free website hit counter

विश्व क्यान्सर दिवस : मानिसका निम्ति अझ दुर्भाग्य सावित हुँदै

beemaadmin
२०७९ माघ २१, शनिबार
  • लोकेन्द्र श्रेष्ठ ‘ईश्वर’

विश्वले यतिखेर क्यान्सर बिरुद्धको बिश्व क्यान्सर दिवस मनाइरहेको छ । क्यान्सर जस्तो खतरनाक रोग बारे चेतना फैलाउन हरेक वर्ष मा विश्व क्यान्सर दिवस मनाइन्छ । अझ प्रत्येक बर्ष फेबु्रअरी ४ मा मनाईदै आएको यो दिवसलाई आधार मानेर विश्वनै यतिखेर क्यान्सर सम्बन्धि जनचेतानाका कार्यक्रम तय गर्दे दिवस मनाइने गरेको हो ।सन् २०२३ मा विश्व क्यान्सर दिवसको नारा ‘क्लोज द केयर ग्याप’ राखेको छ । यही नाराका साथ क्यान्सरविरुद्धको लडाइँमा सबै नागरिकलाई समान हेरचाह र स्वास्थ्य सेवामा उचित पहुँच सुनिश्चित गर्ने अभियान चलाइएको छ । विश्व क्यान्सर सम्बन्धि जनचेताना फैलाउन युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल (UICC) ले प्रत्येक बर्ष नारा दिने गरेकोमा यो बर्ष पनि नयाँ नारासहित विश्वभर चेतना फैलाउने काम गरिरहेको छ। यो दिवस मनाउनुको पहिलो उद्देश्य क्यान्सरबाट पीडित हुनेको संख्या घटाउनु र यसबाट हुने छेति ,मृत्युदरलाई कम गर्नु हो ।

विश्व क्यान्सर दिवसको इतिहास विश्व स्तरमा क्यान्सर सम्बन्धी चेतना फैलाउन र यस रोगको बारेमा सर्वसाधारणलाई सचेत गराउन अन्तर्राष्ट्रिय क्यान्सर नियन्त्रण संघ (UICC) ले सन् २००० फे्रबुअरी  ४ मा विश्व क्यान्सर दिवस मनाउने घोषणा गरेको थियो । सन् २००० मा फ्रान्सको राजधानी पेरिसमा भएको पहिलो विश्व शिखर सम्मेलनमा यो दिवसलाई क्यान्सर विरुद्धको युद्धको रुपमा पहिलो पटक मनाइएको थियो । त्यसपछि हरेक वर्ष फेबु्रअरी ४ मा यो दिवस मनाइन्छ । युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल (UICC), विश्वव्यापी रूपमा क्यान्सर विरुद्ध काम गर्ने अग्रणी संस्थाका रुपमा सन् १९९३ मा स्विट्जरल्याण्डको जेनेभामा स्थापना भएको थियो । यो संस्थाले क्यान्सर विरुद्धको लडाईमा प्रमुख भूमिका खेल्दै आईरहेको छ । मानिसहरूमा क्यान्सरका लक्षणहरू पहिचान गर्ने, त्यसबारे चेतना अभिवृद्धि गर्ने, विश्वभरका सरकारी तथा गैरसरकारी संस्थाहरूलाई यस रोगविरुद्ध लड्न तयार गर्ने प्रमुख उदेश्य रहेको छ।

क्यान्सर एउटा घातक प्रकृतिको रोग हो, जुन शरीरको कुनै अंग वा तन्तुमा कोषिकाहरूको अनियन्त्रित वृद्विले गर्दा उत्पन्न हुन्छ र यो शरीरको अन्य भागमा समेत फैलिएर जान सक्छ । क्यान्सरका कारण सन् २०१८ मा करिब ९६ लाखले ज्यान गुमाएको तथ्यांकहरूले देखाउँछ । ग्लोबोक्यान २०२० अनुसार अहिले नेपालमा क्यान्सरको अवस्था प्रतिलाख ८१ जना र मृत्युदर लगभग ५५ जना रहेको छ । यसरी हेर्दा नेपालमा बर्सेनि सरदर २६ देखि ३० हजार मानिस क्यान्सरपीडित हुने र १५ देखि २० हजारको बर्सेनि मृत्यु हुने गरेको देखिन्छ ।  यो क्रम क्रमश बढ्दै गएको छ । क्यान्सर संसारकै मृत्युको दोस्रो ठूलो कारण हो । विश्वमा यो रोगको चपेटामा परेका बिरामीको संख्या पनि सबैभन्दा बढी छ । सबै प्रयासका बाबजुद पनि क्यान्सर रोगीको संख्यामा कमी आउन सकेको छैन । यस कारणले गर्दा यो भयानक रोगबाट हुने क्षतिबारे मानिसहरूलाई जानकारी गराउन विश्व स्वास्थ्य संगठनले हरेक वर्ष फेबु्रअरी ४ लाई विश्व क्यान्सर दिवसका रूपमा मनाउने गरिएको छ । सन् २०३० सम्ममा क्यान्सर रोगीको सख्या एक करोडभन्दा बढी हुने अनुमान गरिएको छ । यस दिवस मनाउनुको उद्देश्य क्यान्सरबारे फैलिएको गलत धारणालाई कम गरी यससँग सम्बन्धित सही जानकारीलाई सकेसम्म धेरै भन्दा धेरै जनमानससम्म पुर्याउनु हो ।

क्यान्सर नसर्ने जोखिमयुक्त कडा रोग मानिन्छ । नेपालमा क्यान्सर रोगीका संख्या बढ्दो क्रममै छ । तर अलिकति आफूले आफैँलाई नियन्त्रणमा राख्ने हो भने यो रोग भित्रिन नदिन र समय–समयमा जाँच–उपचार गरेको खण्डमा भित्रिन लागेको रोग पनि निको पार्न सक्छौ । आधुनिक युगमा क्यान्सर यस्तो रोग बनेको छ, जसका कारण सबैभन्दा बढी मानिसको मृत्यु यसैबाट हुने गरेको छ । हामीले प्रयोग गर्ने तरकारी र फलफूल लगायतका खाद्य पदार्थ उत्पादनकै बेला विषादि प्रयोग हुँदा पनि क्यान्सरको दर बढाएको छ ।

क्यान्सर वास्तवमै मानिसका निम्ति एउटा दुर्भाग्य सावित भएको छ, खर्च, पीडा र यो रोगसँगको लडाइले जीवन संघर्ष बढाएको छ । जीवन नै समाप्त पार्ने यो रोगले मानिस लगातार मृत्युको मुखमा पुगेको छ । आजपनि धेरै मानिसहरु क्यान्सरसँग जुधिरहेका, लडिरहेका छन् । आज क्यान्सर पीडितका हौसला प्रदान गर्ने र मृत्यु भएकाको बारे स्मरण गर्ने समय हो । आजको दिन क्यान्सरविरुद्ध फराकिलो क्रियाकलापका माध्यमबाट क्यान्सर रोगका अनेकन रुपबारे जानकारी गराउने र त्यो रोगविरुद्धको जागरण कसरी फैलाउन सकिन्छ भनी विश्वस्तरमै छलफल गरिन्छ ।

क्यान्सर धेरै प्रकारका हुन्छन् । क्यान्सरमा पनि फोक्सोको क्यान्सर, प्रोस्टेट क्यान्सर, आन्द्राको क्यान्सर, पेटको क्यान्सर, कलेजोको क्यान्सर पुरुषमा धेरै देखिएको छ भने महिलामा स्तन क्यान्सर, आन्द्राको क्यान्सर, फोक्सो, पाठेघरको मुखको क्यान्सर र थाइराइडको क्यान्सर प्रमुख रूपमा देखिएको छ । यो रोग विभिन्न कारणहरूले हुने गरेको छ । यदि तपाई कुनै गम्भिर रोगको औषधि सेवन गर्दै हुनुहुन्छ भने यी औषधिको साइड इफेक्टको कारणले क्यान्सर हुन सक्छ  ।

क्यान्सर के कारणले हुन्छ ? यो आफैमा खोजीको बिषय हो । क्यान्सर रोगका कारक तत्वहरूमा वंशानुगत, जीवनयापनसँग सम्बन्धित, संक्रमणसँग सम्बन्धित मुख्य हुन् । आहारविहार, शारीरिक व्यायाम, मद्यपान र धूम्रपानको प्रयोगले पनि क्यान्सर रोगको संख्या बढाइरहेको छ । अध्यनहरुका अनुसार, संसारभरिका क्यान्सरले गराउने मृत्युको कूल २२ प्रतिशत सूर्तिजन्य पदार्थ सेवनका कारणले हुने गरेको छ । क्यान्सर यसरी भयावह रूपमा फैलनुमा जनमानसमा स्वास्थ्यसम्बन्धी जानकारीको कमी, स्क्रिनिङका कार्यक्रम नहुनु वा भए पनि ढिलो हुनु, सामाजिक आर्थिक रूपमा स्वास्थ्य सेवा पहुँचबाहिर हुनु, स्वास्थ्य सेवा प्रवाह सामञ्जस्यविहीन हुनुजस्ता कारणले भूमिका खेलेका छन् ।

