free website hit counter

लघुवित्तहरुले कमाए ७ अर्ब भन्दा बढी नाफा

beemaadmin
२०८१ भाद्र १५, शनिबार

काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुको खुद नाफा ८७.३७ प्रतिशतले बढ्न पुगेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा अधिकांश लघुवित्तको मुनाफा उल्लेख्य वृद्धि भएको छ । गत आवको असार मसान्तसम्म समग्रमा लघुवित्त संस्थाहरुले ७ अर्ब ५९ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जुन यो अघिल्लो आवको तुलनामा ८७.३७ प्रतिशतले बढी हो । अघिल्लो आवमा लघुवित्त कम्पनीहरुको नाफा ४ अर्ब ५ करोड रुपैयाँ थियो । गत आवमा लघुवित्त संस्थाहरुको खराब कर्जा अनुपातमा सुधार देखिएसँगै संस्थाहरुले ब्याज आम्दानी सुधार गरी नाफा बढाएका हुन् । अघिल्लो आवमा १२ वटा संस्था घाटामा रहेकोमा गत आवमा भने ३ वटा संस्थाले मात्रै घाटा ब्यहारेका छन् । गत आवमा लघुवित्त संस्थाहरुको खुद नाफामा अस्वभाविक सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले दिएको कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको व्यवस्थाले लघुवित्त संस्थाहरुको नाफामा उल्लेख्य सुधार देखिएको लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले बताए । नेपाल राष्ट्र बैंकले ल्याएको उक्त व्यवस्थाका कारण लघुवित्त संस्थाहरुको कर्जा रिकभरी उल्लेख्य सुधार हुँदा औसत ब्याज आम्दानी बढ्न पुगेकाले नाफामा सुधार देखिएको यादवले बताए । गत आर्थिक वर्षमा सर्वाधिक नाफा कमाउने संस्थामा छिमके लघुवित्त रहेको छ । संस्थाले १ अर्ब ९ लाख रुपैयाँ नाफा कमाएको छ । तर संस्थाको यो नाफा अघिल्लो आवको तुलनामा ५.७४ प्रतिशतले कम हो । अघिल्लो आवमा संस्थाले १ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, दोस्रो बढी नाफा कमाउने संस्थामा साना किसान विकास लघुवित्त रहेको छ । संस्थाले असार मसान्तसम्म ९४ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा २२.७७ प्रतिशतले बढी हो । यता जीवन विकास लघुवित्तले पनि ५८ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरी तेस्रो धेरै नाफा कमाउने संस्था बन्न सफल भएको छ । संस्थाको यो नाफा ४३।६७ प्रतिशतले बढी हो । त्यस्तै, डिप्रोक्स लघुवित्तले ५८ करोढ १६ लाख, स्वाबलम्बल लघुवित्तले ५३ करोड ८२ लाख, निर्धन उत्थानले ५० करोड ६४ लाख, नेरुडेले ४४ करोड ७० लाख, नेशनल माइक्रोफाइनान्सले ३४ करोड ९ लाख, फरवार्ड माइक्रोफाइनान्सले ३२ करोड १३ लाख, मेरो माइक्रोफाइनान्सले २१ करोड ९५ लाख, फर्स्ट माइक्रोले १७ करोड ४२ लाख र ग्रामिण विकासले १४ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवमा सामुदायिक लघुवित्त, धौलागिरी लघुवित्त र एनएमबी लघुवित्तले भने नोक्सान ब्यहोरेका छन् ।

अघिल्लो आवको तुलनामा गत आवमा सर्वाधिक नाफा बढाउनेमा आशा लघुवित्त रहेको छ । संस्थाले ४०५००.६८ प्रतिशतले नाफा वृद्धि गरेको छ । अघिल्लो आवमा जम्मा १ लाख ४८ हजार रुपैयाँ मात्रै नाफा कमाएको संस्थाले गत आवमा ६ करोड रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, मातृभूमी लघुवित्तले पनि ३७३३.१६ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आवमा २९ लाख ९२ हजार रुपैयाँ नाफा कमाएको यो संस्थाले गत आवमा ११ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै, अभियान लघुवित्तले १७५५ प्रतिशत, गुराँस लुघवित्तले १४४९ प्रतिशत, सम्पदा लघुवित्तले ७३५ प्रतिशत, नेरुडे लघुवित्तले ६७२ प्रतिशत, इन्फिनिटी लघुवित्तले ६०१ प्रतिशत, महिला लघुवित्तले ५३१ प्रतिशत, मेरो माइक्रोले ३६२ प्रतिशत र डिप्रोक्स लघुवित्तले ३३१ प्रतिशतले नाफा बढाएका छन् । अघिल्लो आवको तुलनामा गत आवमा १० वटा संस्थाको नाफा घटेको छ । सर्वाधिक बिजय लघुवित्तको नाफा ७८।५६ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षमा २६ वटा संस्थाको खराब कर्जा अनुपात एनपीएल घट्न पुगेको छ । खराब कर्जाको अवस्था घट्दा संस्थाहरुको ब्याज आम्दानी बढेर नाफा बृद्धिमा टेवा पुगेको हो । अघिल्लो आवको तुलनामा सर्वाधिक खराब कर्जा घटाउनेमा नाडेप लघुवित्त रहेको छ । नाडेपले ९.२० प्रतिशतले खराब कर्जा घटाएको छ । अघिल्लो आवमा १७.४८ प्रतिशत रहेको संस्थाको खराब कर्जा अनुपात गत आवमा घटेर ८.२८ प्रतिशतमा कायम भएको छ । त्यस्तै, आरम्भ चौतारी लघुवित्तले ७.५१ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तले ६.९७ प्रतिशत, धौलागिरी लघुवित्तले ४.२२ प्रतिशत, मानुषी लघुवित्तले ३.४४ प्रतिशत, ग्रामिण विकासले ३.३० प्रतिशत, डिप्रोक्सले ३.२६ प्रतिशत, एनएमबीले ३.१९ प्रतिशत र शृजनशील लघुवित्तले ३.०४ प्रतिशतले एनपीएल घटाएका छन् । गत आवमा २३ वटा संस्थाको खराब कर्जा भने बढ्न पुगेको छ । सर्वाधिक समता घरेलु लघुवित्तको खराब कर्जा ५.९७ प्रतिशतले बढ्न पुगेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार