काठमाडौं । लघुवित्त संस्थाका सञ्चालक समितिका अध्यक्षहरु एकजुट भएका छन् । सञ्चालनमा रहेका सबै लघुवित्त संस्थाका अध्यक्षहरु संलग्न रहेको नेपाल लघुवित्त संघ नेपालको औपचारिक रुपमा सार्वजनिक भएको छ । नवगठित संस्थाले तदर्थ कार्यसमिति समेत घोषणा गरेको छ । उक्त समतिमा चौतारी लघुवित्त वित्तीय संस्थाका जगतबहादुर पोखरेल अध्यक्ष छन् । त्यस्तै, ग्रामीण लघुवित्तका माणिकरत्न शाक्य र फरवार्ड लघुवित्तका भगवती चौधरी उपाध्यक्ष, जनउत्थान लघुवित्तका बाबुराम विश्वकर्मा महासचिव, सूर्योदय लघुवित्तका अनन्तकुमार श्रेष्ठ सचिव, आँधिखोला लघुवित्तमा नरेश केसी कोषाध्यक्ष तथा वोमी माइक्रोफाइनान्सकी विमला उपाध्याय घिमिरे, अभियान लघुवित्तका बाबुराम थापा र सुपर लघुवित्तका किरण चौधरी सदस्य तोकिएका छन् । गत पुसमा नै सबै संस्थाका अध्यक्षहरुको काठमाडौँमा भेला भएको थियो ।
त्यो भेलाले कालान्तरमा यो संस्थालाई लघुवित्त महासंघको रुपमा रुपान्तरण गर्ने उद्देश्यसहित लघुवित्त बैंकर्स संघ स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार शुक्रबार उक्त तदर्थ समितिको घोषणा गरिएको अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए । अहिले देशभर ९० ओटा लघुवित्त संस्था अस्तित्वमा छन् । ती संस्थाहरुले देशका ७७ वटै जिल्लामा कार्यक्षेत्र विस्तार गरिसकेका छन् । ती संस्थाहरुको कुल ३ हजार ८ सय ६१ शाखा, २ लाख ९८ हजार ३ सय ५९ ओटा सेवा केन्द्र, तथा १ लाख ५ हजार ५ सय ३८ ओठा समूह रहेका छन् ।
त्यस्तै, यो क्षेत्रमा १८ हजार ८ सय ८५ जना कर्मचारी, ४५ लाख ७९ हजार ८ सय १५ जना सदस्य रहेकोमा २८ लाख ५ हजार ८ सय १५ जनाले यी संस्थाबाट ऋण लिएको जनाइएको छ । पुस मसान्तसम्म ९० ओटा संस्थाको कुल पुँजीकोष ३२ अर्ब ५९ करोड, कुल कर्जा प्रवाह २ खर्ब ५६ अर्ब ३१ करोड रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । म्यान जस्तै यसअघि वाणिज्य बैंकका अध्यक्षहरुको समेत छुट्टै संस्था खुलिसकेको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नामक उक्त संस्थामा एनएमबी बैंकका पवनकुमार गोल्यान अध्यक्ष छन् ।