काठमाडौं । नेपालमा मानव–वन्यजन्तु द्वन्द्वका घटना बढ्दै जाँदा त्यसबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न नेपाल बीमा प्राधिकरणले ‘वन्यजन्तु जोखिम केन्द्रित बीमालेख’ लागू गरेको छ। साउन १ गतेदेखि देशभरका सबै निर्जीवन तथा लघु निर्जीवन बीमा कम्पनीमार्फत अनिवार्य रूपमा बिक्री हुने गरी यो बीमालेख कार्यान्वयनमा ल्याइएको हो।
राष्ट्रिय निकुञ्ज, आरक्ष तथा वन क्षेत्र आसपास बसोबास गर्ने उच्च जोखिममा रहेका नागरिकलाई लक्षित गर्दै ल्याइएको यस योजनाअन्तर्गत वार्षिक १ हजार ५०० रुपैयाँ बीमाशुल्क तिरेर एकै परिवारले दुर्घटना, घर, भौतिक संरचना, पशुधन तथा कृषि बालीको एकीकृत बीमा सुरक्षा प्राप्त गर्न सक्नेछन्।
बीमालेखअनुसार वन्यजन्तुको आक्रमणबाट एउटै परिवारका अधिकतम दुई सदस्यको मृत्यु वा स्थायी पूर्ण अशक्तता भएमा प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म क्षतिपूर्ति प्रदान गरिनेछ।
यस्तै, कम्तीमा १८३ दिनसम्म काम गर्न नसक्ने गरी अस्थायी पूर्ण अशक्तता भएमा ५ लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध हुनेछ। उपचार खर्चअन्तर्गत गम्भीर घाइतेलाई अधिकतम १ लाख रुपैयाँ र सामान्य घाइतेलाई २० हजार रुपैयाँसम्म औषधोपचार खर्च उपलब्ध गराइने व्यवस्था गरिएको छ।
बीमालेखले मानव क्षतिमात्र होइन, वन्यजन्तुले घर तथा अन्य भौतिक संरचनामा पुर्याएको क्षतिलाई पनि समेटेको छ। पक्की, कच्ची, फुस वा टिनको घर तथा परिसरभित्रका गोठ, भान्साघर, शौचालयलगायत संरचनामा क्षति पुगेमा अधिकतम ५ लाख रुपैयाँसम्म दाबी भुक्तानी पाइनेछ।
त्यस्तै, कृषि प्रयोजनका लागि पालिएका तीन महिनाभन्दा माथिका पशुचौपायामा क्षति पुगेमा १ लाख रुपैयाँसम्म र जंगली जनावरले अन्नबाली वा फलफूल नष्ट गरेमा ५ लाख रुपैयाँको समग्र सीमाभित्र अधिकतम ५० हजार रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध हुनेछ।
प्राधिकरणले दाबी प्रक्रियालाई पनि सहज बनाएको छ। वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको अवस्थामा शव व्यवस्थापन तथा काजक्रिया खर्चका लागि बीमा कम्पनीले घटना भएको सात दिनभित्र ५० हजार रुपैयाँ अग्रिम भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।
प्रहरी प्रतिवेदन, पाँच जना स्थानीयको हस्ताक्षरसहितको सर्जमिन मुचुल्का, क्षतिको तस्बिर तथा स्थानीय तहको प्राविधिक मूल्यांकनसहित आवश्यक कागजात पेश गरेपछि बीमा कम्पनीले सात दिनभित्र दाबी फर्छ्योट गर्नुपर्नेछ।
बीमालेख हराएको अवस्थामा समेत दाबी प्रक्रिया रोक्न नपाइने र कम्पनीले आवश्यक सहजीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ।
बीमितले घटना भएको ४८ घण्टाभित्र बीमा कम्पनीलाई जानकारी गराउनुपर्नेछ। आधिकारिक मुचुल्का नबन्दासम्म क्षतिको स्थलबाट प्रमाण हटाउन पाइने छैन।
प्रतिबन्धित क्षेत्रमा अनुमति बिना प्रवेश गर्दा भएको दुर्घटना तथा कानुनले निषेध गरेका बालीमा भएको क्षति भने बीमाको दायराभित्र पर्ने छैन। मानव मृत्युमा कुनै कटौती नहुने भए पनि घर, भौतिक संरचना, पशुधन तथा बालीको दाबीमा मूल्यांकन रकमको ५ प्रतिशत कट्टा गरी बाँकी रकम भुक्तानी गरिने व्यवस्था छ।
यो बीमालेखमा प्राधिकरणले तोकेका १८ प्रकारका वन्यजन्तुको आक्रमणबाट भएको क्षति समेटिएको छ। तीमध्ये हात्ती, गैँडा, बाघ, भालु, चितुवा, स्याल, मृग प्रजाति, ब्वाँसो, जंगली कुकुर, जंगली बँदेल, अर्ना, गोही, गौरीगाई, अजिङ्गर, नीलगाई, बाँदर, दुम्सी र कृष्णसार रहेका छन्।
डिजिटल तथा भौतिक दुवै माध्यमबाट उपलब्ध हुने यो बीमालेखले वन क्षेत्र आसपासका नागरिकलाई वन्यजन्तुबाट हुने जोखिमविरुद्ध आर्थिक सुरक्षा प्रदान गर्ने विश्वास प्राधिकरणले लिएको छ।