कोभिड–१९ सङ्क्रमणबाट जाेगिन गरिएको लकडाउनका कारण लामो समयदेखि बन्द नेपाली सेयर बजार कहिले खुल्ने हो अझै अनिश्चित नै बनेको छ । बजार यथाअवस्थामा खोल्न ढिलो गर्नुहुँदैन भन्ने र बजारमा राहत र सुधारका कदमहरू चाले पछिमात्र खोल्नुपर्छ भन्ने मत बाँझिएको छ । मुलुकमा भएको राजनीतिक सस्कारको असर बजारमा पनि देखिएको छ । सेयर लगानीकर्ताहरूको नेतृत्व गर्ने संघ संगठन मात्र पाँच भएको वर्तमान अवस्थामा सबैलाई समेटेर बजार सुरु गर्छु भन्नु बालुवा निचोरेर तेल निकाल्छु भन्नु झै हो । बजार सञ्चालन गर्ने वा नगर्ने बोल्ड निर्णय धितोपत्र बोर्डले अर्थमन्त्रालयको समन्वयमा नेप्सेलाई निर्देशन दिएर गर्ने हो । सेयर बजारको सुधारका बारेमा लगानीकर्ता, ब्रोकर, बैंकहरू जस्ता सस्थाहरूले बारम्बार दिदै आएको सल्लाह सुझावमध्ये उपयुक्त लागेको कुराहरू निरन्तर सुधार गर्दै लानुपर्छ भन्ने कुरामा शङ्का छैन । विश्वभरमा नै आएको माहामारीको समस्याका कारण बजार सरकारी निर्णयसँग निश्चित अवधि जनस्वास्थ्यलाई ध्यानमा राख्दै गरिएको लकडाउन हुँदाको अवस्थामा नखुल्नु स्वभाविक नै हो । तर अब के बजार खोल्न बोर्डले लगानीकर्ता संघहरूको इसारा र मञ्जुरीमा खोल्ने हो कि आफै निर्णय गर्ने हो ? के लगानीकर्ताको संघहरूले बजार सञ्चालन गर्ने हो ।
कोभिडका कारण मुलुकको अर्थतन्त्रमा आएको शिथिलताका कारण सरकार नै आफ्नो खर्च धान्न नसक्ने अवस्थामा पुगेको अवस्था अहिले । बजेट आइसक्यो त्यसमा खासै सेयर बजारका लागि राहतका कार्यक्रम आएन । सरकारको हालको प्राथमिकता भनेको कोभिड नियन्त्रण, स्वास्थ्य पूर्वाधार र जनशक्ति निर्माण, कृषि, शिक्षा र रोजगारी सिर्जना नै प्राथमिकतामा परेको छ । बजारको लागि सक्ने राहतको व्यवस्था नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति मार्फत खोज्ने प्रयास जारी राख्न सकिन्छ । तर बजार बन्द गराइराख्नुको अर्थ के हो सो भने बुझन सकिएको छैन । बजार सञ्चालन गर्ने जिम्मा कस्तो हो ? प्रश्न उठेको छ । नेपाल पनि अन्तराष्ट्रिय सेयर बजारहरूको सञ्जालमा आवध्द भएको अवस्थामा त्यसको मूल्य मान्यतालाई नै नकार्दै लामो समयसम्म बजार बन्द गर्नुको अर्थ के हो ? बजार सुधारका कार्यक्रमहरू समावेश भएन भनेर एक हप्ता थप रुकावत भएको हालको सन्दर्भमा नयाँ प्रश्न खडा भएको छ । के लकडाउनको ८६ दिनमा नभएको काम अब एक हप्तामा हुन्छ त ? लगानीकर्ताले बुझनुपर्ने विषय के हो भने अर्थतन्त्र शिथिल भएको अवस्थामा बजार खुलेपश्चात् केही अङ्क अवश्य पनि घट्छ । अनि सेयर बजार सुधारका कार्यक्रमहरू लगानीकर्ताको मनोबल उकास्ने नयाँ नयाँ कार्यक्रमहरू मर्फत धेरै अङ्कको गिरावट आउन नदिएर पुन बजार सुधारको दिशातर्फ उन्मुख गराउनुको विकल्प छैन ।
