free website hit counter

लक्ष्मी सनराइज बैंकले साउन १४ देखि ३ अर्बको डिबेञ्चर निष्काशन गर्दै

beemaadmin
२०८३ श्रावण ५, मंगलवार

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले साउन १४ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको डिबेञ्चर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदर भएको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ जारी गर्न लागेको हो।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता डिबेञ्चर निष्काशन गर्नेछ। कुल निष्काशनमध्ये १८ लाख कित्ता (६० प्रतिशत) व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता (४० प्रतिशत) सर्वसाधारणका लागि खुला गरिनेछ। सर्वसाधारणतर्फ छुट्याइएकोमध्ये ६० हजार कित्ता अर्थात् ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

Advertisement
Advertisement

यस डिबेञ्चरमा लगानी गर्न इच्छुकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्नेछन्। बिक्री छिटोमा साउन १९ गते र पर्याप्त आवेदन नपरे ढिलोमा साउन २८ गतेसम्म खुला रहनेछ।

Advertisement
Advertisement

डिबेञ्चरको निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखाबाट, साथै सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

क्रेडिट रेटिङका लागि केयर रेटिङ्स नेपालले बैंकलाई ‘CARE-NP BBB+ (Issuer Rating)’ प्रदान गरेको छ। यो रेटिङले बैंक समयमै आफ्नो वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको सुरक्षा रहेको संकेत गर्छ।

डिबेञ्चरबाट प्राप्त हुने ब्याज प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक समाप्तिपछि प्रचलित कर कट्टा गरी लगानीकर्ताको खातामा भुक्तानी गरिने बैंकले जनाएको छ।

सम्बन्धित समाचार