free website hit counter

सँगै सुतेका श्रीमानले परस्त्रीसँग कुरा गरेपछि…..

beemaadmin
२०७९ भाद्र ६, सोमबार

काठमाडौं । भनिन्छ, आगोको बिउ र झगडाको निहुँ ठूलो चाहिँदैन । बागलुङको निसीखोला गाउँपालिका ५का तुलबहादुर विकको हत्या उनकै पत्नीले गरेको खुलासा भएको छ। भदौ १ गते निसीखोलामा टाउको काटिएको अवस्थामा एक पुरुषको शव फेला परेको थियो। तत्काल पहिचान हुन सकेको थिएन्। हातमा रहेको ट्याटुका कारण शवको पहिचान भएसँगै प्रहरीले हत्याराको अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा तुलबहादुरकी पत्नी २२ वर्षीया कुमारी कामीले नै हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डीएसपी इन्द्र रानाले जानकारी दिए।
रानाका अनुसार घटना हुँदा सँगै रहेकी कुमारीकी बहिनी १८ वर्षीया मनिसालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनको संलग्नता बारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। आइतबार अभियुक्त सार्वजनिक गर्दै प्रहरीले हत्याको कारण सामान्य विवाद रहेको जानकारी दिएको हो। तुलबहादुर वैदेशिक रोजगारीमा जाने तयारीमा थिए। डीएसपी रानाका अनुसार विक साउन २४ गते वैदेशिक रोजगारीका लागि प्रक्रिया गरेर घर फर्किएका थिए।
घर फर्किएको भोलिपल्टै परिवारमा खटपट देखिएको थियो। २५ गते गाउँमै साथीहरुसँग रक्सी खाए। ‘आफ्नो गोजीमा साढे २ सय मात्रै भएपछि घर फर्किएर श्रीमतीको ५० रुपैयाँ र सालीको एक सय ५० रुपैयाँ पनि लगेछन्’, डीएसपी राना भन्छन्, ‘रक्सी खाएर घर फर्किएपछि उनीहरुको झगडा सुरु हुन्छ।’ तुलबहादुरले भोलिपल्ट ढोरपाटन मेलामा जाने योजना साथीहरुसँग बनाएका थिए। सुरुमा पत्नी कुमारीले पनि सोधपुछको क्रममा पती ढोरपाटन मेला जान्छु भनेर हिँडेको बताएकी थिइन्। त्यसपछि प्रहरीले तुलबहादुरको कल डिटेल र सामाजिक सञ्जालको अनुसन्धान गर्न थाल्यो। ‘तुलबहादुरले केही महिलाहरुसँग कुरा गरेको देखियो। प्रहरीको अनुसन्धान त्यतातिर पनि केन्द्रीत थियो’, डीएसपी रानाले भने, ‘तर हामीले शंका गरेको व्यक्ति घटना हुँदा अर्कै जिल्लामा रहेको देखियो।’
घटना भएको रात तुलबहादुरले कुरा गरेकी महिला नुवाकोटकी थिइन्। त्यसपछि प्रहरीले सोही घरमा बसेकी साली मनिसामा अनुसन्धान केन्द्रीत ग¥यो। सुरुमा त मनिसाले घटनाबारे केही पनि जानकारी नभएको बताइन्। शनिबार प्रहरीले मनिसालाई नियन्त्रणमा लिएर सोधपुछ थाल्यो। प्रहरीले तीन घण्टाको सोधपुछ पछि मनिसा गलिन् र घटना बारे जानकारी दिइन्। उनले सोधपुछका क्रममा भनिन्, ‘त्यसरात भिनाजु मातेर आएपछि छोरीलाई पिट्नु भयो। उहाँलाई मैले नै माथिल्लो तलामा लगेर सुताएको थिएँ। तर ११ बजे राति दिदी रगताम्य खुकुरी लिएर म भए ठाउँमा आउनु भएको थियो।’
दिदी बहिनीलाई छुट्टा छुट्टै राखेर सोधपुछ गरेपछि मात्रै घटनाको रहस्य खुलेको थियो। मनिसाको बयान अनुसार कुमारीले आफूले भिनाजुलाई मारेको बताइन्। उनले किन मारेको भन्दा आफूलाई प्रस्ट नभनेको मनिसाको भनाई छ। घटनाको आशंकामा प्रहरीले कुमारीलाई पनि इलाका प्रहरी कार्यालय बुर्तिबाङमा लगेको थियो। पतीको हत्यापछि घटना लुकाउन कुमारीले घरमा लतपतिएको रगत मेटाइन्। सबै प्रमाणहरु लुकाउने कोसिस गरिन्। तर, बहिनीले पोल खोलेको उनले पत्तै पाइनन्।
मनिसाको बयानपछि प्रहरीले कुमारीबाटै थप प्रमाण जुटायो। हत्यामा प्रयोग भएको घन र खुकुरी पनि कुमारीले नै देखाए ठाउँबाट प्रहरीले बरामद गरेको छ। कुमारीले पछि हत्या स्वीकार गर्दै हत्याको कारण पतिले परस्त्रीको कुरा गरेका कारण भएको बताएकी छन्। घटनाअघि पतीले अन्य केटीहरुको नाम लिँदै आफूलाई घृणा गरेको कुमारीको भनाई छ। आफूलाई पहिले देखिनै घृणा गर्ने र अन्य युवतीको चर्चा गर्ने गरेको उनले प्रहरीलाई बताएकी छन्। भोलिपल्ट ढोरपाटन जाँदा ‘अन्य केटीहरुसँग जान्छु’ भनेको उनले सुनाएकी छन्।
सुरुमा घनले हानेको र पछि चिर्पट प्रहार गरेको उनले बताएकी छन्। हत्यापछि उनले पतीको टाउको छिनाएर डोकोमा लगेर खोलामा फालेको बयान दिएकी छन्। शव फाल्न मनिसाले सहयोग गरेको हुनसक्ने प्रहरीको शंका छ। त्यत्रो घटना हुँदा पनि मनिसाले थाहा नपाएको भन्ने विश्वास गर्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ। उनीहरुको बिबाह भएको ६ वर्ष भएको छ। २ वर्षकी एक छोरी छन्। पक्राउ परेका दुवैजनाविरुद्ध जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरेको छ।

सम्बन्धित समाचार