free website hit counter

विद्युत बिक्री बढेपछि चिलिमेको नाफामा सुधार

beemaadmin
२०८३ श्रावण २६, मंगलवार

काठमाडौं । विद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै चिलिमे जलविद्युत कम्पनी लिमिटेडको नाफामा सुधार आएको छ। कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७२ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ।

कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४३ प्रतिशतले बढेको हो। अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ६७ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Advertisement
Advertisement

समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब १६ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आवमा यस्तो आम्दानी १ अर्ब १२ करोड रुपैयाँ रहेको थियो। विद्युत बिक्री आम्दानीमा भएको वृद्धिले कम्पनीको समग्र नाफा बढाउन योगदान गरेको देखिन्छ।

Advertisement
Advertisement

कम्पनीको वित्तीय आम्दानीसमेत सामान्य बढेको छ। अघिल्लो आवको चौथो त्रैमाससम्म १३ करोड ४७ लाख रुपैयाँ वित्तीय आम्दानी गरेको कम्पनीले गत आवको सोही अवधिमा १३ करोड ५९ लाख रुपैयाँ आर्जन गरेको छ।

यता, कम्पनीको अन्य आम्दानी भने घटेको छ। अघिल्लो आवमा ३ करोड ७० लाख रुपैयाँ रहेको अन्य आम्दानी समीक्षा अवधिमा घटेर २ करोड ७८ लाख रुपैयाँमा सीमित भएको छ।

कम्पनीको खर्चतर्फ भने प्रशासनिक तथा ह्रासकट्टी खर्च बढेको छ। प्रशासनिक खर्च २ करोड ७८ लाख रुपैयाँबाट बढेर ३ करोड २६ लाख रुपैयाँ पुगेको छ भने ह्रासकट्टी खर्च ७ करोड ४२ लाख रुपैयाँबाट बढेर ८ करोड ५० लाख रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्ता पुँजी ९ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको रिटेन्ड अर्निङ २ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कुल चालु सम्पत्ति ३ अर्ब १६ करोड रुपैयाँ र कुल चालु दायित्व १२ करोड १८ लाख रुपैयाँ रहेको छ।

वित्तीय सूचकमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ७.५९ रुपैयाँ कायम भएको छ। त्यस्तै, मूल्य–आम्दानी अनुपात (पीई रेसियो) ६४.१५ गुणा र प्रतिसेयर नेटवर्थ १२३.९० रुपैयाँ रहेको छ।

विद्युत बिक्री आम्दानीमा निरन्तर सुधार देखिए पनि बढ्दो प्रशासनिक तथा ह्रासकट्टी खर्चका कारण कम्पनीको नाफा वृद्धिको दर भने सीमित देखिएको छ। यद्यपि, विद्युत उत्पादन तथा बिक्रीबाट हुने नियमित आम्दानीले चिलिमेको वित्तीय अवस्था तुलनात्मक रूपमा स्थिर राख्न सहयोग गरेको देखिन्छ।

सम्बन्धित समाचार