गणेश गौतम
काठमाडौं । नेपालमा विदेशी लगानी भित्राउने कुरा चर्चामा आइरहने विषय भए तापनि नेपालीले विदेशमा लगानीग गर्न पाउने व्यवस्था छैन । नेपाली व्यवसायिले औपचारिक रुपमा विदेशमा लगानी गर्नु गैरकानुनी मानिदै आए तापनि गैरआवासीय नेपाली वा अन्य कुनै माध्यमबाट नेपालीहरुको विदेशमा लगानी पर्याप्त नै रहेको छ ।
वीरगंज उद्योग वाणिज्य संघले आयोजना गरेको एक कार्यक्रममा नेपालका लागि श्रीलंकाकी राजदूत स्वर्ण परेराले नेपाली व्यवसायिहरुलाई आफ्नो देशमा ढुवानी, शिक्षा, होटल तथा पयर्टन, कृषि, रियलस्टेट जस्ता क्षेत्रमा लगानी गर्न आग्रह गर्नुले अब नेपालले पनि औपचारिक रुपमा विदेशमा लगानी गर्ने बाटो खुलाउनुपर्ने दवाव सिर्जना हुन थालेको छ ।
श्रीलंकामा सेप्टेम्बर १६ र १७ तारिखमा कोलम्बो बिजनेश कनक्लेभमा हुने भएको र आफ्नो मुलुकमा लगानी गर्न चाहने लगानीकर्ताले साझै राजदूतावासमा सिधा सम्पर्क राख्न वा सिलोन चेम्बर अफ कमर्शसँग सहकार्यका लागि आब्हान समेत गरिएको छ ।
श्रीलंकाबाट नेपालमा ठूलै लगानी हुने गरेको र पर्यटकीय गतिविधि अन्तर्गत पनि दुईदेशबीच सम्वन्ध सुधार हुँदै आएको सन्दर्भमा श्रीलंकामा लगानीको सम्भावना राम्रो हुनसक्ने तर त्यसका लागि नेपालमा औपचारिक रुपमा देखिएको व्यवधान हटाउनका लागि पहल गर्नुपर्ने बेला आएको विज्ञहरु बताउँछन् ।
भारत र श्रीलंकाबीच भन्सार शुल्क नलाग्ने व्यवस्था रहेको अवस्थामा नेपालबाट श्रीलंका निकाशी हुने वस्तुमा पनि भन्सार शुल्क नलाग्ने व्यवस्था भए राम्रो हुने नेपाली व्यवसायिहरुको माग रहदै आएको छ ।
पर्यटकीय दृष्टिकोणले सुन्दर सामुद्रिक क्षेत्रमा रम्न चाहनेले श्रीलंकाको भ्रमण रुचाउने गरेको पाइन्छ जसमा गत बर्षको तथ्याङ्कमा नेपालबाट श्रीलंका घुम्न जाने पर्यटकको सङ्ख्या पाँच् हजारको हाराहारीमा रहेको छ भने श्रीलंकाबाट ७० हजारभन्दा बढीले नेपाल भ्रमण गरेको पाइन्छ ।
(लेखक कम्प्युटर तथा इलेक्ट्रिकल इञ्जिनियर हुनुहुन्छ)