free website hit counter

सञ्चारगृह बाहिर शंकास्पद सवारी राखिएको घटनाको रास्वपाद्वारा भर्त्सना

beemaadmin
२०८३ असार ३०, मंगलवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकार र सुरक्षा निकायसँग माग गरेको छ।

रास्वपाका महामन्त्री विपिन आचार्यद्वारा जारी विज्ञप्तिमा प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यले गरिएका यस्ता गतिविधिको भर्त्सना गर्दै संलग्न व्यक्तिको तत्काल पहिचान गरी कानुनबमोजिम कारबाही गर्न आग्रह गरिएको छ।

विज्ञप्तिमा सञ्चारमाध्यम र सञ्चारकर्मीको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार, गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने उल्लेख गरिएको छ।

रास्वपाले राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चार माध्यममाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने वा निर्भीक पत्रकारितामा अवरोध पुर्‍याउने कुनै पनि गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता र प्रेस स्वतन्त्रताको प्रतिकूल रहेको जनाएको छ।

पार्टीले आफू लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, पूर्ण प्रेस स्वतन्त्रता तथा नागरिकको सुसूचित हुने मौलिक अधिकारको पक्षमा दृढ रहेको उल्लेख गर्दै सञ्चार क्षेत्रलाई त्रासमा पार्ने कुनै पनि प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारेको छ।

रास्वपाले सञ्चारमाध्यमलाई कुनै पनि दबाब वा त्रासको प्रभावमा नपरी तथ्यमा आधारित पत्रकारिता जारी राख्न आग्रह गर्दै सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा तथा प्रेस स्वतन्त्रताको पक्षमा सदैव उभिने प्रतिबद्धता पनि दोहोराएको छ।

सम्बन्धित समाचार