काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका साधनमा विद्यार्थीलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुट अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ ।
विभागले हालै यातायात व्यवसायी तथा सम्बन्धित निकायहरूलाई परिपत्र गर्दै उक्त सहुलियत कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायात सहकारी संस्था लिमिटेडलाई पठाइएको पत्रमार्फत विद्यार्थीको कानुनी अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण गराइएको छ ।
इन्धन मूल्य वृद्धि भएको कारण देखाउँदै केही सार्वजनिक सवारीसाधनले विद्यार्थीलाई छुट नदिएको गुनासो बढेपछि यो कदम चालिएको विभागले जनाएको छ । ‘हेलो सरकार’ र गुनासो पेटिका मार्फत समेत विद्यार्थीहरूले तोकिएको छुट नपाएको उजुरी आउने क्रम बढेको उल्लेख गरिएको छ ।
त्यस्तै, विद्यार्थी परिचयपत्र देखाउँदा पनि केही चालक र सहचालकले छुट नदिने मात्र नभई दुर्व्यवहार गर्ने गरेको गुनासोसमेत आएको विभागले जनाएको छ ।
विभागले २०६५ फागुन २० गते सरकार र यातायात व्यवसायीबीच भएको सम्झौता स्मरण गराउँदै सोही अनुसार विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट लागू हुँदै आएको स्पष्ट पारेको छ ।
यदि परिचयपत्र भएका विद्यार्थीलाई छुट नदिए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने विभागले चेतावनी दिएको छ ।