free website hit counter

वाणिज्य बैंकहरुले १३ अर्ब ५६ करोड आयकर तिरे

beemaadmin
२०८२ माघ १७, शनिबार

काठमाडौं । वाणिज्य बैंकहरूको खुद नाफा बढ्दा यिनीहरूबाट सरकारले उठाउने आयकर पनि बढेको छ। गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १५।३३ प्रतिशतले आयकर संकलन बढेको हो।२० वटा वाणिज्य बैंकहरूमध्ये लक्ष्मी सनराइजबाहेकका बैंकहरूबाट चालु अवधिमा १ अर्ब ३५ करोड ६६ लाख रुपैयाँभन्दा बढी आयकर संकलन भएको छ। यो गत वर्षको दोस्रो त्रैमाससम्मको आयकर संकलन १ अर्ब १७ करोड थियो। सरकारले आर्थिक वर्ष ०८१–८२ मा सर्वाधिकर आयकर तिर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सम्मान गरेको थियो। धेरै कर दाखिला गर्नेको सूचीमा रहेको इन्भेष्टमेन्ट मेगा बैंकले एक वर्षमा तीन अर्ब २७ करोड ७२ लाख २७ हजार दुई सय ६९ रुपैयाँ दाखिला गरेको थियो । बैंक तथा वित्तीय संस्थालाई ३० प्रतिशत आयकर तिर्नुपर्ने व्यवस्था छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले चालु आवको दोस्रो त्रैमाससम्मको अवधिमा ५८ करोड ८५ लाख रुपैयाँ आयकर तिरेको छ। यो गत वर्षको ७० करोड ३१ लाखको तुलनामा कमी हो। खुद नाफा घटेकै कारण कर दायित्व पनि घटेको स्पष्ट हो। ग्लोबल आइएमइ बैंकले १ अर्ब १३ करोड रुपैयाँ आयकर तिरेको छ, जुन गत वर्षको तुलनामा झिनो दरमा न्यून हो। गत आवको सोही अवधिमा एक अर्ब १५ करोडको आयकर थिरेको थियो। यो बैंक सरकारका ठूला करदातामध्ये निरन्तर रहँदै आएको देखिन्छ। हिमालयन बैंकको आयकर ६५ करोडबाट घटेर ५३ करोड रुपैयाँमा झरेको छ। खुद नाफा र ब्याज आम्दानी दुवै घटेकाले कर तिर्ने क्षमता कमजोर भएको हो।
सानिमा बैंकको आयकर ३६ करोडबाट बढेर ५५ करोड रुपैयाँ पुगेको छ। नाफा र ब्याज आम्दानी दुवै बढेकाले कर दायित्वमा उल्लेख्य वृद्धि भएको हो। नेपाल एसबीआई बैंकले ४४ करोड २० लाख रुपैयाँ आयकर तिरेको छ, जुन गत वर्षसँग लगभग बराबर छ । स्थिर नाफा भएकाले कर योगदान पनि स्थिर देखिन्छ। प्राइम कमर्सियल बैंकको आयकर ७९ करोडबाट बढेर ८७ करोड रुपैयाँ पुगेको छ। नाफा सुधारसँगै कर योगदान पनि बढेको हो।
सिद्धार्थ बैंकको आयकर २३ करोडबाट एकाएक बढेर ६१ करोड रुपैयाँ पुगेको छ। नाफामा आएको तीव्र सुधार कर तिर्ने क्षमतामा स्पष्ट रूपमा देखिएको छ। यो वर्ष सिद्धार्थ बैंक कर योगदानमा सबैभन्दा तीव्र सुधार गर्ने बैंकमध्ये पर्छ।
सिटिजन्स बैंकको आयकर २६ करोडबाट घटेर १५ करोड रुपैयाँमा झरेको छ। नाफा घटेकै कारण कर योगदान पनि घटेको हो, जसले बैंक दबाबमा रहेको देखाउँछ। एभरेष्ट बैंकले १ अर्ब ५ करोड रुपैयाँ आयकर तिरेको छ, जुन गत वर्षभन्दा थोरै बढी हो। गत आवको सोही अवधिमा एक अर्ब ३ करोडको कर तिरेको थियो। राष्ट्रिय वाणिज्य बैंकको आयकर ३२ करोडबाट बढेर ७५ करोड रुपैयाँ पुगेको छ। नाफामा आएको उल्लेख्य सुधार सीधै कर संकलनमा देखापरेको हो। सरकारी बैंकमध्ये कर योगदान बढाउने यो प्रमुख बैंक बनेको छ।
नबिल बैंकले चालु अवधिमा १ अर्ब ८५ करोड रुपैयाँ आयकर तिरेको छ। यो गत वर्षको १ अर्ब ३९ करोडभन्दा निकै बढी हो। खुद नाफामा अग्रस्थानमा रहेकाले आयकरमा पनि नबिल सबैभन्दा ठूलो योगदानकर्ता बनेको छ। नेपाल बैंकको आयकर २२ करोड रुपैयाँ पुगेको छ। जबकि गत वर्ष बैंकले तिर्ने कर चार करोड २५ लाखले ऋणात्मक देखिएको थियो। प्रभु बैंकको आयकर १ अर्ब १८ करोडबाट घटेर ९५ करोड रुपैयाँमा झरेको छ। नाफा घटेको प्रत्यक्ष असर कर योगदानमा देखिएको छ। एनएमबी बैंकको आयकर ८३ करोडबाट घटेर ६८ करोड रुपैयाँमा झरेको छ। ब्याज आम्दानी बढे पनि नाफा घटेकाले कर तिर्ने क्षमता कमजोर भएको देखिन्छ।
एनआइसी एशिया बैंकले ५ करोड ६२ लाख रुपैयाँ आयकर तिरेको छ, जुन गत वर्षभन्दा कम हो। नाफा कमजोर रहेकाले कर योगदान पनि न्यून तहमा सीमित छ। यस बैंकको आयकर १ अर्ब २१ करोडबाट घटेर ७२ करोड रुपैयाँमा झरेको छ। नाफा घट्नुको असर करमा स्पष्ट देखिएको छ। माछापुच्छ्रे बैंकको आयकर ३४ करोडबाट बढेर ४३ करोड रुपैयाँ पुगेको छ। नाफा सुधारसँगै कर योगदान पनि क्रमशः बढ्दो क्रममा छ। लक्ष्मी सनराइज बैंकले चालु अवधिमा एक रुपैयाँ पनि आयकर तिरेको छैन। बैंक घाटामा गएकाले कर दायित्व शून्य भएको हो। कुमारी बैंकले आयकर ४१ करोडबाट बढाएर १ अर्ब ६२ करोड रुपैयाँ पुर्याएको छ। नाफामा आएको असाधारण वृद्धिको प्रत्यक्ष लाभ सरकारको कर संकलनमा परेको छ। यो वर्ष सबैभन्दा बढी सुधार गर्ने बैंक कुमारी बनेको छ। कृषि विकास बैंकको आयकर ३९ करोडबाट घटेर ३० करोड रुपैयाँमा झरेको छ। नाफा घटेकाले कर योगदान पनि खुम्चिएको छ।

सम्बन्धित समाचार