free website hit counter

सन्निकट निर्वाचनमा मतदाता र दलको भूमिका

beemaadmin
२०७८ फाल्गुन २८, शनिबार

आवधिक निर्वाचनमा मतदाताको भूमिका ठूलो हुन्छ। निर्वाचनको यज्ञमा होमिने राजनीतिक दलले प्रस्ताव गरेका नीति तथा कार्यक्रमलाई आधार मानेर मतदाताले आफ्ना प्रतिनिधि छनौट गर्छन् र सो निर्वाचित अवधी भित्र कुन दलले गरेको काम सन्तोषजनक हुन्छ त्यसलाई पुनः दोहोर्याउछन् र सन्तोष दिन नसकेको राजनीतिक दललाई पाखा लगाउछन्, यो नै आवधिक निर्वाचनको मान्यता हो।

मतदाताहरूले दल र तिनका उम्मेद्वारको मूल्यांकन गर्ने तरीका यही हो। त्यसै गरी दल र तिनका उम्मेद्वारले मतदाता समक्ष प्रस्तुत हुदा विगतमा गरेका काम र भविष्यमा गरिने कामलाई आधार मानेर उभिनु पर्ने हुन्छ यो नै निर्वाचनको मर्म हो। हाम्रो देशमा यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुदै छ। ७५३ स्थानीय तहमा हुन गै रहेको निर्वाचनमा सहभागी हुन करीव ८० दलहरू निर्वाचन आयोगमा दर्ता भएका छन्।

यो चुनाव आफ्नो निर्धारित अवधि समाप्त भएका कारणले मात्र हुन गै रहेको छ कि स्थानीय तहको आवश्यकतालाई सम्बोधन हुने गरी हुन गै रहेको छ भन्ने तर्फ समीक्षा गर्न जरूरी छ। आवधिक निर्वाचन भनेको निर्धारित अवधी ब्यतित भए पछि अनिवार्य रूपले गर्नै पर्ने हुन्छ र यो वा त्यो बहानामा यसको बिकल्प खोज्न सकिदैन, त्यसैले यो निर्वाचन गर्न कै लागि गरिएको हो भन्न पनि सकिन्छ तर यस बीचमा निर्वाचित प्रतिनिधिले सार्वजनिक सेवा लगायत विकास निर्माणका कामहरू पनि सम्पादन गरेकै हुनु पर्छ।

हाम्रो देशको परिप्रेक्ष्यमा चुनावमा जाने उम्मेद्वारलाई सो पार्टीका कार्यकर्ताले कृत्रिम रूपमा सिंगारेर मतदाता समक्ष प्रस्तुत गर्ने र मतदाताले पनि आफ्नो पार्टीले तोकेका उम्मेद्वारलाई अन्ध भक्त भएर मतदान गर्ने चलन रही आएको छ। प्रायः मतदाताहरू आफ्नो पार्टीका रवर स्ट्याम्प भई दिनाले सही ब्यक्ति छान्ने जिम्मा मतदाताको नभएर पार्टीको हुने गरेको पाईन्छ। पार्टीले उम्मेद्वार दिदा आफ्नो मान्छे वा आफ्नो गुटको मान्छे हेर्ने, ईमान्दार र लोक प्रीयलाई भन्दा पार्टीलाई सहयोग र सुभेच्छा राख्ने ब्यक्तिलाई उम्मेद्वार बनाउने चलन देखिएको छ। मतदाताहरू पनि सानो तिनो प्रलोभनमा फसेर सही र ईमान्दार ब्यक्तिलाई पाखा लगाउने गरेको सुनिन आएको पाईन्छ। राजनीतिक दलहरूले मतदातालाई प्रभावमा पार्न बिभिन्न हत्कण्डाहरू प्रयोग गर्न सक्छन्। भन्ने बेलामा जनतालाई जनार्दन पनि भन्न पछि पर्दैनन् तर निर्वाचनमा मतदातालाई जसरी पनि प्रयोग गर्न सकिन्छ भन्ने सोच राखेका हुन्छन्। हाम्रा राजनीतिक दलहरू मध्ये वाम पन्थी दलहरूको पहिचान गर्न मतदाताले सकेका छैनन्। यिनीहरूको चरीत्र दोहोरो देखिने गरेको छ।

दोहोरो किन पनि देखिन्छ भने समयले मागेको प्रजातन्त्र र मानव अधिकार मान्न पनि पर्ने र समय संगै हराउदै गएको साम्यवादलाई छोड्न पनि नसक्ने प्रवृत्ति यिनीहरूमा रहेको पाईन्छ। यसैले प्रजातन्त्र्त, मानव अधिकार र सुशासनको विषयको मुद्दामा यिनीहरू सडक र सदन दुवै तिर देखिन्छन्। त्यसै गरी यिनीहरूमा सत्तामा पुगे पछि त्यहाबाट बाहिरिन नजान्ने प्रवृत्ति पनि हावी छ। त्यस्तै गरी यिनीहरूको परराष्ट्र नीति असंलग्न हैन आफूमा विचार र दर्शन नभए पनि साम्यवादी मूलुक तर्फ संलग्न देखिन्छन्। जसरी परीक्षाको दुरूपयोग गरिन्छ त्यसरी नै निर्वाचनको दुरूपयोग गर्न मरी हत्ते पनि गर्छन्।

यस्ता प्रवृत्ति र पात्रहरू संसदीय प्रजातान्त्रिक ब्यबस्थामा हुने निर्वाचनमा सहभागी हुन गै रहेका छन्। यस्ता विचार र भावना बोकेका पार्टी संग प्रजातन्त्र , मानव अधिकार, न्यायीक स्वतन्त्रता, पारदर्शिता र कानूनको शासन उपर मान्यता र सदासयता राख्ने पार्टी नेपाली कांग्रेस निर्वाचनमा प्रतिस्पर्धा गर्दै छ। उसले आफ्नो मार्ग आफ्नो स्थापना संगै अनुसरण गर्दै आएको छ। यो पार्टीले कहिले राणा संग, कहिले तानाशाही राजा संग र कहिले अतंककारी संगठन संग पौठे जोरी खेल्दै आएको छ। यो बहुदल र बहुलवादमा विश्वास राख्दै यसका बिरोधमा रहेका पार्टी संग प्रतिस्पर्धा गर्दै आएको छ तर मतदातालाई आफ्नो पींडा र आफ्ना आदर्श र विचारलाई बुझाउन चुकेको छ।

त्यसै गरी आफू भित्र रहेका गुट उपगुटलाई सम्बोधन गर्न सकेको छैन। त्यसैले हरेक पटक हुने निर्वाचनमा नेपाली कांग्रेसले यसको अशर चुनावी परिणाममा भोग्नु परेको छ। जब जब प्रजातन्त्र र यसका विशेषताहरू उपर आक्रमणको प्रयास हुन्छ यसलाई जोगाउन नेपाली कांग्रेस यसको पहरेदार बनेर उभिएको ईतिहांस छ। आफूबाट भएका यस्ता भूमिकालाई मतदाता समक्ष पुर्याउन नेपाली कांग्रेस चुकेको छ। राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आर्थिक कार्यक्रममा रूपान्तरण गरेर मतदाता समक्ष पुर्याउन नसक्नु नेपाली कांग्रेसको अर्को ठूलो कमजोरी हो। प्रजातन्त्रको बिकल्प अझै सुदृढ र सक्षम प्रजातन्त्र मात्र हो भन्ने मूल्य र मान्यतामा अगाडि बढ्नुको बिकल्प छैन।

हामीले हाम्रा प्रतिनिधि धेरै पटक चुनेर सत्तामा पुर्यायौ तर पनि हामीले सोचे जस्तो र हाम्रो समृद्धी र उत्थानमा काम गर्न सक्ने नेता पाउन सकेनौ। यसको अर्थ के हामी संग राजनेता नै छैनन् कि राजनेतालाई हामीले चिन्न सकेनौ? यसको उत्तर हामीले आफै भित्र खोज्नु पर्छ। हामीलाई हाम्रा पार्टीले नै गतिला मान्छे दिन सकेनन् कि पार्टीमा नेता छान्न सक्ने खुवी छैन? यो प्रश्न पनि त्यत्ति कै उठ्ने गरेको छ। त्यसै गरी हामीले राख्ने गरेको राजनीतिक आस्था र त्यसको जगमा खडा भएको पार्टी मै खरावी त छैन? यस्ता विविध प्रश्नहरू हामी सामु खडा हुने गर्छन्।

यसैले अब हुन गै रहेको स्थानीय चुनावमा हामीले त्यस्तो उम्मेद्वार उठाएर विजयी गराऊ जसमा राजनीतिक चिन्तनमा स्पष्टता छ, जुन राजनीतिक प्राणी भए पनि निर्णय गर्दा पार्टीगत अवधारणाबाट माथि उठेर काम गर्न सक्छ, जनताको समस्या र पींडामा एकाकार हुन सक्छ, जनताले तिरेको करलाई जनताकै हितमा लगाउछ, पारदर्शी एवं सेवामुखी छ, राजनीतिलाई पेशाको रूपमा हैन सेवाको रूपमा लिन्छ, जसले डिल नगरेर लिड गर्न सक्छ। राजनीतिक दलले उम्मेद्वार दिदा पनि उपर्युक्त अवधारणालाई आधार मानेर दिन सक्नु पर्छ। यदि जनताको चाहना र आवश्यकता संग एकाकार हुने गरी राजनीति गर्न नसकेमा त्यस्ता राजनीतिक दलहरू बिस्तारै हराउदै जाने छन् र जनताले त्यस्ता दलको बिकल्प खोज्ने छन्।

सम्बन्धित समाचार