free website hit counter

वाणिज्य बैंकहरूको नाफा १९.६२ प्रतिशतले बढ्यो

beemaadmin
२०८३ असार २८, आईतवार

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म २० वटा वाणिज्य बैंकले कुल ६४ अर्ब ५६ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६२ प्रतिशत अर्थात् १० अर्ब ५९ करोड रुपैयाँले बढी हो। अघिल्लो वर्षको यही अवधिमा बैंकहरूको कुल खुद नाफा ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ रहेको थियो।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार समीक्षा अवधिमा २० वाणिज्य बैंकमध्ये १४ बैंकको नाफा बढेको छ भने ६ बैंकको नाफा घटेको छ।

खुद नाफाका आधारमा नबिल बैंक सबैभन्दा अगाडि रहेको छ। बैंकले ८ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३२.५१ प्रतिशतले बढी हो।

नाफा वृद्धिदरका हिसाबले भने कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको खुद नाफा १ हजार १६८ प्रतिशतले वृद्धि भई ४ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकले ३७ करोड १० लाख रुपैयाँ मात्र नाफा कमाएको थियो।

यसैगरी, राष्ट्रिय वाणिज्य बैंकको नाफा ६८ प्रतिशत बढेर ३ अर्ब ७२ करोड रुपैयाँ, सानिमा बैंकको ४४.८४ प्रतिशत बढेर ३ अर्ब १२ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको ४४.२५ प्रतिशत बढेर २ अर्ब १७ करोड रुपैयाँ, प्राइम बैंकको २९.०६ प्रतिशत बढेर ३ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै, हिमालयन बैंकले १ अर्ब १६ करोड रुपैयाँ, सिद्धार्थ बैंकले २ अर्ब ८० करोड रुपैयाँ र सिटिजन्स बैंक इन्टरनेसनलले १ अर्ब ७४ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। यी बैंकहरूको नाफा क्रमशः २८.५९ प्रतिशत, २६.३० प्रतिशत र २३.७१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

यस्तै, एनएमबी बैंकको नाफा १९.७८ प्रतिशत बढेर ३ अर्ब ६३ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको १८.६६ प्रतिशत बढेर १ अर्ब ८३ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १२.१७ प्रतिशत बढेर २ अर्ब ८९ करोड रुपैयाँ, नेपाल बैंकको ८.३७ प्रतिशत बढेर ३ अर्ब ३२ करोड रुपैयाँ तथा कृषि विकास बैंकको ७.६७ प्रतिशत बढेर १ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा एनआईसी एशिया बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी), स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, एभरेष्ट बैंक र ग्लोबल आइएमई बैंकको खुद नाफा भने घटेको छ।

तीमध्ये एनआईसी एशिया बैंकको नाफा सबैभन्दा धेरै ३८.८१ प्रतिशतले घटेर ५० करोड रुपैयाँमा सीमित भएको छ। प्रभु बैंकको नाफा ३४.९१ प्रतिशतले घटेर १ अर्ब ५० करोड रुपैयाँ, एनआईएमबीको २१ प्रतिशतले घटेर ४ अर्ब ४९ करोड रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको ३.७४ प्रतिशतले घटेर २ अर्ब ६२ करोड रुपैयाँ, एभरेष्ट बैंकको २.७६ प्रतिशतले घटेर ४ अर्ब १२ करोड रुपैयाँ तथा ग्लोबल आइएमई बैंकको ०.९६ प्रतिशतले घटेर ५ अर्ब ९७ करोड रुपैयाँमा पुगेको छ।

सम्बन्धित समाचार