काठमाडौं । सगरमाथा इन्स्योरेन्सर लुम्बिनी जनरल इन्स्योरेन्सले आज फागुन २९ गतेदेखि एकीकृत कारोबार थाल्दैछन् । आज सोमवार साँझ एक कार्यक्रम आयोजना गरी दुई कम्पनीले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार गर्ने भएको हो । दुबै कम्पनीको फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो । यस्तै नेपाल बीमा प्राधिकरणले फागुन १६ गते, नेपाल धितोपत्र बोर्डले फागुन २३ गते मर्जर सम्बन्धी अन्तिम स्वीकृति प्रदान गरेको थियो । मर्जर पश्चात बन्ने सगरमाथा लुम्बिनी इन्स्योरेन्सको केन्द्रिय कार्यालय काठमाडौं महानगरपालिकाको वडां। १ नक्सालमा रहनेछ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर आदान प्रदान अनुपात क्रमश १००ः८० कायम रहने गरी मर्जर सम्बन्धी सम्झौता भएको थियो । साथै दुवै कम्पनीको आव २०७८–७९ को वित्तीय विवरण अनुसार प्रस्तावित बोनस शेयर वितरण पश्चात स्वाप रेशियो गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ पुग्नेछ । मर्जर पश्चात बन्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सञ्चालक समितिमा दुवै कम्पनीको तर्फबाट ३–३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् भने सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्सका तर्फबाट हालका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री रहनेछन् ।