free website hit counter

रोकिएका बीवाईडी धमाधम फुकुवा

beemaadmin
२०८३ असार २, मंगलवार

काठमाडाै‌ ।  प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयबीचको मतभेदका कारण दुई सातादेखि सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका बीवाईडी कम्पनीका विद्युतीय सवारीसाधन अन्ततः फुकुवा गरिएका छन्।

सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गुल्म, जोमसोमका अनुसार जोमसोम र कोरलानाकामा रोकिएका सवारीसाधन आइतबार साँझदेखि सम्बन्धित पक्षलाई जिम्मा लगाउन थालिएको हो।

उत्तरी कोरलानाका हुँदै गत जेठको दोस्रो र तेस्रो साता नेपाल भित्रिएका बीवाईडीका ७७५ विद्युतीय सवारीमध्ये ६४९ वटा सवारीको मुस्ताङ भन्सार कार्यालयले जाँचपास गरिसकेको थियो। यद्यपि आयात प्रक्रियामा अनियमितता हुनसक्ने आशंकामा सशस्त्र प्रहरीले ती सवारी नियन्त्रणमा लिएको थियो।

विवाद समाधानका लागि अर्थ मन्त्रालयले भन्सार विभागअन्तर्गत तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले कास्की, पर्वत, जोमसोम र कोरलानाकामा पुगेर स्थलगत अध्ययन तथा निरीक्षण गरेको थियो। छानबिनपछि सार्वजनिक प्रतिवेदनले आयात प्रक्रियामा कुनै कैफियत नभेटिएको निष्कर्ष निकालेको छ।

यसअघि सशस्त्र प्रहरीले कास्कीको हेमजामा ९८, पर्वतको कुश्मामा १७, जोमसोम क्षेत्रमा २६६ र कोरलानाकामा ३९४ वटा विद्युतीय सवारी नियन्त्रणमा राखेको थियो।

सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीका अनुसार नियन्त्रणमा रहेका सवारीमध्ये अधिकांशलाई गन्तव्यतर्फ पठाइसकिएको छ। जोमसोम बसपार्कमा राखिएका २६६ सवारीमध्ये २२३ वटा आइतबार र सोमबार पठाइएको तथा ४३ वटा मात्रै बाँकी रहेको उनले जानकारी दिए।

भन्सार प्रक्रिया पूरा नभएका सवारीको आवश्यक प्रक्रिया सम्पन्न गरी क्रमशः गन्तव्यतर्फ पठाउने काम भइरहेको बताइएको छ।

सम्बन्धित समाचार