श्री आरामी पत्र
स्वस्ति श्री ६ श्री आगे त्यहाँ राज गरि बस्नु भएका मातापितामा म छोरा रन बहादुरको तर्फबाट साष्टाङ्ग दण्डवत प्रणाम छ ।
साथै, जेठाबा, जेठीयाँ, माईलाबा, साईला बा साईलीयाँ, काईला बा काईलीयाँ, राँहिलाबा राँहिलीयाँ सबैमा ढोग पुगोस् साथै वहाँहरू सबैको घरमा रहनुभएका दाइ भाउजुहरू सबैजनामा मेरोतर्फबाट ढोग नमस्कार तथा प्यारा भाईबहिनीहरू सबैमा आशिर्वाद छ ।
खुम्चिकोटमा रहनुभएका दिदी भिनाजुमा ढोग छ । प्यारा भान्ज भान्जीमा आशिर्वाद ।
मावलका बा आवै लगायत सम्पूर्ण परिवारमा मेरो ढोग नमस्कार तथा सम्झना सुनाईदिनु होला । साथै अरू वरपरका सवै छरछिमेकीहरूमा मेरो साईनो अनुसार ढोग नमस्कार छ ।
बुवा, म यहाँ आरामै छु तपाईंहरूलाई पनि आरामै होला भन्ने उनै भगवानसंग प्राथना गरि बसेको छु ।
बुवा, अरू खास समाचार त केही पनि छैन भएमा अवश्य पनि लेख्नेछु । तपाईलाई यो पत्र पढेर तपाईकी बुहारी र नातिनीको तर्फबाट छोराले किन लेखेनरु भन्ने अवश्य पनि लाग्यो होला । वुबा यहाँ तपाईकी बुहारीले मलाई छोडेर आफ्नो हित्तचित्त मिल्ने अरूसंग हिडी । उसका माईतीहरूलाई यो कुरा सुनाईदिनुहोला । ऊ हिंडेको आज एक साता भयो । ऊ आईतवार हिडेपछि मलाई छोरीको चिन्ता भएकोले सोधखोज गरि मंगलवार फेला परेकी थिई । अहिलेलाई तपाईकी नातिनी धेरै सानी भएकीले उसैसंग रहेकी छ । पछि अलि ठूली भएपछि ल्याउँने नै छु फिक्री नगर्नुहोला ।
बुवा, मैले त्यसलाई आफूसक्दो लाउन खान दिएकै थिएँ । आमा बुवासंग ऊ त्यहाँ छँदा पनि सालमा एकबार घर आउँदा एकदुई जोर लुगा लगिदिएकै थिए । त्यसका वाद तपाईलाई दुखै भएपनि उसलाई एकबार देश विदेश देखाउन भनेर त्यत्रा दुई दुईबटा भैसीको दुख आमा र तपाईलाई छोडेर पनि घर सल्लाह मुताविक केही समयलाई यहाँ ल्याएर मैले सकेको सुखसाथ राखेकै थिएँ । यहाँ उसको काम मलाई खाना नास्ता टाईममा रेडी गर्दिने र छोरीको देखभाल गर्ने मात्र थियो ।
धेरै के लेखु, आमा र बुवा पनि कुनै जमानामा यसैगरी प्रदेशमा मालिकको डिउटी गरेर बस्नुभएकै हो । सो यहाँको अवस्था तपाईंहरूले बुझ्नुभएकै छ ।
म बाट जानाजान कुनै गल्ति, कमजोरी भएजस्तो लाग्दैन । मैले जीवनमा कहिल्यै नशा ९रक्सी० खाँदिन भन्ने या त तपाईंहरूलाई थाहा छ या पशुपतिनाथलाई थाहा होला ।
अस्ति मात्रै मालिक्नीले उसैलाई भनेर एउटा पछ्यौरा दिकी थिईन् मैले उसैदिन रूममा ल्याएर दिएको हो मन नपरेर हो कि कुन्नी किन हो त्यो यही छाडेकी छे अरू उसको याद आउने कुरा यहाँ केही वाँकी छैन । छोरीको सोधखोज गर्दै जाँदा हिजो ऊ संग भेट भएको हो बच्चीका बारेमा मैले भन्ने कुरा भनें अरू उसले पनि भनिन मैले पनि धेरै बात गरिन ।
गरगहनाको सवालमा त्यहीबाट ल्याएको तिलहरी थियो यहाँ आएको एक महिनावाद धेरै रहर गरि र कानमा लाउने झुम्का किन्देको थिए, तिनै लगेकी छ । तिनको पनि मैले केही कुरै गरिन । ठीकै छ त्यसका लागि मेरो सिन्दुरको भारा भयो मेरो नसिव मैसंग छ भन्ने सोचेर चित्त बुझाए ।
आमा, तपाईले चिन्ता नगर्नुहोला । तपाईं र सानीमा मिलेर मेरो विहे ऊ संग गर्दिनुभएको भएपनि मैले तपाईहरूलाई कुनै दोष दिन्न । नसिव अपना अपना हुन्छ । सानीमालाई पनि दिक्दारी नलिन भन्नुहोला ।
ससुराली कुटुम्बको पनि के दोष र रु कसैले पनि आफ्नो चेलीको घरवार विग्रियोस् भन्ने त ईरादा हुदैन उनीहरूको पनि के दोष छ र खै । सक्दो संस्कार पक्कै दिए होलान् । तपाईले दिदीलाई असल संस्कार दिनुभएको थियो र जस्तोसुकै दुखसुखमा आफ्नो घर गरेर दिदीले खाएकै छिन् । उनीहरूले पनि आफ्नो सन्तानलाई सकेसम्म राम्रो त चिताएकै होलान् ।
आजभोलि गाउँ घरमा घरवारी बेचेर विदेश गएका मेरा साथीहरूको जीवनभरको कमाई समेत लिएर हिंडिदिदा पनि उनीहरूले पनि सहेकै छन् । मेरो त गरेर खाने वारि त्यही छ । तपाईंहरू हुनुहुन्छ । चिन्ता नलिनु होला ।
तपाईहरूलाई थाहा नै छ,घरको थितिले गर्दा अझैकेही साल नोकरी छोड्ने अवस्था छैन । अरू कुरा नसिवको खेल, के नै पो गर्न सकिन्छ र । चिन्ता विलकुल नलिनुहोला ।
छुट्टि मिलेछ भने दशैमा घर आउनेछु । धेरै दुख भयो भने एउटा भैंसी बेच्नुहोला । एकडेढ महिनावाद पाकुरीबोटे काँहिला मगरका छोरा घर आउँदैछन् । केही पैसा पठाईदिन्छुहोला ।
बाँकी सबै यतातिरको हालखवर ठीकै छ । म भन्दा जानकार आफै हुनुहुन्छ । पत्र लेख्दै गर्नुहोला । पत्र लेख्दा दिदीको हाखवर, मावलतिरको, सानीमाको र गाउँघरको सवै हालखवर लेख्न नविर्सनु होला । आजलाई पत्र बन्द गर्दछु । बाँकी भेटमा विस्तार गरौला ।
उहीँ छोरा
रन बहादुर
लुधियाना पंजाव ।
२५ डिसेम्वर, २०१९
(पाैडेलकाे फेसबुकबाट)