बजार नखुल्दा बोर्ड र नेप्सेलाई खासै असर पर्दैन । उनीहरू सुधारका कार्यमा तल्लीन भएर लाग्ने पनि छैनन । सरकारलाई पनि खासै फरक पर्दैन । बजार बन्द हुँदा फरक पर्ने भनेको लगानीकर्तालाई नै हो । त्यसैगरी सेयर ब्रोकरहरू कारोबार गर्न नपाएर निराश हुन सक्छन । घरभाडा, कार्यालयका खर्च, कर्मचारीको सेवा सुविधा भुक्तानी गर्नुपर्ने तर कारोबार नहुँदा आम्दानी नहुने अवस्था अब धेरै लम्ब्याउनु उपयुक्त हुँदैन । सरकारलाई नै राहत चाहिएको जस्तो अवस्थाको मूल्याङकन हाल लकडाउनमा पनि राजश्व उठाउनका पाउनुपर्ने माग सहित सरकार सर्वोच्चमा गएकोले नै स्पस्ट भएको अवस्थामा राहत खोज्नेभन्दा पनि बजार खोलेर सुधारका कार्यक्रम अघि बढाउनु नै बेस हुन्छ ।
विश्वमा पुँजीबजारलाई अर्थतन्त्रको ऐना मानिन्छ नेपालमा अर्थतन्त्र सामान्य रुपमा चलाएमान हुन थालेको अवस्थामा अब बजार खोल्न ढिलो गर्नु हुँदैन । विश्वका सबै सेयर बजार खुलेको अवस्थामा पनि नेपालमा भने बन्द हुनु दुभाग्यपूर्ण हो । लगानीकर्ताले बजार सुधारका लागि राखेको सबै माग गलत छन भन्ने कतै होइन त्यसमा धेरै काम गर्न बाँकी छ अनि त्यसको लागि निरन्तर दवाव भने जरुरी छ । तर बजार बन्द गरेर होइन खेलेर नै दवाब बढाउनुपर्छ ।
नेपालमा सेयर बजार सञ्चालनका लागि नियामक निकायहरूको अदक्षता र दूरदृष्टिको अभावका कारण समस्या निम्तिएको हो । बजार पूर्ण रुपमा सञ्चालन हुनका लागि एकीकृत प्रणालीकाद्वारा ट्रेडिङ, सेटलमेन्ट र पे–इन तथा पे–आउट सम्बन्धी सम्पूर्ण प्रक्रिया संचालन अघि बढनुपर्छ जसले आगामी दिनहरूमा कुनै अवस्थामा बजार बन्द गर्न नपरोस ।
कोभिड–१९ ले व्यक्तिगत र सस्थागत आर्थिक स्थिति पनि नाजुक बनेको वर्तमान अवस्थामा नाफा घाटाको कुराभन्दा पनि आफूसँग भएको सेयर विक्री गर्दै गर्जो टार्नबाट बञ्चित हुने अवस्था अब धेरै दिन नेपालमा कायम हुने हो भने नेपाली सेयर बजारमा समयमा सम्पक्ति तरल गर्न सकिन्छ र नाफा कमाउन सकिन्छ भनेर सेयर बजारमा लगानी गर्ने विश्वासमा कमी आउन सक्छ । लगानीकर्तामा पुँजीबजारप्रतिको विश्वास गुम्न सक्ने खतरा उत्पन्न भइसकेको छ । बजार नखोलौ, घट्छ भन्ने तर्ककै कारण लगानीकर्ताको सेयर विक्री गरेर तरलता गर्ने अधिकार बञ्चित गर्ने अनि बजार सञ्चालन गर्नुपर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) र धितोपत्र बोर्ड (सेबोन) जस्ता सरकारी निकायहरू आफ्नो कर्तब्यबाट हट्ने हो भने कस्लाई विश्वास गर्ने ।
बजारलाई अन्तराष्ट्रिय मापदण्ड अनुरुप नयाँ नयाँ प्रविधिको प्रयोग मार्फत सुधार गर्दै अघि बढनुपर्छ भन्ने कुरामा दुविधा छैन । लगानीकर्ताका मागहरू नजायत छैनन । लगानीकर्ताले बजार घढाउ वा बढाउ भनेका पनि छैनन । सुधारका कार्यक्रमहरू सञ्चालनका लागि अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक,सेवोन र नेप्सेले विगतमा गरेको प्रतिवद्धता पुरा गर मात्र भनेको हो । तसर्थ बजार सुधारका लागि आ–आफ्नो निकायबाट गर्नुपर्ने काम बजार खुले पश्चात् टार्ने कुरासँग भने सहमत हुन सकिँदैन । लगानीकर्ताले आफूले राखेका मागहरूको कार्यान्वयका लागि निरन्तर दवाव भने बढाउनु जरुरी छ ।