काठमाडौं– लघु निर्जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय व्यवसाय विस्तार गर्दै कुल १ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा चार वटा लघु निर्जीवन बीमकले ५ लाख ९७२ वटा बीमालेख जारी गर्दै उक्त परिमाणको कुल बीमाशुल्क संकलन गरेका हुन्।
व्यवसायका आधारमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले एक वर्षमा १ लाख ४३ हजार ६८१ वटा बीमालेख जारी गर्दै ३७ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षको २४ करोड ९३ लाख रुपैयाँको तुलनामा कम्पनीको व्यापार ५०.४६ प्रतिशतले बढेको हो।
दोस्रो स्थानमा रहेको नेपाल माइक्रो इन्स्योरेन्स ले १ लाख २० हजार २१३ वटा बीमालेख जारी गरी ३२ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको २६ करोड २८ लाख रुपैयाँको तुलनामा कम्पनीको व्यापार ३९.९० प्रतिशतले वृद्धि भएको छ।
स्टार माइक्रो इन्स्योरेन्स ले १ लाख ३९ हजार ७१ वटा बीमालेख जारी गर्दै ३१ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष २२ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीको व्यापार समीक्षा अवधिमा ४०.३४ प्रतिशतले बढेको छ।
त्यस्तै, ट्रस्ट माइक्रो इन्स्योरेन्स ले ९८ हजार ७ वटा बीमालेखमार्फत ३० करोड ७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षको २१ करोड २२ लाख रुपैयाँको तुलनामा कम्पनीको व्यापार पनि ४०.३४ प्रतिशतले वृद्धि भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
तथ्यांकअनुसार चारै लघु निर्जीवन बीमा कम्पनीले अघिल्लो वर्षको तुलनामा दोहोरो अंकको व्यवसाय वृद्धि हासिल गरेका छन्। ग्रामीण तथा निम्न आय भएका वर्गमा बीमा पहुँच विस्तारसँगै लघु निर्जीवन बीमा क्षेत्रको व्यापार निरन्तर बढ्दो क्रममा रहेको देखिएको छ।