free website hit counter

लघुवित्तको सेयरमा देखिएको आकार्षण

beemaadmin
२०७६ पुष २७, आईतवार

नेपाली सेयर बजारमा लघुवित्तहरूको उपस्थिति बाक्लो नै छ । नेपाल स्टक एक्सचेन्जमा लघुवित्त उपसूचक हाल एक हजार ९६० को बिन्दू नजिक रहेको छ । बजारमा उछाल आउदाको बखत राम्रो कमाउने कम्पनीहरूमा लघुवित्त र बिमा कम्पनी नै परेको देखिएको छ । सङ्ख्यागत रुपमा नेप्सेमा थुप्रै लघुवित्तको उपस्थिति भए तापनि धेरै सेयर खरिद गर्नेका लागि सेयर उपलब्ध हुन नै गाह्राे हुने गर्दछ । चुक्ता पुँजी थोरै र सर्वसाधारणमा निकै कम परिणाममा सेयर वितरित भएका कारण भाउ उच्च हुँदाको अवस्थामा पनि कारोबार भने खासै धेरै हुन सक्दैन । वर्तमान सेयर बजारको बढोत्तरी पनि बजारमा सेयरको कारोबार सङख्यागत रुपमा कम हुने समूहको रहेको कारण खासै उत्साहित खालको छैन । धेरै सेयर सङ्ख्या भएको बैंकिङ्ग समूह र जलविद्युत समूहको सेयर उकालो नलागेसम्म बजारमा ठूलो बढोत्तरी हुने सम्भावना कमै देखिए तापनि हाल बजारको समग्र सूचकाङ्क नै उकालो लागेको कारण उत्साह थपिएको छ ।

नेपाली सेयर बजारमा साना लगानीकर्ता माझ लघुवित्तको सेयरको आकर्षण विद्यमान नै छ । विशेषगरी साना लगानीकर्ताको हितलाई ध्यानमा राखेर प्राथमिक सेयर निष्कासनमा ल्याइएको नीतिले लघुवित्तको प्राथमिक सेयर आउने वित्तीकै त्यसमा धेरै लगानीकर्ताको विशेष आकर्षण रही आएको देखिएको छ । दश कित्ता सेयर मात्र पर्दा पनि उच्च मूल्यमा दोस्रो बजारमा विक्री हुने भएकोले पनि लघुवित्तको आकर्षण रहिआएको हो । त्यसैको माध्यमबाट धेरै लगानीकर्ताले कैयन पटक नाफा लिन सफल भएको देखिएको छ । तर जब दोस्रो बजारमा लघुवित्तको सेयरको कारोबारको कुरा आउँछ त्यसमा भने झण्डै ४२ महिनादेखि लगातार ओरालो लागेको नेपाली सेयर बजारमा लघुवित्तको सेयर मूल्यमा पनि उच्च गिरावट आउनु स्वभाविक नै हो ।

सानो चुक्ता पुँजीको सेयर हुनुले कुनै लघुवित्तको सेयर सिमित व्यक्ति तथा समूहसँग उल्लेख्य मात्रामा हुँदा त्यस्ताले बजारमा चलखेल गर्न सक्ने सम्भावना सधै नै रहिरहन्छ । वर्तमान अवस्थासम्म आइपुग्दा दोस्रो बजारमा महङ्गोमा लघुवित्तको सेयर खरिद गर्नेले भने गुमाएकै अवस्था छ । हालका दिनहरूमा लघुवित्तको कारोबारमा केही आकर्षण देखिएको छ भने सस्तोमा केही समय अघि खरिद गरेको सेयरले भने छोटो समयका लागि ट्रेडिङ्ग गर्नेका लागि भने नाफा दिएकै देखिन्छ । आगामी दिनमा नेपाल सरकारको नीति अनुरुप नेपाल राष्ट्र बैंकले पनि लघुवित्तहरूको संख्या घटाउने नीति अबलम्ब गरिसकेको छ ।

यस्तो परिस्थितिमा आफूले खरिद गरेको लघुवित्त अन्य कुनसँग मर्जरमा जानसक्न भन्ने कुराको आकलन र त्यसले पार्न सक्ने प्रभावको समेत मूल्याङ्कन गरेर खरिद गर्नुपर्ने देखिन्छ । लुघुवित्तको क्षेत्रमा देखिएको वर्तमान चुनौतिहरूको विषयमा हेर्दा कारोबार बढेको तुलनामा पुँजी बढाउँन हकप्रद जारि गर्न नपाउने र दीर्घकालिन निक्षेप संकलनमा समेत नियमन भएको विषयले समस्या निम्त्याएको छ । जसले गर्दा लघुवित्तहरूले बैंक वित्तीय सस्थाहरूबाट चर्को ब्याजदरमा ऋण लिएर काम गर्नु पर्ने अवस्था छ जसले नाफामा प्रभाव पार्न सक्छ अनि त्यसले सेयर लगानीकर्ताले पाउने प्रतिफल पनि प्रभावित हुनसक्छ ।

नेपालमा हाल सञ्चालित कतिपय लघुवित्तहरू जनताको लामो समयका लागि लिएको दीर्घकालिन निक्षेपको दायित्व वहन गर्न सक्षम नभएको भन्ने तर्कका साथ रकम संकलनमा रोक भए पश्चात् लगानीको स्रोतको अभावका कारण लघुवित्तहरू व्यवसाय विस्तार गर्न सक्ने परिस्थितिमा देखिदैनन यस्तो अवस्थामा सस्थालाई बलियो बनाउने मर्जर राम्रो विकल्प भने हुनसक्छ । नेपाल सरकार र राष्ट्र बैंकले पनि यही चाहेको देखिएको छ ।

सेयर बजारमा लुघवित्तले हालसम्म वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र सहकारी समेत पुग्न नसकेको मुलुकका दुर्गम क्षेत्रहरूमा समेत पुगेर वित्तीय पहुँच पुर्याएर योगदान दिदै राम्रो कमाइ गरेर लगानीकर्तालाई उचित प्रतिफल दिएकै छ । सेयर बजारमा उच्च मूल्यमा लघुवित्तको सेयर खरिद गरेर आफूले लगानी गरेको अनुपातमा प्रतिफल आएन भन्ने कुराको भने कुनै तुक देखिदैन । लघुवित्तको क्षेत्रमा देखिएको अर्को महत्वपूर्ण चुनौति भनेको ’मल्टीपल बरोअर नै हो । एकै व्यक्ति वा समूहले थुप्रै लघुवित्तबाट कर्जा लिने गरेको समस्यामा देखिएको छ । कर्जा सूचनाको बारेमा आधुनिक र प्रभावकारी कदम चाल्न सफल नभएका कारण पनि यस समस्यालाई रोक्न गाह्राे परेको देखिन्छ ।

कुनै व्यक्तिले ऋण लिन चाहेमा नजीकमा सञ्चालिन सस्थाहरूसँगका सूचना लिएर दोहोरो नपरोस भन्ने हेरिन्छ जुन काँफी देखिदैन । त्यसका अतिरिक्त निकै लाभमा चलेको कुनै लघुवित्त एकाएक घाटामा जानसक्ने सम्भावना पनि रहन्छ किनकी कतिपय अवस्थामा विनाधितो नै हाल पाँच लाखसम्म ऋण दिने सस्था भनेको लघुवित्त हो । सेयर बजारमा सूचीकृत लघुवित्तहरूलाई पनि नेपालमा बलियो नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले नियमनमा कडाई गर्दै आएकोले भने लगानीकर्ता ढुक्क भएर लघुवित्तको सेयरमा लगानी गर्ने अवस्थामा छन् ।

हाल सेयर बजारमा राम्रो प्रतिफल दिन सफल लघुवित्तलाई सरकारले कसरी मुलुकको वित्तीय पहुँचमा सहभागी गर्न चाहेको हो भन्ने कुरा भने स्पस्ट देखिदैन । सानो लगानीको सस्था र सरकारी नीति अस्पस्ट हुँदा भने लघुवित्तको सेयरमा नाफा गरौला भनेर गरेको लगानी सरकारी नीतिमा आएको परिवर्तनको मारमा पर्न सक्ने खतरा विद्यमान नै देखिन्छ अनि लगानीबाट नाफा उच्च रुपमा हुने सम्भावना पनि छ । तसर्थ नेपाली सेयर बजारमा लघुवित्तमा हुने लगानी भनेको बढी जोखिम र बढी नाफाको लगानी भन्दा फरक नपर्ला ।

मुलुकका ७७ वटै जिल्लामा पुगिसकेो लघुवित्तको सञ्जाल सबै स्थानीय तहमा पनि पुग्ने अभियानमा रहेको छ । यस्तो अवस्थामा राम्ररी परखेर आर्थिक स्वास्थ्य, कारोबार, कर्जा वितरण र सम्भावित जोखिम, प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, खराब कर्जाको मात्रा, रिजर्भ आदि कुराहरूको राम्ररी अध्ययन गरेर लधुवित्तको सेयरमा लगानी गर्नु जरुरी हुन्छ ।

सरकारी आँकडा अनुसार मुलुकका अझै ४० प्रतिशत नागरीक वित्तीय पहुँच बाहिर रहेको अवस्था र गाउँ गाँउमा लघुवित्त पुग्ने अभियानलाई हेर्दा यस क्षेत्रमा सम्भावना अझै देखिन्छ तर कमाएको नाफा सेयर लगानीकर्तालाई दिने इमान्दारीता भएको सञ्चालक समूहको सेयर रोज्न भने नेपालको सन्दर्भमा अझै महत्वपूर्ण विषय हुने देखिन्छ ।

सम्बन्धित समाचार