free website hit counter

व्याजदर घटेपछि लगानीको विकल्प बन्दै ‘जीवन बीमा’

beemaadmin
२०७७ माघ १३, मंगलवार
  • चेतराज श्रेष्ठ

बैंक तथा वित्तीय संस्थाको निक्षेपमा ब्याजदर घटेपछि जीवन बीमा खरिद गर्नेको चाप बढेको छ । बीमा गर्दा जोखिमसंगै बोनस समेत आउने भएपछि जीवन बीमालेख खरिद गरी लगानी गर्नेको संख्या बढ्दै गएको हो ।
न्यून व्याज पाउने भएपछि सर्वसाधारणले बैंकमा राख्ने रकमबाट बीमालेख खरिद गर्न थालेका हुन् । जसले गर्दा विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ काबीच पनि बीमा क्षेत्रको विस्तारमा खासै असर परेको छैन् ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले लामो समयसम्म लकडाउन तथा निषेधाज्ञा जारी गरेपछि सर्वसाधारणको आम्दानीको श्रोत खुम्चिन पुगेको छ । अहिले बल्ल मुलुको अर्थतन्त्रले लय समाउन थालेको छ । कोरोनाको कहरबीच पनि जीवन बीमा कम्पनीहरुको आम्दानीमा निरन्तर सुधार देखिनुले पनि बैंकको निक्षेपमा भएको रकम बीमालेख खरिदमा गएको प्रष्ट हुन्छ । नेपाल लाइफ इन्स्योरेन्सका बरिष्ठ एजेन्सी म्यानेजर बेनुपराज भण्डारी बैंक तथा वित्तीय संस्थाको व्याज घटेपछि बीमालेख खरिद गर्नेहरुको चाप देखिएको बताउँछन् ।

‘अहिले बैंक तथा वित्तीय संस्थाले दिने ब्याज न्यून छ । त्यसैले सर्वसाधारणले बैंक तथा वित्तीय संस्थामा रकम नराखी बीमालेख खरिद गरेको पाइएको छ,’ भक्तपुरको शाखामा कार्यरत उनले भने, ‘कोभिड १९ का बीच पनि जीवन बीमालेख खरिद गर्नेको चाप उस्तै छ ।’
बचत खातामा न्यून व्याज दिने भएपछि त्यस्तो रकम जीवन बीमालेख खरिदमा आउन थालेको उनको बुझाई छ ।
‘बीमालेख खरिद गरेको रकम बचतसंगै जोखिमको समेत कभरेज हुन्छ । ब्याजदर घट्दै जानु र सर्वसाधारणमा बीमाबारे जनचेतना फैलिएपछि बीमालेख बिक्रीको चाप बढेको हो’ उनले भने । त्यसले गर्दा पनि बीमालेख खरिद गर्ने संख्यामा सुधार आउन थालेको उनको भनाई छ ।
बीमा समितिको तथ्यांक अनुसार चालु आर्थिक वर्षका पाँच महिनामा ४९ अर्ब ३० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । त्यस मध्ये १४ अर्ब ९३ करोड रुपैयाँ प्रथम बीमाशुल्क वापत संकलन गरेका हुन् । बैंकले निक्षेपबाट पाउने ब्याजदर घटाएपछि यस अवधीमा मात्रै १५ अर्ब रुपैयाँ बराबरको नयाँ बीमालेख बिक्री भएका छन् ।
यस्तै नेपाल जीवन बीमक संघले पनि बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपको रकम जीवन बीमालेख खरिदमा भित्रिएको हुनसक्ने अनुमान गरेको छ । संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठले जीवन बीमालेख खरिदमा त्यस्तो रकम भित्रिएको हुन सक्ने मेरो लगानीलाई बताए ।
‘कोरोनाको कहरबीच पनि बीमा कम्पनीहरुको विजनेश ग्रोथ राम्रै छ । व्याजदर घटेसंगै सर्वसाधरणको बीमा सचेतनामा समेत बृद्धि भएको छ । जसले गर्दा जीवन बीमा कम्पनीहरुको विजनेशन बढ्दै गएको हो,’ उनले भने ।
तर बैंकको व्याजदर घटेपछि यसले दुबैतिर असर गर्न सक्ने श्रेष्ठको अनुमान छ । व्याजदर घट्दा विजनेश बढेपनि बीमा कम्पनीले अधिकाँस लगानी बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमै लगानी गर्ने हो । त्यसैले यसले बीमा कम्पनीहरुले वितरण गर्ने बोनस दरमा समेत प्रभाव पर्न सक्ने उनको भनाई छ ।
यद्यपी नेपालमा कोरोना भाइरसका कारण पनि सर्वसाधरणमा बीमा गर्नुपर्छ भन्ने कुरा भने सिकाएको श्रेष्ठको बुझाई छ । ‘नेपालमा अझै पनि कोरोनाको असर देखिरहेको छ । सर्वसाधराणको आम्दानी को स्रोत घटिरहेको छ । तर पनि बीमा कम्पनीहरुको विजनेशमा खासै असर गरेको छैन् । यसले सर्वसाधारण बीमा प्रति आकर्षित भएको प्रष्ट हुन्छ,’ उनले भने ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले मुद्धती निक्षेपमा ६ देखि ७ प्रतिशतसम्म र बचत खातामा २ देखि ४ प्रतिशतसम्म निक्षेपकर्तालाई व्याज दिइरहेका छन् । करिब एक वर्ष अघि बैंक तथा वित्तीय संस्थाले दिने व्याज मुद्धती निक्षेमा ८।५० देखि ९।२५ प्रतिशत र बचत खातामा ४ देखि ६ प्रतिशत रहेको थियो । – फेसबुकबाट

सम्बन्धित समाचार