free website hit counter

लकडाउन, ऋतुचर्या र पथ्य – अपथ्य

beemaadmin
२०७७ बैशाख १८, बिहीबार

छिमेकी राष्ट्र चीनको हुवेइ प्रान्त को वुहान शहरबाट फैलिएको SARS –CoV-2 भन्ने भाईरसबाट हुने कोभिड १९ (COVID 19)  को विश्व व्यापी महामारीको कारणले भाईरसको संक्रमण चेन तोड्न हाम्रो देशमा गत चैत्र ९ गतेदेखि बन्दाबन्दी वा लकडाउनको अवस्था रहेकोछ र हामी सबै समाजिक दूरी कायम गर्दै आ आफ्नो परिवारसंग आ आफ्नो घरमा रही समय व्यतीत गरिरहेको अवस्था छ ।

लकडाउनको यो अवस्था अझ लम्बिने स्थिति देखिएको छ । यस्तो अवस्थामा हाम्रो खानपान र दिनचर्या मा उचित ध्यान पुरयाउन सकिएन भने  अन्य ऋतुजन्य समस्याहरु जस्तै रुघाखोकि, झाडापखालाको साथै अति भोजनले अजीर्ण, आध्मान तथा अन्य  मेटाबोलिक डिसअर्डरहरुले हुने व्याधिहरु हुन सक्दछ साथै रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउन सक्दछ । तसर्थ विश्व व्यापी महामारीको यो अवस्थामा हामीले आफुलाई स्वस्थ्य बनाई राख्न तथा रोग प्रतिरोधात्मक क्षमता बढाउन ऋतु अनुसारको दिनचर्या पालन गर्न आवश्यक हुन्छ ।

आयुर्वेद र्सहिताहरुमा दिनचर्या,रात्रिचर्या, ऋतुचर्या आदिको विस्तृत वर्णन गरिएको पाइन्छ । दिनचर्या,रात्रिचर्या, ऋतुचर्याको उचित परिपालनले वात, पित्त, कफ दोषहरुलाई, रसरक्तादि धातु, मलमूत्रादिलाई सम्यक् अवस्थामा राखि हामिलाई स्वस्थ्य बनाई राख्दछ । महामारी जसलाई आयुर्वेदको भाषामा जनपदोध्वंस भनिन्छ, यस्तो अवस्थामा दिनचर्या,रात्रिचर्या, ऋतुचर्या को उचित परिपालन तथा पथ्य आहार विहारको सेवन र अपथ्य आहार विहारको परित्याग अवश्यम्भावी हुन्छ । दिनचर्या भन्नाले विहान सवेरै उठेदेखि रातिहुन्जेल सम्म गरिने आहार, विहार, व्यायाम आदिलाई बुझिन्छ । त्यसै गरि रात्रिचर्यामा साँझ परेदेखि राति सुत्ने समयसमेतलाई बुझाउछ । ऋतुचर्या भन्नाले ऋतु अनुसार गरिने आहार, विहार आदिलाई बुझाउछ ।

आयुर्वेद मतानुसार अहिले वसन्त ऋतु चल्दैछ, यस पछि अर्थात जेठ असारलाई ग्रीष्म ऋतु मानिन्छ । यस लेखमा लकडाउनमा पालन गर्नुपर्ने दिनचर्या, रात्रिचर्या र पथ्य, अपथ्य तथा वसन्त ऋतुचर्याको छोटकरी वर्णन गर्न खोजिएको छ ।

 

वसन्त ऋतुचर्या

चैत्र र वैशाखको महिना वसन्त ऋतु हो । यस ऋतुमा कफ दोषको स्वाभाविक प्रकोप हुन्छ तसर्थ यस ऋतुमा कफ शामक आहार विहार सेवन गर्नुपर्दछ । अग्नि मन्द हुन्छ अर्थात पाचन शक्ति कमजोर हुन्छ । तसर्थ अतिमात्रामा भोजन, गरिष्ट भोजन उपयुक्त हुदैन, हल्का सुपाच्य भोजन गर्नुपर्दछ ।

पथ्य आहार : लघु तथा सुपाच्य भोजन, पुरानो रक्तशाली चामल, जौ, गहु, मंूगको दाल, गहत,  तिक्त, कटु, कषाय रसयुक्त साग, सब्जी जस्तै, परवल, बेथे, करेला, मूला, आदि । उष्ण जल सेवन गर्न‘पर्दछ ।, महलाइ आहारमा अनिवार्य शामेल गर्नु राम्रो हुन्छ । शशक (खरायो), एण (हरिण) तितिरको मांस,।

अपथ्य आहार : शीत (चिसो), गुरु (भारी वा ढिलो पाचन हुने), स्निग्ध (चिल्लो), अमिलो, गुलियो सेवन गर्न‘हुदैन । नयाँ अन्न, दही, चिसो पेयपदार्थ आदि अपथ्य हुन्छ ।

पथ्य विहार :  व्यायाम। उष्ण जलले स्नान, उद्वर्तन वा उबटन, (Gargle),  धूम, अञ्जन (Collyrium), नस्य, वमन आदि । चन्दन, केशर, अगरुको लेप लगाउने ।

अपथ्य विहार : दिवा स्वपन – दिउँसो सुत्नु ।

 

लकडाउनमा स्वस्थ्य रहन तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने दिनचर्या

