free website hit counter

लगानी निर्देशिका बमोजिम सुरक्षित स्थानमा राम्रो प्रतिफल लिने गरी रकमको लगानी गरिरहेका छौं

beemaadmin
२०७७ फाल्गुन १३, बिहीबार

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल जीवन बीमा व्यवसायमा एउटा परिचित र प्रतिष्ठित नाम हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९ अर्ब ५६ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले खुद नाफा पनि ५०.५३ प्रतिशतले बढाएर ११ करोड ५६ लाख पुर्याएको छ । चुक्ता पूँजी २ अर्ब १ करोड रुपियाँ रहेको ०७५–७६ को आम्दानीबाट घोषणा भए अनुसार १० प्रतिशत बोनस सेयर थपिन बाँकी छ भने कम्पनीको जगेडा कोषमा ६३ करोड ४० लाख रुपैया रहेको छ । यसैगरी जीवन बीमा कोषमा ७४ अर्ब २४ करोड ४९ लाख रहेको एलआईसी नेपालको महाविपत्ती कोषमा २३ करोड ६२ लाख रुपियाँ सञ्चित देखिन्छ । कुल ७ लाख ६ हजार ८७९ वटा बीमालेख बिक्री गरेको कम्पनीले ९ अर्ब ६१ करोड १७ लाख रुपियाँ कुल बीमाशुल्क आर्जन गरेको छ । इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपियाँ ५१ पैसा भने प्रतिशेयर नेटवर्थ १४३ रुपियाँ ३० पैसा रहेको छ । कुशल व्यवस्थापन र स्वस्थ प्रतिस्पर्धाका साथ अघि बढेको यस एलआइसी नेपालका कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दास (एलपी दास) सँग बीमा व्यवसायको विषयमा हामीले गरेको छोटो कुराकानी :

० नेपालमा सञ्चालित बीमा कम्पनीहरूले बीमा समितिको निर्देशिका अनुसार लगानी गरेको नपाइएकोले कडाइ गर्ने नीति लिने विषय चर्चामा आएको छ । त्यसलाई कसरी हेर्नु भएको छ ?
– एलआईसी नेपालमा लगानीसम्बन्धी केही समस्या छैन । बीमा समितिको लगानीसम्बन्धी निर्देशका बमोजिम सम्पूर्ण रकमहरू लगानी गरिएकोछ । बीमा समिति बीमा कम्पनीहरूको नियमन गर्ने संस्था भएकाले लगानी सन्दर्भमा कम्पनीमा गई सुपरिवेक्षण तथा अनुगमन गर्नु राम्रो काम हो । सर्वसाधारण बीमितहरूको रकम सही तरिकाबाट लगानी भएको छ÷छैन हेरिनु पर्दछ ।

० एलआईसीएनको हकमा लगानी बीमा समितिको निर्देशिका अनुसार नै छ ?
– शतप्रतिशत लगानी बीमा समितिको निर्देशिका बमोजिम गरेका छौं । कम्पनीमा लगानी समिति बनाएका छौं । समितिले बजारको अध्ययन गरी सुरक्षित स्थानमा उपलब्ध राम्रो प्रतिफल लिने गरी रकमको लगानी गरिरहेका छौं ।

० दुई बर्ष अघिको साधारण सभा बल्ल गर्दै हुनुहुन्छ । अधिल्लो बर्ष ०७६–७७ को कहिले ? जनताको साधारण सेयर तथा लाखौ बिमकहरूको चासोको विषय रहने कम्पनीको साधारण सभामा ढिलाइ हुनुको कारण ?
– सबै जीवन बीमा कम्पनीहरूमा यो समस्या देखिएको छ । वासलात निर्माणमा नयाँ पद्दति अवलम्ब्न गर्नु पर्ने तथा केही प्राविधिक पक्षहरूको ढिलाइबाट साधारणभा हुन ढिलो भएको हो । तथापि एलआईसी नेपालले हमेशा पारदर्शितालाई अबलम्बन गर्दै वार्षिक साधारणसभा चाँडो गर्ने प्रयास गरिरहन्छ ।

० सेयरको बजार मूल्यका हिसाबले कम्पनीले दिएको प्रतिफल निकै कम देखिन्छ । ०७५–७६ को १० प्रतिशत बोनस सेयर मात्र अब दिने प्रतिफल कस्तो रहला ?
– शेयरको बजार मूल्य खुल्ला बजारमा घटबढ भैरहन्छ । यस कम्पनीलाई आम नागरिकले मन पराएको भन्ने कुरा बजारमा यसको शेयर मूल्य उच्च रहनुबाट बुझ्न सकिन्छ । आम लगानीकर्ता र ग्राहकहरूले हामीप्रति गर्नुभएको विश्वासको लागि धन्यवाद भन्न चाहन्छु । बीमितहरूलाई हामीहरूले यस वर्ष पनि सर्वोत्कृष्ट बोनसदर दिइरहेका छौं भने शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर दिन सफल भएका छौं । भविष्यमा अझ उत्कृष्ट प्रतिफल दिने प्रयासमा छौं ।

Laxmi Prasad Das, CEO LIC Nepal (LP Das LIC Ceo)
Laxmi Prasad Das, CEO LIC Nepal (LP Das LIC Ceo)

