रूपमा हेरिएको छ।