समान्यतः एक समान्य वयस्क पुरुषलाई २००० देखि ३००० क्यालोरी र महिलालाई १६०० देखि २४०० क्यालोरी दैनिक रुपमा आवश्यक हुन्छ । अहिले लकडाउनको अवस्थामा शारिरिक रुपले सक्रियता कम भएको अवस्थामा अति भोजन वा बढि क्यालोरी सेवनले व्यक्तिलाई फाइदा भन्दा बेफाइदा बढि हुन्छ तसर्थ नियमित रुपमा उचित आहार विहार र व्यायामको आवश्यकता हुन्छ ।  व्यक्तिलाई लकडाउनमा स्वस्थ्य रहन तथा रोग प्रतिरोधात्मक क्षमता बढाउन निम्न अनुसारको दिनचर्या पालन गर्न‘ राम्रो हुन्छ ।

 

दिनचर्या :

विहान : जहिले पनि सकभर ब्रम्ह मुहुर्तमा (विहान ४ बजे देखि ५ बजे भित्र) , नसके कमसे कम सुर्य उदय हुनु भन्दा ४५ मिनट पहिले उठ्ने, त्यसपछि नित्य कर्म गर्ने ।

  • त्यस पछि एक चिम्टि नून र एक चिम्टि बेसार १ ग्लास मनतातो पानीमा हालेर कुल्ला गर्ने ।
  • १ ठूलो चम्चा खाने तेल मुखमा राखेर मुख भरि हल्लाउने र मुखमा कमसे कम ५ मिनट राख्ने र पछि फाल्ने, त्यस पछि मनतातो पानीले कुल्ला गर्ने ।
  • नाकको दुवै प्वालमा दुई दुई थोपा तोरी वा तिलको तेल हाल्ने
  • विहान ७ बजे देखि ९ बजे सम्मको घाम ताप्ने ।

 

तपसील बमोजिमको प्रयाणाम र योगासन कम्तिमा ४५ मिनट गर्ने

  • अनुलोम विलोम
  • कपालभाँति
  • भ्रामरी
  • भस्त्रिका
  • ध्यान
  • पदमासन
  • गोमुखासन
  • ताडासन
  • भुजंगासन
  • मत्स्यासन
  • धनुरासन
  • उष्ट्रासन
  • सुर्य नमस्कार आदि

 

स्नान

मनतातो पानीले नभए समान्य तापक्रमको पानीले नियमित स्नान गर्ने । भोजन लगतै स्नान गर्न हुदैन ।

 

आहार

– विहान खाली पेटमा १ चम्चा च्यवनप्राश मनतातो पानी संग

– ४/५ वटा तुलसीको पात, २ सलाईस अदुवा, २ दाना मरिच, १ वटा अलैची, एउटा सानो टुक्रा दालचिनि, ३ दाना कालो किसमिस हालेर पकाएको चियामा कागतीको रस निचोरेर वा रेडिमेड तुलसी चिया वा गुडुची चिया वा बुढि औला आकारको लगभग १.५ इन्च गुर्जो ( लगभग १०ग्राम) थिचेर लगभग १ ग्लास पानीमा उमालेर आधा पारी चिया जस्तै खाने ।

– सुन्तला, अंगूर, अमला आदि साइट्रस (Citrus fruits) फलफूल

–  ड्राइ फुट्स

–  खानामा हल्का सुपाच्य सात्विक आहार : रातो शालीको चामल, मंगको दाल, मौसमी तरकारी र सागसब्जी, पुदिना, टिमूर हालेको चटनी ।

–  मनतातो पानी पटक पटक प्रयोग ।

–  फ्रिजमा हालेको खानेकुरा सकभर नखाने ।

–  खाना लगतै टन्न पानी नखाने, खाना खाएको ४५ मिनट पछि पानी खाने ।

–  खाना खाएपछि सकभर १० मिनट बज्रासनमा बस्ने ।

–  बढि फ्राइ गरेको, तेल हालेको, बढि पिरो, अमिलो, आदि नखाने ।

–  खानामा लसून, अदुवा, धनिया, जिराको मसला प्रयोग गर्ने ।

–  दिउँसो नसुत्ने

–  दिउँसो रचनात्मक क्रियाकलापमा समय व्यतीत गर्ने ।

–  सन्ध्याकालमा नाचगान गर्ने वा योगा र ध्यान गर्ने ।

 

रात्रिचर्या

–  रात्रिकाल मा हल्का भोजन गर्ने, राति ८ बजे भित्र खाना खाइसक्ने ।

–  रात्रीकालको भोजन पश्चात केहिबेर कोठामा वरिपरि घुम्ने र खाना खाएको २ घण्टा पछि मात्र सुत्ने ।

–  राति सुत्नु भन्दा अघि १ चम्चा बेसार हालेको मनतातो दूध खाने ।

–  १० मिनट Footbath – नून वा टंकण भस्म हालेका मनतातो पानीमा खुट्टा भिजाउने । त्यसपछि राम्ररी सफा कपडाले खुट्टा पुछ्ने ।

–  नाकको दुवै प्वालमा दुइ दुइ थोपा सरसो वा तिलको तेल हाल्ने ।

–  ७ देखि ८ घण्टा सुत्ने ।

माथि उल्लेखित दिनचर्या बाहेक यस विश्वव्यापी महामारी अवधिमा कोरोना संक्रमण फैलिन नदिन समाजिक दूरी वा व्यक्तिगत दूरी कायम राख्ने, मास्कको प्रयोग गर्ने, पटक पटक साबुन पानीले हात धुने वा गुणस्तरीय सेनिटाइजरको प्रयोग गर्ने, हातले मुख, आँखा, नाक, अनुहार नछुने, घर बाहिर निस्कीन परे गग्ल्स, मास्क, पञ्जा, टोपीको प्रयोग गर्ने  गर्नुपर्छ ।

(लेखक आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकु, काठमाण्डौंमा कार्यरत हुनुहुन्छ)

सम्बन्धित समाचार