free website hit counter

वागमतीका सबै सरकारी भवनको बीमा गरिने

beemaadmin
२०८३ भाद्र २८, आईतवार

काठमाडौं । वागमती प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालयका भवनको बीमा गर्ने तयारी थालेको छ।

गत वर्षको जेनजी आन्दोलनका क्रममा सरकारी संरचनामा ठूलो क्षति पुगेपछि भविष्यमा हुने यस्ता जोखिमबाट राज्यलाई पर्ने आर्थिक भार कम गर्न सरकारले भवन बीमाका लागि बजेटसमेत विनियोजन गरेको हो।

वागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाका अनुसार आन्दोलनबाट भएको क्षतिबाट पाठ सिक्दै प्रदेशका सम्पूर्ण सरकारी भवनको बीमा गर्ने योजना अघि बढाइएको हो। २०८२ भदौ २४ गतेको आन्दोलनका क्रममा मकवानपुर, चितवन, काठमाडौं, ललितपुर र भक्तपुरमा प्रदेश सरकारका २६ कार्यालयका ६० भवनमा क्षति पुगेको थियो।

प्रदेश सरकारका अनुसार भौतिक पूर्वाधारतर्फ मात्रै ५७ करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको थियो। सवारीसाधन र जिन्सी सामग्रीसमेत जोड्दा कुल क्षति करिब १ अर्ब १० करोड रुपैयाँ पुगेको थियो।

क्षति भएका अधिकांश भवनको मर्मत सम्पन्न गरी सेवा प्रवाह नियमित गरिएको छ। सहरी विकास तथा भवन कार्यालय मकवानपुर र प्रदेशसभा भवन भने पूर्ण रूपमा क्षतिग्रस्त भएकाले पुनर्निर्माण गर्न लागिएको छ। दुवै संरचनाका लागि चालु आर्थिक वर्षमा ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

मन्त्रालयका अनुसार ध्वस्त संरचना हटाएर नयाँ निर्माण गर्न मात्रै करिब १ अर्ब ३० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यस्तै, वागमती प्रदेश सरकारको एकीकृत प्रशासनिक भवन निर्माणको प्रक्रिया पनि अघि बढाइएको छ।

सम्बन्धित समाचार