काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २४ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.३६ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा कम्पनीले २३ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको व्यवसाय विस्तारसँगै बीमाशुल्क आम्दानीमा पनि सुधार देखिएको छ । असोज मसान्तसम्म कम्पनीले १ अर्ब २९ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ८ करोड ३४ लाख रुपैयाँ थियो । यसअनुसार कुल बीमाशुल्क आर्जन १९.८६ प्रतिशतले बढेको छ ।
त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि १९.६७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ४ करोड १४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २४ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको छ ।
कम्पनीको जीवन बीमा कोषको आकार पनि बढेको छ । असोज मसान्तसम्म जीवन बीमा कोषमा १३ अर्ब ३१ करोड ७८ लाख रुपैयाँ सञ्चित रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कोष १२ अर्ब ९० करोड ३६ लाख रुपैयाँ थियो । यसअनुसार जीवन बीमा कोष ३.२१ प्रतिशतले वृद्धि भएको हो ।
५ अर्ब २८ करोड चुक्तापुँजी
कम्पनीको चुक्तापुँजी ५ अर्ब २८ करोड २७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको सेयर प्रिमियममा १ अर्ब ३० करोड १० लाख रुपैयाँ, महाविपत्ति कोषमा २८ करोड ७२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७७ करोड ७१ लाख रुपैयाँ र अन्य इक्विटीमा ३५ करोड ६ लाख रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको महाविपत्ति कोषमा २४ करोड ८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३६ करोड ८४ लाख रुपैयाँ र अन्य इक्विटीमा ३५ करोड ४६ लाख रुपैयाँ रहेको थियो ।
नाफा बढे पनि कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) भने घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको ईपीएस १८ रुपैयाँ ५५ पैसा कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १८ रुपैयाँ ९५ पैसा थियो । कम्पनीको मूल्य आम्दानी अनुपात (पीई रेसियो) २२.७३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ४१ पैसा कायम भएको छ ।