free website hit counter

रिलायन्स स्पिनिङ मिलको आईपीओसम्वन्धी मुद्दा तामेलीमा

beemaadmin
२०८१ भाद्र १, शनिबार

काठमाडौं । रिलायन्स स्पिनिङ मिलको आईपीओसम्वन्धी मुद्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले तामेलीमा राखेको छ । शुक्रबार नेपाल धितोपत्र बोर्डलाई पत्र काट्दै सीआईबीले उक्त मुद्दा तामेलीमा राखेको जानकारी दिएको हो । बुकबिल्डिङ प्रणालीमार्फत पहिलो पटक सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको रिलाइन्सले कमजोर वित्तीय स्थिति हुँदाहुँदै महँगोमा शेयर बेच्न लागेको भन्दै सीआईबीमा उजुर परेको थियो । सय रुपियाँ अंकित शेयर मूल्यमा थप ७२० रुपियाँ ८० पैसा प्रिमियम थप गरेर कम्पनीले प्रतिकित्ता ८२० रुपियाँ ८० पैसामा शेयर निष्कासन गर्न लागेको थियो । उक्त मूल्य कसरी निर्धारण गरिएको हो ? र कमजोर वित्तीय स्थिति हुँदाहुँदै किन महँगोमा शेयर निष्कासन गर्न लागिएको हो ? भन्दै सीआईबीले नियामक धितोपत्र बोर्डलाई प्रश्न सोधेको थियो । उक्त प्रश्नको प्रतिउत्तरमा धितोपत्र बोर्डले साउन २४ गते सीआईबीलाई ४८ पृष्ठ लामो जवाफ पठाएको थियो । कम्पनीलाई बुक विल्डिङ प्रणालीबाट आईपीओ जारी गर्न दिएको अनुमति र कम्पनीको वित्तीय रिपोर्टमा कुनै कैफियत नभएको भन्दै धितोपत्र बोर्डले कम्पनीमाथि थप अनुसन्धान समेत गर्न आवश्यक नरहेको लिखित जवाफ सीआईबीलाई पठाएको थियो । रिलायन्सको वित्तीय विवरण बदनियतपूर्वक भएको नभेटिएकोले थप अनुसन्धान आवश्यक नपर्ने उल्लेख धितोपत्र बोर्डले सीआईबीलाई लेखेको उक्त पत्रमा उल्लेख थियो । ‘धितोपत्र सम्बन्धी ऐन २०६३ र सो अन्तर्गत बनेको धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३, धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ र बुक बिल्डिङ निर्देशिका २०७७ अनुसार नै मूल्य निर्धारण गरिएको र कम्पनीको वित्तीय विवरण प्रमाणित गर्ने एसएआर एसोसीएट्सले रिलायन्सको २०८०/८१ को प्रथम त्रैमासको प्रतिशेयर आम्दानी ०।९६ पैसा र २०८०/८१ कोप्रति शेयर आम्दानी ३२ रुपियाँ ९० पैसा प्रक्षेपण गरेको र सो प्रक्षेपणमा धितोपत्र बोर्डमा पटक पटक अध्ययन अनुसन्धान भएको विषयलाई आधार मान्दा उक्त कम्पनीको वित्तीय प्रक्षेपण असम्भव वा बदनियतपूर्ण गरेको भन्न सकिने अवस्था नदेखिँदा धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९७ बमोजिमको कसुर गरेको भन्न सकिने अवस्था नदेखिएको र वित्तीय विवरणमा कुनै पनि किसिमको कसुर नभएकाले सीआईबिले थप अनुसन्धान गरिरहन आवश्यक समेत देखिँदैन,’ धितोपत्र बोर्डले सीआईबीलाई लेखेको पत्रको निष्कर्षमा भनिएको छ । धितोपत्र बोर्डबाट यस खालको जवाफ पाएसँगै सीआईबीले साउन ३२ गते शुक्रबार पत्र लेख्दै उक्त मुद्दा तामेलीमा राखेको बोर्डलाई जानकारी दिएको हो । बोर्डबाट कम्पनीमाथि थप अनुसन्धान गर्न नपर्ने उल्लेख गरेकाले उक्त मुद्दालाई तामेलीमा राखिएको सिआईबीले जनाकारी दिएको छ ।

सम्बन्धित समाचार