free website hit counter

विद्युत् बिलमा भ्याट: उपभोक्तालाई अन्याय नहोस् भन्दै मन्त्री श्रेष्ठको चासो

beemaadmin
२०८३ श्रावण १०, आईतवार

काठमाडौं । आर्थिक ऐन, २०८३ अनुसार साउन १ गतेदेखि विद्युत् शक्तिमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको भए पनि असार महिनाको विद्युत् खपतमा समेत भ्याट समावेश गरी बिल पठाइएको भन्दै उपभोक्ताबाट गुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले यस विषयमा गम्भीर चासो व्यक्त गरेका छन्।

असारमा उपभोग भएको विद्युत्को बिल साउनको पहिलो सातामा जारी गर्दा भ्याटसमेत जोडिएको भन्दै व्यापक जनगुनासो आएपछि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणलाई कानुनी तथा व्यवहारिक पक्ष स्पष्ट पार्दै उपभोक्तामाथि कुनै अन्याय नहुने गरी समस्या समाधान गर्न निर्देशन दिएका हुन्।

उनले कर कार्यान्वयनका नाममा उपभोक्तालाई अनावश्यक आर्थिक भार पर्न नहुने उल्लेख गर्दै देखिएको अन्योल तत्काल हटाउन आवश्यक पहल गर्न पनि प्राधिकरणलाई आग्रह गरेका छन्।

मन्त्रीको निर्देशनपछि नेपाल विद्युत् प्राधिकरणले असार महिनाको विद्युत् खपतको बिल साउनमा जारी हुँदा भ्याट लाग्ने वा नलाग्ने विषयमा स्पष्ट कानुनी व्याख्या माग्दै आन्तरिक राजस्व विभागसँग औपचारिक राय मागेको जनाएको छ। साथै, न्यूनतम डिमान्ड चार्जमा समेत भ्याट लागू हुने वा नहुनेबारे विभागको आधिकारिक धारणा मागिएको प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणका अनुसार आन्तरिक राजस्व विभागबाट प्राप्त हुने आधिकारिक रायका आधारमा आवश्यक परे आगामी महिनाको बिलमा मूल्य समायोजन गरिनेछ। यसबाट हाल देखिएको अन्योल हट्ने र उपभोक्ताको गुनासो सम्बोधन हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार