free website hit counter

सञ्चयकोषको लगानी ४ खर्ब ३६ अर्ब ५४ करोड

beemaadmin
२०७८ भाद्र ३१, बिहीबार

काठमाण्डौ । कर्मचारी सञ्चय कोषको ६० औँ वार्षिकोत्सव समारोहको भर्चुअल रुपमा मनाइयो । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री शर्माले कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजनाहरु उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताए । सञ्चयकर्ताहरुको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ, जसले राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुर्याउँछ, उनले भने, उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सिर्जना गर्छ र व्यापार घाटा कम गर्न सहयोग गर्छ। शर्माले सञ्चयकर्ताहरुको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्नेमा जोड दिए। उनले कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाई सञ्चयकर्ताहरुका लागि सहज वातावरण सिर्जना गर्नुपर्ने धारणा राखे।
सञ्चय कोषको कुल लगानी आर्थिक वर्ष २०७७÷७८ सम्म ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ। हाल सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ। निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड छ। कोषको दायित्व ४ अर्ब ६७ करोड रहेको छ। सामाजिक सुरक्षा योजनाअन्तर्गत कोषले सञ्चयकर्ताहरुका लागि ७ हजार ५ सयका दरले २ पटकसम्म प्रसुती खर्च उपलब्ध गराउँछ। यस्तै सञ्चयकर्ताको सेवाकालमा दुर्घटनामा परी मृत्यु वा पूर्ण अंगभंग भएमा रु २ लाख प्रदान गर्दछ। सञ्चयकर्ताको सेवाकालमा मृत्यु भएमा हकवालालाई एकमुष्ट रु ४० हजार काजकिरिया खर्च उपलब्ध गराउँछ।
यसैगरी कोषले सामान्य औषधोपचारको हकमा रु. १ लाख तथा घातक रोगको हकमा रु. १० लाखसम्मको उपचार खर्च सोधभर्ना गर्ने गरेको छ। विसं २०१९ साल भदौ १९ गते कोषको स्थापना हुनुभन्दा अगाडि विसं १९९१ मा सैनिक द्रव्य कोष, विसं २००१ मा निजामती प्रोभिडेन्ट फन्ड र विसं २०१७ मा सञ्चयकोष विभागको नाममा यसको कामकारबाही सञ्चालन गरिएको थियो।

सम्बन्धित समाचार