free website hit counter

संक्रमित शव व्यवस्थापनमा भद्रगोल, कहिलेसम्म ताल्चा तोड्दै हिंड्ने ?

beemaadmin
२०७७ जेष्ठ १७, शनिबार

काठमाडौँ । सरकार कोरोना संक्रमणको उपचारदेखि सम्पूर्ण तयारीमा पूर्ण तयार भएको बताइरहँदा शव व्यवस्थापनमा देखिएको महाभारत भने लाजमर्दो छ । आफन्त गुमाउनुपर्दाको पीडामा रहेका परिवार शव व्यवस्थापनमा देखिएको लाजमर्दो अवस्थाले झन् पीडित बन्ने गरेका छन् । कलेजो रोगका बिरामी ५६ वर्षीय पुरुषको बुधबार साँझ ललितपुरको किस्ट मेडिकल कलेजमा मृत्यु भयो । कोरोनाकै कारण मृत्यु भएको रिपोर्ट आएपछि शवको व्यवस्थापन कसरी गर्ने भन्ने अन्योलका कारण शव रातभर अस्पतालमै रह्यो । भोलिपल्ट पनि दिनभरि शव उठेन । बिहीबार पौने ५ बजे बल्ल शव अस्पतालबाट निकालियो । राजदल गणका कर्णेल उत्तम सापकोटा र महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माको टोलीले शव एस्कर्टिङ गरेर ६ बजे पशुपतिस्थित विद्युतीय शवदाह गृहमा पुर्‍यायो । तर, शवदाह गृहमा ताल्चा लगाइएको थियो । साँझ ७ बजेसम्म ड्युटी गर्नुपर्ने कर्मचारी कोरोनाले मृत्यु भएका व्यक्तिको शव ल्याउने खबर पाएपछि ६ बजेअघि नै ताल्चा लगाएर निस्किसकेका थिए । कर्णेल सापकोटाले पशुपति विकास कोषका पदाधिकारी र कर्मचारीसँग समन्वय गरेर शव लगेका थिए । प्रहरीको समन्वयमा पशुपति विकास कोषका पदाधिकारीलाई बोलाइयो । कोषका सदस्यसचिव प्रदीप ढकालसहितको टोली आत्तिँदै आइपुग्यो । उनीहरू आउँदासम्म कोरोना संक्रमित पुरुषको शवलाई सेना र प्रहरीले सुरक्षा दिएर राखेको थियो । सदस्यसचिव ढकालले पशुपतिस्थित किरियापुत्री घरमै क्वारेन्टाइनमा बसेका अर्जुन खड्का र पूर्णबहादुर कार्कीलाई बोलाएर शव अन्त्येष्टि गराएका हुन् । कर्मचारी व्यवस्थापन गर्न ढिलाइ भएपछि साढे ७ बजे मात्रै ती पुरुषको शव विद्युतीय शवदाह गृहमा हालिएको थियो । शव अन्त्येष्टि गर्न डराएर भाग्ने चार जनालाई स्पष्टीकरण सोधिसकेको सदस्यसचिव ढकालले बताए । यसमा शाखा अधिकृत, खरिदार, इलेक्ट्रिसियन र कार्यालय सहयोगी छन् ।
विद्युतीय शवदाह गृहको समस्या एकातिर छ अर्काेतिर शववाहनको समस्या पनि उस्तै छ । शव लैजान प्रहरीले उपत्यकाका सबैजसो शव वाहन चालकलाई फोन गरे तर कसैले मानेनन् । भक्तपुरबाट गाडी ल्याएर संक्रमितको शव पशुपति पठाइएको थियो । यसअघि भक्तपुर प्रहरी र सेनाले निजी गाडीलाई कोरोना संक्रमित बिरामी र मृत्यु भएको शव ओसार्ने गरी ‘मोडिफाई’ गरेको थियो । पशुपति विकास कोषले पनि भक्तपुरको वीरदल गणलाई भाडाको ट्रकलाई उपत्यकामा कोरोनाले मृत्यु भएकाको शव बोक्न मिल्ने गरी मोडिफाई गर्न दिएको थियो । यही ट्रकमा ती पुरुषको शव ल्याइएको हो । मोडिफाईको काम बाँकी छँदै ती पुरुषको शव लगिएको हो । कोरोना पुष्टि भएकाको शव व्यवस्थापनमा समस्या भएको यसपटक मात्रै होइन, काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको शव व्यवस्थापनमा पनि उस्तै सकस परेको थियो । ती महिलाको शव पशुपतिको विद्युतीय शव दाहगृहमा व्यवस्थापन गर्ने निर्णय भए पनि शव वाहन पाइएको थिएन । भक्तपुर प्रहरी र सेनाले व्यवस्था गरेकै गाडीमा स्काउटका दुई युवा गएर ती महिलाको शव पशुपति ल्याइएको थियो । यी दुई जनालाई महिलाका श्रीमान् र धुलिखेल अस्पतालका सफाइ कर्मचारी सुमन नापितले सहयोग गरेका थिए । त्यस्तै बाँकेमा मृत्यु भएका युवाको शव व्यवस्थापन भने डोजरले उठाएर लगेर पुरिएको थियो । बुटवलमा मृत्यु भएका गुल्मीका पुरुषको शव पनि कसले कसरी भन्ने दुई दिनसम्म रह्यो । उनको शव पनि सेनाका दुई जनाले व्यवस्थापन गरेका थिए ।
सरकारले कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरूका शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि, २०७६ बनाएको छ ।कार्यविधिअनुसार शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पुर्‍याउनुपर्छ । शव लिन जानुपूर्व शव वाहनका चालक तथा कर्मचारीले पीपीई प्रयोग गर्नुपर्दछ । शवलाई अस्पताल वा घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सद्गत गर्ने व्यक्तिहरू र सद्गतमा सहभागी हुने मृतकका आफन्तजनले पन्जा, चस्मा, टोपी, मास्कसहितको पीपीईको प्रयोग गर्नुपर्छ । शवलाई कमभन्दा कम व्यक्तिले मात्रै छुने र शवमा लागेका पाइप, केथेटरलगायतका सामग्री हटाउनुपर्छ । शवको कुनै भागबाट रगत बगेको भए त्यस भागलाई होसियारीपूर्वक बन्द गरेर सुरक्षित हुनुपर्छ ।

सम्बन्धित समाचार