क्यान्सर लक्षण लामो समयसम्म घाँटी दुखाइ हुनु, लगातार खोकी लाग्नु, शरीरमा कुनैपनि भागमा विभिन्न प्रकारको गाँठागुठी देखिनु,  शरीरको कुनैपनि भागबाट रगत बग्नु, शरीरमा तिलकोठी वृद्धिहुँदै रंग परिवर्तन हुनु, छालाको रगंमा परिवर्तन हुनु, भोक नलाग्नु, स्तनमा परिवर्तन, दिशा पिसाबबाट रगत निस्किनु, अचानक तौल घट्नु, मुखमा कत्ला आउनु, थकान, रक्तश्राव, पेट फुल्नु, अन्डकोषमा बदलाव, पिसाब फेर्न समस्या, निल्नमा समस्या, भोक नलाग्नु, नङमा परिवर्तन, मुखभित्र वा जिभ्रोमा सेतो दाग देखिनु पनि क्यान्सरको संकेत हो । यसैगरी शरीरमा कुनैपनि प्रकारका असामान्य बदलाव आएमा र सो  लामो समय कायम रह्यो भने पनि यो क्यान्सरको लक्षण हुन सक्छ।
क्यान्सरको उपचारात्मक स्वास्थ्य विज्ञा लाई ‘अनकोंलोजी’ भनिन्छ भने नेपालीमा क्यान्सरलाई ‘अर्बुदरोग’ भनिन्छ । नेपालमा २०३९ मा क्यान्सर रोग उपचार र निदान को लागी नेपाल अर्बुद रोग नीवारण संस्था स्थापना भएको थीयो साथै नेपाल मा पहिलो क्यान्सर अस्पताल स्थापना गर्ने पहिलो क्यान्सर डाक्टर उत्पादन गर्ने श्रय संस्था लाई जान्छ। नत्र त्यसभन्दा अघि रोग लागेका पैशा भएका हरु भारत, बैकक, सिंगापुर हुँदै अमेरिकासम्म पुग्थे, तर गरीब नागरिक त्यसरी विदेश जाने क्षमता हुँदैनथ्यो । अनि तिनलाई मृत्यु कुर्नुबाहेक अरु विकल्प हुँदैनथ्यो । अब नेपालमै क्यान्सर अस्पताल खुलेका छन्, खुल्दैछन् असल कुसल बिज्ञ डाक्टर हरू छन्। समयमै पहिचान हुन सकेमा धेरै हदसम्म क्यान्सरको रोकथाम गर्न सकिन्छ ।
क्यान्सरको उपचारमा आवश्यक भौतिक पूर्वाधार र मानव संसाधनको विकास पहिलेको तुलनामा सुधारोन्मुख देखिएपनि आवश्यकताअनुरूप भने नभएको स्थिति छ । देशमा केही राष्ट्रियस्तरका क्यान्सर अस्पताल हरू पनि छन् ।   यसैगरी, केही निजी क्षेत्रका राम्रा क्यान्सर अस्पतालले पनि क्यान्सर उपचार सेवालाई सर्वसुलभ बनाउन सहयोग गरेका छन् । यति हुँदाहुँदै पनि ठूलो संख्यामा सेवाग्राही छिमेकी मुलुक भारतका साथै अन्य मुलुकमा क्यान्सर रोग निदान तथा उपचारका लागि जाने गरेका छन् । विरामी विदेश जानु भनेको नेपालमा क्यान्सर उपचारको नतिजा कमजोर देखिनु हो । यसर्थ, नेपालमा क्यान्सर नियन्त्रणको बृहत् एवं दीर्घकालीन योजना अत्यावश्यक देखिन्छ । पाँच लाख जनसंख्याबराबर एउटा रेडियोथेरापी मेसिन चाहिने विश्वव्यापी मान्यतालाई हेर्दा नेपालमा हाल विभिन्न संस्थामा भएका यस्ता मेसिनको संख्या चालू अवस्थामा पाँचवटा लिन्याक र दुईवटा कोवाल्ट मेसिन रहेको देखिन्छ । जुन एकदमै अपर्याप्त हो फेरी ती  मेसीन हरू प्रय बीग्री मर्मत सभारमा ढिलाई हुने देखीन्छ। यसमा प्रयुक्त हुने मानव संसाधन अर्थात् रेडिएसन अन्कोलोजी डाक्टर, मेडिकल फिजिसिस्ट, रेडियोथेरापी टेक्निसियन, बायोमेडिकल इन्जिनियर सबैको संख्या ज्यादै अपुग रहेको छ । भएको जनशक्तिमा पनि अत्याधुनिक प्रविधि र ज्ञानको कमी छ ।
यसैगरी थोरै मात्र विशेषज्ञ चिकित्सक, केही मात्र तालिमप्राप्त नर्स यस क्षेत्रमा रहेकाले सामान्य जनरल मेडिसिनका डाक्टर र नर्सबाट यो सेवा दिइरहेको अवस्था छ । यसो हुँदा क्यान्सरको उपचारमा चाहिने अति सघन खालका उपचार हुन नसक्ने र भएको उपचारको नतिजासमेत गुणस्तरीय नभएको गुनासो छ । पेन एन्ड प्यालिएटिभ केयर, फुट एन्ड न्युट्रेसन थेरापी, रिह्याबिलिटेसन सेवासमेत अझै सर्वसुलभ हुन सकेको देखिँदैन ।

