free website hit counter

विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा आधा दर्जनको दरखास्त

beemaadmin
२०७६ कार्तिक २९, शुक्रबार

काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदका लागि आधा दर्जनको निवेदन परेको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राधिकरणको कार्यकारी निर्देशकका लागि केही समय अघि सार्वजनिक रुपमा पदपूर्तिका लागि आह्वान गरेको थियो । मन्त्रालयले आह्वान गरेको समयसिमा शुक्रबार दिउँसो ३ बजेसम्म थियो ।

मन्त्रालय स्रोतकाअनुसार, समयसीमाभित्र निवेदन दिनेहरुमा चण्डिका भट्ट (गोरखा), जनार्दन गुरागाई (काठमाडौं), शिवकुमार दाहाल (तनहुँ), रामदेव यादव (धनुषा), रघुराज काफ्ने (तनहुँ) र योगेन्द्र गौचन (काठमाडौं) रहेका छन् । आजैमात्र तीनजनाले दरखास्त दिएको स्रोतले जानकारी दिएको छ । अन्तिममा शिवकुमार दाहालले दरखास्त दर्ता गराएको बुझिएको छ । सिफारिश समितिको कार्यालय संंस्थान शाखामा गोप्य खामबन्दीमा इच्छुक उम्मेदवारहरुले कार्ययोजना र दरखास्त पेश गरेका छन् ।

दरखास्त दिनेहरुमा भट्ट प्राधिकरणको कार्यकारी निर्देशकमा एक कार्यकाल बिताएर हालैमात्र बिदा भएका पूर्व कार्यकारी निर्देशक हुन् । गुरागाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सहसचिव पदबाट उमेरहदका कारण केही दिनअघिमात्र अवकाश पाएका सेवा निवृत्त कर्मचारी हुन् । योगेन्द्र गौचन उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको बाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको महानिर्देशक पदबाट कात्तिक १४ गते अवकाश पाएका सेवा निवृत्त कर्मचारी हुन् । दाहाल, यादव र काङ्खले भने अन्य क्षेत्रमा अनुभव हासिल गरेको व्यक्ति भएको बताइन्छ । दरखास्त दिने समय समाप्त भएपछि सिफारिश समितिको बैठक आइतबार बोलाइएको बताइएको छ ।

सिफारिश समितिमा राष्ट्रिय योजना आयोगका सदस्य (उद्योग बाणिज्य हेर्ने) डा. रामकुमार फुयालको संयोजकत्वमा तीन सदस्यीय समितिले दरखास्त दिएका उम्मेदवारहरुको प्रस्तुति लिने कार्यक्रम रहेको छ । फुयाल समितिमा बाणिज्य विज्ञ एवं पूर्व बाणिज्य सचिव पुरुषोत्तम ओझा र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय (उद्योग) सचिव एमकुमारी खतिवडा रहेका छन् । यो समितिको बैठक आइतबार बसी कार्य विधि तयार गरी कार्यकारी निर्देशक नियुक्ति सिफारिशका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने बताइएको छ । सिफारिश समितिले सम्भावित तीन जनाको नाम उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष सिफारिश गर्ने र मन्त्रालयले निर्णयका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने प्रक्रिया रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार