चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालमा विद्युतीय गाडी (ईभी) को आयात घटेको छ। अघिल्लो वर्ष सोही अवधिमा ७ हजार ९६७ युनिट ईभी आयात भएकोमा यस वर्ष घटेर ७ हजार १७३ युनिटमा सीमित भएको छ, जुन झन्डै १० प्रतिशतको गिरावट हो।
यस अवधिमा कुल १६ अर्ब ६६ करोड रुपैयाँ बराबरका विद्युतीय गाडी भित्रिएका छन्, जसबाट सरकारले १० अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। आयात भएका ईभीमध्ये ५० किलोवाटसम्मका २,५०६ युनिट, ५१ देखि १०० किलोवाटसम्मका ४,०८३ युनिट, १०१ देखि २०० किलोवाटसम्मका ५७४ युनिट र २०१ किलोवाटभन्दा माथिका ८ युनिट रहेका छन्।
यता, विद्युतीय गाडीको आयात घटिरहँदा पेट्रोलबाट चल्ने गाडीको आयात भने उल्लेखनीय रूपमा बढेको छ। चालु वर्षको पहिलो नौ महिनामा ४,१४० युनिट पेट्रोल कार आयात भएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको २,७४२ युनिटको तुलनामा ५०.९९ प्रतिशतले बढी हो।
बजारमा आन्तरिक दहन इन्जिन (आईसीई) गाडीको माग बढेसँगै यसको आयात पनि उकालो लागेको देखिन्छ। पछिल्लो समय इन्धन संकट चुलिँदै गएको अवस्थामा विद्युतीय सवारीभन्दा इन्धनमा निर्भर गाडीको संख्या बढ्नुले देशको अर्थतन्त्रमा थप चुनौती सिर्जना गरेको छ।