free website hit counter

लगानी बोर्डको सीईओका लागि तीन जनाको नाम सिफारिस

beemaadmin
२०८३ श्रावण १४, बिहीबार

काठमाडौं । लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको छ। अब मन्त्रिपरिषद्ले सिफारिसमा परेका उम्मेदवारमध्ये एक जनालाई बोर्डको नयाँ सीईओ नियुक्त गर्नेछ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा रहेको सिफारिस समितिले विकास अर्थशास्त्री याङ्की उक्याब, अर्थशास्त्री मनोज पौडेल र अर्थशास्त्री सुमनमानसिंह बस्नेतको नाम मन्त्रिपरिषद्मा पठाएको हो।

सिफारिस समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र प्रधानमन्त्रीका सुशासन सल्लाहकार सुदीप ढकाल सदस्य रहेका छन्।

सिफारिसमा परेकी याङ्की उक्याबले यसअघि लगानी बोर्डमा परामर्शदाताका रूपमा काम गरेकी थिइन्। मनोज पौडेल पूर्व लगानी बोर्डका अर्थशास्त्री हुन्। उनले लन्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। उनी नेपाल उद्योग वाणिज्य महासंघको अघिल्लो कार्यसमितिमा एसोसिएटतर्फ केन्द्रीय सदस्यसमेत रहेका थिए। सुमनमानसिंह बस्नेत पनि अर्थशास्त्र क्षेत्रका विज्ञका रूपमा परिचित छन्।

सिफारिस समितिले जेठ २९ गते आवेदन आह्वान गरेको थियो। आवेदन दिने म्याद असार १८ गतेसम्म थप गरिएको थियो। आवेदन परेका आठ जनामध्ये छनोटमा परेका उम्मेदवारहरूको साउन ७ र ८ गते प्रस्तुति तथा अन्तर्वार्ता लिइएको थियो।

कानुनअनुसार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल चार वर्षको हुने व्यवस्था छ। बोर्डको अध्यक्ष प्रधानमन्त्री र उपाध्यक्ष अर्थमन्त्री रहनेछन् भने प्रमुख कार्यकारी अधिकृतले सदस्य–सचिवको जिम्मेवारीसमेत निर्वाह गर्ने व्यवस्था रहेको छ।

यसअघि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका रूपमा राधेश पन्त, महाप्रसाद अधिकारी, सुशील भट्ट र सुशील ज्ञवालीले जिम्मेवारी सम्हालिसकेका छन्।

सम्बन्धित समाचार