free website hit counter

सन नेपाल लाइफले डाक्यो साधारण सभा

beemaadmin
२०८१ बैशाख २५, मंगलवार

काठमाण्डौ। सन नेपाल लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा डाकेको छ । गत वैशाख १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ७ औं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी जेठ ९ बिहान १० बजे काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग केटरर्समा सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कम्पनीको सञ्चाल समितिद्वारा प्रस्तावित २३.८० प्रतिशत बोनस सेयर र १.२५२६ प्रतिशत नगद लाभांश गरी कुल २५.०५२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । सभामा प्रस्तावित बोनस सेयर वितरण पश्चात चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ कायम हुने र नपुग पूँजी कायम गर्न उक्त पूँजीको २७ प्रतिशत हकप्द जारी गर्ने र बोनस र हकप्रद पश्चात अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गर्न स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित आव २०७९–८० को वासलात नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०–८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। सभामा सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले आगामी वैशाख २७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

सम्बन्धित समाचार