काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र पशुपति सहकारी संस्थाका साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ।
समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना तथा पशुपति सहकारीका ७ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन्।
सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त भएको रकमबाटै पीडित बचतकर्तालाई बचत फिर्ता गरिएको स्पष्ट पारेको छ।
त्यस्तै, समितिले साउन १ गतेदेखि १५ गतेसम्म विभिन्न समस्याग्रस्त सहकारीका ६५ जना ऋणीबाट ऋण असुली गरिएको जनाएको छ।
समितिका अनुसार पहिलो चरणमा कम रकम बचत गरेका बचतकर्तालाई प्राथमिकताका आधारमा रकम फिर्ता गरिएको हो। आगामी दिनमा बचत रकमको आधारमा वर्गीकरण गर्दै अन्य बचतकर्तालाई पनि क्रमशः रकम फिर्ता गरिनेछ।
समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनी व्यवस्था अनुसार निरन्तर फिर्ता गर्ने प्रक्रिया जारी रहेको समितिले जनाएको छ।