० कोभिड–१९ को कारण यस क्षेत्रमा कस्तो प्रभाव पर्यो ?
– कोभिड १९ ले समग्र विश्व अर्थतन्त्रमा नकारात्मक असर गरेको छ । नेपालमा पनि वित्तीय क्षेत्रलाई असर पुर्याएको छ । तथापि, म र मेरो टिमले अवलम्बन गरेको उत्कृष्ट मार्केटिङ र कार्य सम्पादनबाट चालु आव ०७७÷७८ को दोस्रो त्रैमाससम्ममा प्रथम बीमा शुल्कको आर्जन र बीमालेख बिक्रीमा सकारात्मक वृद्धि हासिल गरेका छौं ।

० बीमा लेखा बिक्री, बीमा कोषको सही सञ्चालन, लगानी जस्ता कुरामा तपाईको कम्पनी अलि आक्रामक देखिदैन नि ?
– तपाईंको प्रश्नसँग म सहमत छैन । माथि मैले भनिसकेँ । चालु आवको छ महिनामा हाम्रो आम्दानी, बीमा शुल्क आर्जन र बीमालेख बिक्री सबै बढेर गएको छ । जहाँसम्म बीमाकोष र लगानीको कुरा छ हामीहरूले लगानी निर्देशका बमोजिम उत्कृष्ट तरिबाट सही लगानी गरिरहेका छौं ।

० नयाँ जीबन बीमा कम्पनीहरूको बजारमा आगमनले कम्पनीको व्यापारमा कस्तो प्रभाव पारेको छ ?
– एलआईसी नेपाललाई कुनै नकारात्मक असर छैन । सबै कम्पनीहरूले आ–आफ्नै तरिकाबाट व्यवसाय गरिरहेका छन् । हाम्रो मूल उद्देश्य ग्राहक सेवा र बीमितहरूलाई उच्चतम प्रतिफल दिनु हो । यो दुर्व कार्यमा हामीहरू सफल कम्पनीको रुपमा स्थापित भैसकेका छौं । नयाँ जीवन बीमा कम्पनीहरूको स्थापनाले समग्र जीवन बीमा व्यवासयाको वृद्धि र सचेतना सकारात्मक कार्य भएको महसुस गरेको छु ।

० तपाईको कम्पनीले पनि सेयरको अंकित मूल्य टुक्राउने कुनै प्रस्ताव लादै छ ?
– एलआईसी नेपालको सञ्चालक समितिले अहिलेसम्म शेयरको अंकित मूल्य टुक्य्राउने कुनै प्रस्ताव गरेको छैन ।

० बीमाको बजार निकै बढ्दो अवस्थामा देखिन्छ । तर कम्पनीको चुक्ता पुँजी अझै निकै कम छ नि ?
– एलआईसी नेपाल राष्ट्रको ऐन, कानुनलाई अक्षरस पालना गर्ने कम्पनी हो । नेपाल सरकारले तोकेको चुक्ता पुँजी र २ अर्ब हो । हाम्रो कम्पनीको १८औं वार्षिक साधारणसभा यही फागुन २५ गते छ । उक्त वार्षिक साधारणसभापछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २१ करोड १० लाख पुग्दैछ । हामीहरू तोकिएको चुक्ता पुँजी कायम गर्न कहिल्यै पनि पछि पर्दैनौ ।

० नेपालको वर्तमान राजनीतिक अस्थिरता, कोभिडको प्रभावका माझ आगामी दिनहरूमा नेपालमा जीबन बीमाको बजार आगामी दिनमा कस्तो रहला ?
– म सकारात्मक सोचको मान्छे हुँ । कठिनाईको बीच पनि राम्रो परिणाम निकाल्नुपर्छ भन्ने मेरो धारणा रहन्छ । व्यवसायिक वातावरण राम्रो होस् भन्ने कामना गर्दछु । जस्तोसुकै परिस्थिति रहे पनि जीवन बीमाको आगामी दिनहरू राम्रो छै हुनेछ । स्वच्छ, पारदर्शी, सेवामुखी, राम्रो प्रतिफल प्रदान गर्ने, राम्रा योजनाहरू बजारमा ल्याउने कम्पनीहरू अगाडि आउनेछन् । जीवन बीमा कम्पनीहरूले तत्कालको फाइदा मात्र नहेरी दीर्घकालीन सोच र उद्देश्य राखेर काम गर्नु पर्दछ ।

० व्यवसाय विस्तारमा के कस्ता योजना बनाउनुभएको छ ?
– दक्ष कर्मचारी र अभिकर्ताहरू कम्पनीका मेरुदण्ड हुन् । उहाँहरूको दक्षता अभिवृद्धिको लागि नियमित प्रशिक्षणका कार्यहरू गरिरहेका छौं । मेचीदेखि महाकालीसम्मका मुख्य मुख्य स्थानहरूमा हाम्रा शाखाहरू रहेका छन् । जहाँबाट हाम्रा ग्राहकहरूले सजिलै सेवा सुविधा लिन सकिरहेका छन् । ग्राहक सेवाको लागि हामीहरूले सूचना प्रविधिको उच्चतम प्रयोग गरेका छौं । उत्कृष्ट बोनसदर प्रदान गरेर हाम्रा बीमितहरूलाई सन्तुष्ट बनाएका छौं ।

–  नुरराज कँडेल

सम्बन्धित समाचार