क्यान्सर स्क्रिनिङका कार्यक्रम तहगत रूपमा अनिवार्य रूपले लागू गरी क्यान्सरसम्बन्धी सेवा प्रवाहलाई रणनीतिका रूपमा समायोजन गरेर कार्यक्रम अगाडि बढाउन सके क्यान्सरको प्रकोपबाट जोगिन सकिने थियो ।
क्यान्सरको बढ्दो प्रकोपलाई ध्यानमा राखी रोकथाममूलक कार्यक्रमहरू रणनीतिक रूपमा विद्यालय शिक्षा कार्यक्रम, जनस्वास्थ्य कार्यक्रम, स्वास्थ्यकर्मी अभिमुखीकरण कार्यक्रममार्फत सम्पूर्ण जनमानसमा पुर्याउनुपर्ने देखिन्छ । त्यसैगरी, क्यान्सर स्क्रिनिङका कार्यक्रम तहगत रूपबाटै उपलब्ध गराउँदै सोको प्रयोगका लागि जनमानस तथा स्वास्थ्यकर्मी दुवैलाई जानकारी तथा अभिमुखीकरण गरी अधिकतम प्रयोग गर्नुपर्ने देखिन्छ । हाल अनुभव सँगालेका क्यान्सर अस्पताललाई मानव संसाधन स्रोत केन्द्रका रूपमा विकास गर्न सकिन्छ । यसो गर्न सके विभिन्न तहका क्यान्सर उपचारमा संलग्न हुने प्राविधिक जनशक्तिको उत्पादन देशमै आवश्यकताअनुसार हुन सक्ने र देशमा क्यान्सरको गुणस्तरीय सेवा सर्वसुलभ बनाउन सकिने थियो ।
नयाँ स्वास्थ्य नीतिमा क्यान्सरलगायतका नसर्ने प्रकृतिका रोगहरुको उपचार देशका सबै क्षेत्रमा पुर्याउने लक्ष्य लिएको भएपनि त्यसका लागि गरिनुपर्ने अल्पकालीन र दीर्घकालीन रणनीति तथा कार्यक्रम आउन सकेका छैनन् । आधारभूत सेवामा नै स्वास्थ्य क्षेत्रमा छुट्याइने बजेटको अधिकांश रकम खर्च हुने हुँदा क्यान्सरजस्ता रोगको उपचार सेवा बिस्तार गर्न बजेट अपर्याप्त रहेको छ । पछिल्लो समय क्यान्सरको प्रकोप बढिरहेकोतर्फ वेलैमा सचेत हुन र उपचार तथा निदानका सेवाहरूको विस्तार, सुदृढीकरण गर्न पनि जरुरी छ ।

(यो लेख जानकारीको लागि मात्र हो । यसलाई कुनै पनि डाक्टर वा चिकित्सा पेशेवरको सल्लाहको रूपमा नलिनुहोला। रोग वा संक्रमणको लक्ष्ण देखिएमा डाक्टरसंग अनिवार्य परामर्श लिनुहोला।
लेखक,बिभिन्न संघ,संस्था मा आबद्ध सामाजीक अभीयान्त हुन)

सम्बन्धित समाचार