काठमाडौं । मन्त्रिपरिषद्मा सिफारिश भएको करिब तीन हप्तापछि स्वास्थ्य सेवाका १२औं तहका विज्ञको बढुवा गरिएको छ । लामो रस्साकस्सी तथा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीबीचको प्राथमिकतामा फरक पर्दा मन्त्रिपरिषद्ले निर्णय लिन सकेको थिएन । सोमबार साँझ बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको १२औं तहमा तीन जनालाई नियुक्त गरेको हो। मन्त्रिपरिषद बैठकबाट बढुवा हुनेहरुमा डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह र महेन्द्र श्रेष्ठ रहेका छन् । यीमध्ये पोखरेल केही दिनअघि मात्र स्वास्थ्य सेवा विभागको महानिर्देशकबाट मन्त्रालयमा तानिएका थिए भने श्रेष्ठलाई गत हप्ता मात्र महानिर्देशक बनाइएको थियो । नेपालको इतिहासमा पहिलो पटक पब्लिक हेल्थ समूहबाट महानिर्देशक बन्ने श्रेष्ठ पहिलो भाग्यमानी व्यक्ति हुन् ।
त्यस्तै सिंह मन्त्रालयमै कार्यरत थिए । स्वास्थ्य मन्त्रालयमा सचिवसहित ४ जना १२औं तहको दरबन्दी छ भने विभागमा १ जनाको दरबन्दी रहेको छ । अब १ जनालाई स्वास्थ्य मन्त्रालयको रिक्त सचिव पदमा बढुवा गरिने छ । यसो हुँदा अहिले बढुवा भएका बाहेकबाटै स्वास्थ्य सचिव बन्ने सम्भावना रहेको छ । ११औं तहबाटै स्वास्थ्य सचिव बनाउने प्रावधान रहेका कारण अहिले सिफारिशमा परे पनि बढुवा हुन नसकेका डा. भीमसिंह टिंकरी, डा. केदार सेन्चुरी सचिव पदका प्रबल दाबेदार हुन् । यी दुईमध्ये पनि टिंकरीलाई सचिव बनाउनका लागि पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी लगायत नेकपाका कर्णाली र सुदूरपश्चिम प्रदेशका नेताहरु सक्रिय छन् ।