free website hit counter

व्यापार बढाउँदै जीवन बीमा कम्पनी

beemaadmin
२०८१ बैशाख १८, मंगलवार

काठमाण्डौ । नयाँ व्यापार बढाउने भन्दा पनि पुरानो बीमालेख नविकरणकै भरमा जीवन बीमा धानिन सक्ने अवस्था छैन । जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमाससम्म १ खर्ब १० अर्ब ८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । जसमध्ये ८०.४९ प्रतिशत बीमाशुल्क नवीकरणमार्फत संकलन भएको छ । चैत मसान्तसम्म जीवन बीमा कम्पनीले ८८ अर्ब ६१ करोड रुपैयाँ नवीकरबाटै उठाएका छन् । कुल व्यवसायको ८०.४९ प्रतिशत हिस्सा नवीकरणमार्फत संकलन भएको छ, भने बाँकी १९.५१ प्रतिशत व्यवसाय प्रथम बीमाशुल्कमार्फत संकलन भएको छ । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा सुधार देखिन थालेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नवीकरणकै भरमा चलेको जीवन बीमा कम्पनीहरुको व्यवसाय तेस्रो त्रैमाससम्म आईपुग्दा प्रथम बीमाशुल्क आर्जन २।१८ प्रतिशतले वृद्धि भएको छ । चालु आवको चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरुले २१ अर्ब ४६ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् । देशको अर्थतन्त्रमा सामान्य सुधार देखिन थालेपछि नयाँ व्यवसायमा सामान्य सुधार देखिन थालेको बीमकहरु बताउँछन् । गत आवको यसै अवधिसम्म जीवन बीमा कम्पनीहरुले २१ अर्ब ५२ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका थिए । तेस्रो त्रैमाससम्म आईपुग्दा ६ वटा जीवन बीमा कम्पनीको नयाँ व्यवसायमा सुधार देखिएको छ भने ८ वटा बीमकको व्यवसाय गत आवको तुलनामा घट्न पुगेको छ । चैत मसान्तसम्म सर्वाधिक नयाँ व्यवसाय भित्राउनेमा नेपाल लाइफ रहेको छ । कम्पनीले सो अवधिसम्म ४ अर्ब ८१ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, नेशनल लाइफले पनि ३ अर्ब २२ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेर दोस्रो स्थान कायम गर्न सफल भएको छ । चौथोमा हिमालयन लाइफले १ अर्ब ६४ करोड, सुर्यज्योति लाइफले १ अर्ब ५५ करोड, एलआइसी नेपाललले १ अर्ब ५० करोड, सिटिजन लाइफले १ अर्ब २९ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ ।
गत आवको तुलनामा यस अवधिसम्म आधा जसो बीमा कम्पनीको नयाँ व्यवसाय बढेको छ, भने आधा जसो कम्पनीको घटेको छ । सर्वाधिक नयाँ व्यवसाय बढाउनमा नेशनल लाइफ अब्बल देखिएको छ । गत आवको तेस्रो त्रैमाससम्म २ अर्ब ६२ करोड रपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको कम्पनीले चालु आवको यस अवधिसम्म २३.२० प्रतिशतले बढाएर ३ अर्ब २२ करोड रुपैयाँ प्रिमियम नयाँ व्यवसायमार्फत भित्राएको छ । त्यस्तै, नेपाल लाइफको १८.५० प्रतिशत, एशियन लाइफको १५.३७ प्रतिशत, आइएमई लाइफको ७.३५ प्रतिशत, मेट लाइफको ४.३३ प्रतिशत र सिटिजन लाइफको १.१० प्रतिशतले नयाँ व्यवसाय बढेको छ । त्यस्तै, सर्वाधिक घट्नेमा सन नेपाल लाइफ रहेको छ । कम्पनीको नयाँ व्यवसाय गत आवको तुलनामा २३.४१ प्रतिशतले घट्न पुगेको छ । त्यस्तै, प्रभु महालक्ष्मी लाइफको २१.०८ प्रतिशत, सुर्यज्योति लाइफको १७.२४ प्रतिशत, एलआइसी नेपालको ८.७० प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको ८.९८ प्रतिशत, हिमालयन लाइफको ७.५० प्रतिशत, रिलायबल नेपाल लाइफको ६.०२ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.२६ प्रतिशतले व्यवसाय खस्किएको छ ।

सम्बन्धित समाचार